प्रतिपक्ष कांग्रेसप्रति सत्तारूढ एमाले आक्रामक

राष्ट्रपति निर्वाचनलाई लिएर दुई ठूला दलबीच चर्को द्वन्द्व

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । पुस १० गते तत्कालीन सत्तारूढ पाँच दलीय गठबन्धन फुटाउन सफल भएपछि नेकपा एमाले एउटा कुरामा ढुक्क थियो, त्यो हो अब कांग्रेस प्रतिपक्षमा बस्छ । किनकि आफूविरुद्ध बनेको कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर आफ्नै पहलमा गठबन्धनको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएर आफ्नै हालिमुहालीयुक्त सरकार गठन गर्न सफल भएको थियो । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस संसद्को सबैभन्दा ठूलो दल भए पनि सत्ताच्यूत गर्न सफल भएकोमा एमालेले आफ्नो जित भएको ठानेको थियो । एमालेका गतिविधि, अभिव्यक्ति र क्रियाकलापहरू विजेता खेलाडीको भन्दा कम थिएनन् । तर, दुई हप्तामै विकसित राजनीतिक घटनाक्रमसँगै कांग्रेसले पुस २६ गते एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई संसद्मा विश्वासको मत दियो । अनपेक्षित र अप्रत्याशित यो राजनीतिक घटनाक्रमले एमाले झस्कियो ।

विपक्षमा बस्ने अनुमान गरिएको दलले नै विश्वासको मत दिएपछि १० को राजनीतिक घटनाक्रमले टाढिएका कांग्रेस र माओवादी केन्द्रबीच निकटता बढ्यो । माओवादीसँग निकटता बढाउन प्रयास गरिरहेको कांग्रेसप्रति प्रमुख सत्ता घटक एमाले झन् आक्रामक बन्दै गएको छ । नयाँ सरकार गठनअघिसम्म सहकार्यको विषयमा छलफलमा रहेका कांग्रेस र एमाले पछिल्लो समय अस्वाभाविक रूपले द्वन्द्व बढेको छ । प्रदेश तथा अन्यत्र एमालेले उम्मेदवार उठाएका पदमा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने साथ दिइरहेको छ । माओवादीसँग निकटता बढाउने प्रयासस्वरूप कांग्रेसले प्रतिनिधिसभाको सभामुखसहित प्रदेशका सभामुख चयनको क्रममा एमालेका उम्मेदवारविरुद्ध उम्मेदवारी दियो । तर, माओवादी केन्द्रका उम्मेदवार उठेको ठाउँमा उम्मेदवारी नै दिएन । बागमती प्रदेशको मुख्यमन्त्रीमा त कांग्रेसले विश्वासको मत नै दियो तर एमालेको मुख्यमन्त्री भएका प्रदेशमा विपक्षमा मत दियो । यी घटनाक्रमले एमाले कांग्रेसप्रति थप आक्रोशित भएको छ ।

दुई दलबीच खासगरी राष्ट्रपति निर्वाचनलाई लिएर द्वन्द्व सुरु भएको हो । फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनसम्म पुग्दा यो द्वन्द्व झनै बढ्ने देखिन्छ । दुवै दल राष्ट्रपतिमा आफूले चाहेको उम्मेदवार निर्वाचित गर्ने रणनीतिमा छन् । यसका लागि निर्णायक मतभार रहेको माओवादीलाई आफ्नो पक्षमा पार्ने कोसिसमा कांग्रेस र एमाले छन् । एमालेले सत्ता गठबन्धनमा सहमति भइसकेकाले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ भने कांग्रेसले प्रमुख सबै पद एमालेको पोल्टामा पुगे एकलौटी हुने भन्दै आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले अघिसार्ने उम्मेदवारलाई माओवादीले सघाउने अपेक्षा लिएको छ । यसका लागि कांग्रेसले तीव्र रूपले संवाद पनि अघि बढाएको छ । नयाँ सरकार गठन हुनु अघिसम्म एउटै गठबन्धनमा रहेका कांग्रेस र माओवादीबीच पछिल्लो समय बढ्दै गएको निकटताबाट एमाले नेताहरू सशंकित देखिएका छन् । पुस १० मा नयाँ समीकरण बन्नु अघिसम्म एमालेको आलोचनाको केन्द्रमा माओवादी अध्यक्ष प्रचण्ड हुनुहुन्थ्यो । कांग्रेस भने गठबन्धन छाडेर गएको माओवादीभन्दा एमालेप्रति बढी आक्रोशित देखिएको छ । पछिल्ला सबैजसो सार्वजनिक कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका अन्य शीर्ष नेताहरू कांग्रेसको चर्को आलोचना गर्दै आएका छन् ।

राज्यमन्त्री दिए पनि कांग्रेस सरकारमा आउँछ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कांग्रेसप्रतिको आक्रामक अभिव्यक्ति बिहीबार पनि दोहोरियो । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूले ओलीलाई कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहेको छ नि ? भन्ने प्रश्नमा अध्यक्ष ओली भन्नुभयो, ‘कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको हो । तर, राष्ट्रपतिको उम्मेदवार हुन्छु, हामीलाई दिनुस् भन्नु, हामीले पाउनुपर्छ भन्नु अनौठो कुरा होइन । राष्ट्रपति त परै जाओस् कांग्रेस त राज्यमन्त्री पाए पनि सरकारमा आउँछ ।’

त्यसको दुई दिनअघि मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसले राजनीतिक अस्थिरता सिर्जना गर्न चलखेल सुरु गरेको गम्भीर आरोप लगाउनुभएको थियो । प्रतिपक्ष हुन पाऊँ भनेर निवेदन दिने अनि सत्ताको अंश खोज्नु नैतिक विषय नभएको टिप्पणी गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘कांग्रेस सत्ताभन्दा बाहिर रहेको अवस्थामा अस्थिरता सिर्जना गर्न लागिरहेको छ । यस्तो चलखेलको कुनै अर्थ छैन । प्रतिपक्षले राज्यका प्रमुख अंगहरूको नेतृत्व गर्न मिल्दैन । राज्यका प्रमुख पद भनेका राज्यको नेतृत्व गर्ने पक्षका पदहरू भन्ने कुरा बुझ्नुपर्छ ।’ त्यसो त पुस २६ मा विश्वासको मत दिने बेला कांग्रेस सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिले डेमोक्रेसीको नयाँ परिभाषा बनाएको टिप्पणी गर्नुभएको थियो ।

विश्वासको मत दिएपछि माओवादी नेताहरू पनि कांग्रेसप्रति नरम देखिएका छन् । माओवादीको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले पनि विश्वासको मत अन्य दलले पनि दिएका कारण परिस्थिति फरक भएको बताउँदै आउनुभएको छ । यसले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शंका र अविश्वास बढाएको छ ।

प्रधानमन्त्री पदको लागि गठबन्धन छोडेर एमालेसँग जोडिन पुगे पनि कांग्रेसका नेताहरू भने प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अन्य नेतासँग नरम देखिएका छन् । त्यो त कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन फुट्नुमा प्रचण्ड र माओवादीको दोष नभएकाले आलोचना नगर्न पार्टीका नेताहरूलाई निर्देशन नै दिनुभएको थियो । कांग्रेसका नेताहरू एमाले र अध्यक्ष ओलीप्रति भने आक्रामक देखिने गरेका छन् । कांग्रेस नेताहरूको अभिव्यक्ति एमाले नेताहरूलाई थप चिढाउने प्रकृतिका देखिन्छन् ।

कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका प्रतिनिधिसभा सदस्य डा.प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने दाबी गर्नुभएको छ । गृहजिल्ला नुवाकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति देउवाका विश्वास पात्रसमेत रहनुभएका डा. महतले भन्नुभयो, ‘ठूलो दल भएको कांग्रेस सत्ताबाहिर हुनु अस्थिरताका कारण स्वाभाविक रूपमा लिएका छौँ । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?