सिमसार दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिकाे वासस्थान, आर्थिक दृष्टिकोणले मूल्यवान् : मन्त्री केसी

राप्ती नदीमा १० वटा गोही छाेडियाे

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित राप्ती नदीमा १० वटा गोही (घडियाल) छोडिएको छ । सिमसार दिवसको अवसरमा नदीमा १० वटा गोही (घडियाल) छोडिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जद्धारा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी नमुनाले नदीमा गोडी नदिमा छोड्नु भएको हो । बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा गोही (घडियाल) बाँकेको राप्ती नदीमा छोडेको छ । उक्त अवसरमा बोल्दै सिमसार क्षेत्रको पुनःस्थापना आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा सिमसारले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताउँदै मन्त्री केसीले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताउनुभयो । ‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

मन्त्री केसीले सिमसार क्षेत्रको पुनस्र्थापनाको साथै यसको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको दाबी गर्नुभयो । स्थानीय स्तरमा रहेका सिमसारहरुको संरक्षणको लागि स्थानीय नागरिकहरुलाई नै अग्रसर गराउनुपर्ने उहाँको भनाइ थियो । मानव जीवनका लागि सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व बढाउन र जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा योगदान गर्न सिमसारले स्रोतका रूपमा काम गरिरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौ वटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत रहेका छन् । निकुञ्जका प्रमुख श्याम साहका अनुसार सिमसार क्षेत्रको पुनःस्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । यसअघि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा आजको आवश्यकता सिमसारको पुनः स्थापना भन्ने नारासहित अन्तरक्रिया समेत गरिएको उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?