सञ्चारगृहहरूको प्रमुख तहमा अहिले पनि महिलाको उपस्थिति न्यून छ : तुम्खेवा

गीता अधिकारी
Read Time = 13 mins

देशभरको महिला पत्रकारहरूको छाता संगठन सञ्चारिका समूह नेपालको केन्द्रीय अध्यक्षका रूपमा रहेर कुशल कार्यसम्पादन गर्दै आउनुभएकी विमला तुम्खेवा नेपाली साहित्यको क्षेत्रमा पनि सशक्त र स्थापित नाम हो । तेह्रथुम जिल्ला ओख्रे गाउँपालिकाको लामकटेरी स्थायी घर भई बाल्यकाल मोरङ जिल्लाको पथरीमा बिताउनुभएकी तुम्खेवा साहित्य, पत्रकारिता र महिला सशक्तीकरणको क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय हुनुहुन्छ । उहाँको एकल कविता वाचन कार्यक्रम नेपाल, भारतमा सम्पन्न भइसकेका छन् भने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका १६ वटा कलेजको स्नातक तह नेपाली पाठ्यक्रममा उहाँको कविता पढाइ हुन्छ । सञ्चारिका समूह पत्रकारिता पेशामा कार्यरत पत्रकार महिलाको क्षमता अभिवृद्धि र पेशागत सुरक्षा र सञ्चारमाध्यमद्वारा महिला हक अधिकारका निम्ति निरन्तररूपमा बहसपैरवी गर्दै आएको देशको प्रमुख संस्थाहरूमध्ये एक संस्था हो । नेपाली महिला, पत्रकार महिला र नेपाली साहित्यमा महिलाको उपस्थिति के-कस्तो छ, उनीहरूको जीवनस्तर उकास्न संस्थाले कस्तो भूमिका खेलिरहेछ ? पत्रकार महिलाहरूका चुनौतीहरू के-कस्ता छन्, यिनै विषयको सेरोफेरोमा रहेर विमला तुम्खेवासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएकोे कुराकानीको संक्षिप्त अंश :-

सञ्चारमा महिलाको उपस्थिति र अवस्थालाई हेर्दा ‘ग्याप’हरू के-कस्ता रहेका छन् ?
सञ्चारिका समूहले २५ वर्षअगाडि मिडियामा पत्रकार महिलाको उपस्थिति भन्दै गर्दा र अहिलेको अवस्थासम्म आइपुग्दा हाम्रा मिडिया हाउसहरूमा व्यापकरूपमा परिवर्तन र सुधारहरू आइसकेका छन् । हिजोको अवस्थामा मिडियामा आउन चाहने महिलाहरूले भोग्नुपर्ने मानसिक र सामाजिक समस्याहरू जटिल थिए । यति हुँदाहुँदै पनि सामाजिक, राजनीतिक र सांस्कृतिक सबै किसिमको परिवर्तनका निम्ति गरिएका क्रान्तिहरूमा पत्रकार महिलाको योगदान समान र महत्वपूर्ण छ । पितृसत्तात्मक सोच मिडिया क्षेत्रमा पनि व्यापक थियो तर अहिले अवस्थामा परिवर्तन भइसकेको छ । नेपाली समाजको दृष्टिकोणमा व्यापकरूपमा परिवर्तन भइसकेको छ । हामीसँग आजको अवस्थासम्म आइपुग्दा मिडियामा सयौंको संख्यामा नेतृत्व तहमा पुग्न सक्ने पत्रकार महिला तयार भइसक्नुभएको छ । तर, महत्वपूर्ण मिडिया हाउसहरूको सम्पादकीय तहमा महिलाको उपस्थिति आज पनि शून्य छ । कार्यस्थलमा हुने हिंसा, पत्रकार र महिलाहरूले भोग्नुपरेको पेशागत हिंसाको विषयमा हामीले अझै खुलेर बोल्न सक्ने वातावरण छैन । कानुन बनेको छ तर व्यावहारिक जटिलताहरू धेरै छन् । हाम्रो सोच, आचरण र हाम्रो मिडियाले यस विषयमा गम्भीरतापूर्वक सोच्न र सुधार गर्न जरुरी छ । हाम्रो सरोकार भनेको अबका दिनहरूमा पत्रकार महिलाहरूलाई सञ्चार क्षेत्रको शीर्ष स्थानहरूमा देख्नु हो । सञ्चारसम्बन्धी नीति नियम बनाउने स्थानहरूमा महिलाको सहभागिता रहोस् भन्ने हो । जनसंख्या, योगदान साझेदारी र समानताको दृष्टिकोणबाट हेर्ने हो भने हामीले धेरै कुराहरू सुधार गरेर लानुपर्ने अवस्था छ । संस्थाका तर्फबाट भन्नुपर्दा यो पच्चीस वर्षमा हामीले एउटा सुन्दर यात्रा तय गरिसकेका छौँ ।

साहित्य र पत्रकारिता यी दुवै विधा भनौं अथवा पेशा एकअर्कालाई सँगै लान कति सजिलो छ ?
सही प्रश्न गर्नुभयो । एकदमै गाह्रो छ । पचासको दशकबाट म साहित्य र पत्रकारितामा आएँ । जतिबेला आएँ त्यो समयमा पत्रकारितामा त महिलाहरू अत्यन्तै कम हुनुहुन्थ्यो । पूर्वको ब्लाष्ट, विवेचना, पूर्वाञ्चल दैनिक र राजधानी दैनिकहरूमा मैले रिपोर्टिङ गरेँ । तर, विस्तारै मलाई के महसुुस भयो भने मैले लेखेका कविताहरू कमजोर भए कि झैँ लाग्यो । समाज बुझ्न समाचारहरूले एउटा लेखकलाई सजिलो हुन्छ तर राम्रो कविता लेख्न निरन्तरको साधना चाहिन्छ । यी दुईवटै विषयलाई मिलाएर अनि घरायसी जिम्मेवारी नेपाली समाजमा महिलालाई अत्यन्तै गाह्रो छ ।

आदिवासी सौन्दर्यशास्त्रको कुरा गरिरहँदा आदिवासी महिलाको विचार, जीवन, दर्शन र उनीहरूको समग्र भोगाइको दर्शनशास्त्रलाई कहीँ पनि न्यायसंगतरूपमा छलफल गरिएन, उनीहरूले भोगेको र बाँचेको जीवन हाम्रो समाजको मात्र नभएर अन्तर्राष्ट्रियरूपमै पनि अलग पहिचान र सकारात्मक उदाहरण हुनसक्छ । यो पाटोबाट हेर्ने हो भने हाम्रो साहित्य अपूरै छ ।

नयाँ कृति आउँदै छ कि ? तपाईंका कति वटा पुस्तक आएका छन् अहिलेसम्म ?
हालसम्म चार कविताकृति प्रकाशित छन् । ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कविताकृतिले राम्रो प्रतिक्रिया पायो पाठकहरूबाट । अब कथाको पुस्तकको तयारीमा छु । लेखिसकिएका कथाहरूमाथि पनि अझै धेरै काम गर्नुपर्नेछ । दुई वर्षअघि निकाल्ने जाँगर चलेको थियो । निस्केको भए सुधार गर्नुपर्ने धेरै ठाउँ हुन्थ्यो । तर, अहिले लाग्दैछ केही समय फेरि म मेरा कथाका विषयवस्तुहरूमाथि मनन गर्नेछु ।

नेपाली कविता लेखनमा एक खालको उचाइ चुम्न सफल हुनुहुन्छ तर कथा लेखनतर्फ कसरी आकर्षित हुनुभयो ?
धेरै वर्षअगाडिदेखि नै कथा लेखेकी थिएँ । पाठकसम्म जाने त्यति आँट थिएन तर वर्षौं लुकाएर राखेका कथाहरू पछिल्लो समय केही प्रकाशित भए, पाठकहरूले राम्रै प्रतिक्रिया दिनुभयो भन्ने महसुुस गरेँ र अलिक आँट आएको छ र कथाकृति प्रकाशन गर्ने तयारीमा छु ।

कथाहरूको रचना गर्भ बताइदिनुहोस् न ?
नेपाली साहित्यमा भएका विभिन्न साहित्यिक आन्दोलनहरूमध्ये पचासको दशकमा भएको सिर्जनशील अराजकता भनेर खासगरी साहित्यको केन्द्रमा पहिचानको आन्दोलन सुरु भयो । यो आन्दोलनले सयौं वर्षदेखि चलिआएको साहित्यिक धार र विषयवस्तुभन्दा फरक रैथाने मूल्य–मान्यता र उनीहरूको जीवन भोगाइ अनुभूति र आवेगहरूलाई अथवा उनीहरूको सरोकारका मुद्दाहरूलाई नयाँ दृष्टिकोणबाट बहस गरियो । तर, आदिवासी सौन्दर्यशास्त्रको कुरा गरिरहँदा आदिवासी महिलाको विचार, जीवन, दर्शन र उनीहरूको समग्र भोगाइको दर्शनशास्त्रलाई कहीँ पनि न्यायसंगतरूपमा छलफल गरिएन, उनीहरूले भोगेको र बाँचेको जीवन हाम्रो समाजको मात्र नभएर अन्तर्राष्ट्रियरूपमै पनि अलग पहिचान र सकारात्मक उदाहरण हुनसक्छ । यो पाटोबाट हेर्ने हो भने हाम्रो साहित्य अपूरै छ । मेरा कथाहरूले यी विषयहरूलाई उठान गर्ने कोसिस गरेका छन् ।

कथाहरू तयार गर्न, लेख्न कति समय लाग्यो ?
दसौं वर्षदेखि समाजमा रहेका पात्रहरूले मनमा सधैँ प्रश्न गर्थे । मैले भोगेको जस्तो जीवन साहित्यमा कमै मात्र अनुभूति गरेँ । मैले बाँचेको जीवन मेरो समाजशास्त्र मैले नलेखे कसले लेख्ने ? मलाई सधैँ प्रश्नहरूले घचघच्याइरहन्थे । जुनसुकै आन्दोलनले मैले अनुभूत गरेका सवालहरूले खासै सम्बोधन गरे जस्तो लागेको छैन र मैले विषयहरूलाई कथामार्फत् उठाउने कोसिस गरेकी छु ।

पुस्तक कुन उमेर समूहका पाठकका लागि हो जस्तो लाग्छ ?
जब मान्छे बुझ्ने हुन्छ, त्यसपछि उसका निम्ति पुस्तक, संगीत र ध्यानभन्दा भरपर्दो यो संसार बुझ्न र आफूलाई रूपान्तरण गर्ने अर्को कुनै सुन्दर र सही माध्यम छ जस्तो मलाईचाहिँ लाग्दैन ।

तपाईंलाई साहित्य सिर्जनाका लागि केले प्रभावित गर्दछ ?
अनुभव, अनुभूति र समाजले ।

लेखनमा यहाँको प्राथमिकताको विषय के हो ?
यो एकदमै गाह्रो प्रश्न हो । तर, मेरो विषयमा भन्नुपर्दा सुरुवाती समयमा लेख्नका लागि लेखिँदो रहेछ तर विस्तारै हामी यस्तो अवस्थामा आइपुग्छौँ कि राज्यको प्रतिपक्षी हो जस्तो । किनकि कुनै पनि सचेत लेखकले हरेक समय न्याय, प्रेम, समानता, मानव अधिकार र स्वतन्त्रताको वकलत गरिरहेको हुन्छ । आवाजहीनहरूका निम्ति लेखनले आवाज बुलन्द बनाउने काम गरिरहेको हुन्छ ।

साहित्यमा बढी रुचिको विषय के हो  ?
कविता मलाई एकदमै मनपर्ने विधा हो । तर, कथा र दर्शन पनि उत्तिकै मन पर्छ ।

जीवन के हो ?
जस्तो भोग्यो, जसरी बाँच्न चाहृयो त्यस्तै हो । छोटो समयका निम्ति यस धर्तीमा छौँ । त्यति लामो गरी सोच्नुपर्छ जस्तो लाग्दैन ।

विमला तुम्खेवा के हो ?
अचेल म दिनमा एकपल्ट आर्यघाटमा जलिरहेका मान्छे बाँचेर आएको जीवन र समयको विषयमा सोच्छु झल्याँस्स मलाई आदरणीय इन्द्रबहादुर राई र लिलालेखनको सम्झना आउँछ । विमला के नै हो र यो प्रकृतिको एक छिनभरमै बिलाइजाने भंगुर न हो ?

तपाईं कसका लागि लेख्नुहुन्छ ?
म आफ्नै लागि लेख्छु । त्यसपछि मन परेर पढिदिए पाठकका निम्ति होला ।

एकथरि मानिस साहित्यमा यौन चाहिन्छ भन्छन्, अर्काथरि यौन वर्जित छ भन्छन् । यहाँको विचारमा ?
यौन ध्रुवसत्य अस्तित्व हो । यसलाई जटिलरूपमा लिनुभन्दा स्वाभाविकरूपमा लिनुपर्छ । समाजको परिष्कृत स्वरूप भनेको यौनलाई स्वाभाविकरूपमा स्वीकार्न सक्नु पनि हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?