लिटल फ्लावर प्रिमियर लिग आजबाट

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । धनगढीमा आजबाट (शनिबार) बाट विद्यालयस्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) हुनेभएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबार प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

सोही अवसरमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले ट्रफी सार्वजनिक गर्नुभयो । ट्रफी सार्वजनिक गर्दै विष्टले यो प्रतियोगिताले उमेर समूहका खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुर्‍याएको बताउनुभयो । ‘एलपीएल वास्तवमै ग्रास रुटमा खेलाडी उत्पादनको राम्रो प्लेटफर्म बन्न सफल भएको छ, विष्टले भन्नुभयो, ‘अहिले यसै प्रतियोगिताबाट उत्पादन भएर राष्ट्रिय टिममा परिसकेका खेलाडीसमेत हाम्रै अघि उदाहरणका रूपमा छन् ।’ उहाँले यीलगायत यस्ता अन्य प्रतियोगिताको संरक्षण र बढवा दिनुपर्नेमा जोड दिँदै क्रिकेट संघ त्यसका लागि सबै सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

सो क्रममा आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । ‘उद्घाटन समारोहका लागि गर्नुपर्ने तयारीबाहेक प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको छ’, शाहीले भन्नुभयो, ‘यो प्रतियोगितालाई थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने हाम्रो प्रयास जारी छ । त्यसमा विगत जस्तै यो र आगामी संस्करणमा पनि यहाँहरूको महत्पूर्ण सहयोग रहने हामीले अपेक्षा राखेका छौं ।’

प्रदेश प्रमुख देवराज जोशीले एलपीएलको सातौं संस्करणको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । यो संस्करणमा १० टिमको सहभागिता रहेको छ । फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा चारजना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?