हवाईजहाजमा चढेर गएको मानिस बाकसमा फर्किएपछि

Read Time = 17 mins

✍️ देवकी गौतम

सानो झुप्रो घर, बाँसको चोयाको बेरा (बार) लगाएको । छेवैको भूइँमा लमतन्न एउटा सेतो बाकस । बाकसका छेउमा तीनजना केटाकेटीहरू झोक्राएर बसिरहेका छन । एकै छिनमा त्यहाँ एकहुल मान्छे जम्मा हुन्छन् । त्यतिकैमा भीडबाट कोही एक व्यक्ति अगाडि सरेर आफ्नो खल्तीबाट एउटा रातो झन्डा निकाल्छ । त्यही भीडबाटै अर्कों कोही आगाडि सर्दै दाँत बाहिर नदेखाए पनि झण्डा ओडाउन पाएकोमा आफूलाई भाग्यमानी सम्झिए झैँ सेतो बाकसमाथि रातो झण्डा ओडाउँदै प्रफुल्ल मुद्रामा भन्दछ ‘कामरेड लाल सलाम !

कुनै सुन्दर उपन्यासको गहिरो हरफ जस्तो लाग्ने यो घटना कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोगमात्र हुने काल्पनिक कथा होइन । यो वास्तविक व्यथा हो । केही दिनअगाडि सामाजिक सञ्जालमा एउटा तस्वीर भेटेको थिएँ । उक्त तस्वीरले धेरै जनाको फेसबुक वालमा या समाचारका कभर पेजमा स्थान त पाउन सकेन । तर, मेरो मन र मस्तिष्कलाई भने त्यसले धेरै दिनसम्म तरंगित पारिरहृयो । जो कोहीको मन अमिलो बनाउने यो घटना केही समयअगाडि साइप्रसमा साइकलमा यात्रा गर्दा कारको ठक्करबाट निधन भएकी झापा घर भएको नेपाली चेली सबिनाको (नाम परिवर्तन) को हो ।

तिनैले पठाएको रेमिट्यान्सले देश चल्ने र चलाउने अनि कालगति या दुर्घटनाले आफ्ना नागरिक मर्दा आफ्ना माटामा आएर कात्रो ओढ्ने र देशको मशानघाटमा आफूलाई विसर्जन गर्ने सामान्य अधिकारबाट वञ्चित गराउने राज्यलाई प्रश्न, के ती मानिसहरू अनागरिक हुन र ?

घरमा बुढी हजुरआमा, हातमा नातिको तस्वीर । केही वर्षअघि विदेश गएको नातिको मुटु दुखेको खबर पाएको केही समयमै २० वर्षे लक्का जवान नातिको निधन भएको समाचारले मर्नु न बाँच्नु बनायो । सात समुन्द्र पारि मरेको नातिको लाश घरसम्म ल्याइपु¥र्याउँन ती बुढी हजुर आमाले फेरि कैयौं पटक जिउँदै मर्नुपर्‍यो ।

गहुँ गोरो वर्णको अनुहार आँखाको डिलभरि भरि पलाएको कालो घेरा, न कोरिएको कपाल, न निदाएको महिनांै दिन भयो । कारण थियो विदेशमा रहेका छोराको सुतेको अवस्थामा नै निधन भएको खबर त कसैले गरिदियो । तर न आफू जान सक्ने, न बोलाउँदा कसैले सुन्ने । न सहयोग माग्दा फैलाउने हात भेटिने, न गुहार माग्दा राज्य भेटिने ¤ दिन बित्यो रात बित्यो, हप्ता हुँदै महिना बित्यो तर छोराको लाश ल्याउँन सकिएन । आँखाको डिलबाट आँसु झर्न ..निदाउँदा निंद्रा पर्न सबै छोडिसक्यो । तर, छोराको लाश हेरेर मर्ने रहर भने उनीसँग अझै उस्तै छ जिउँदै !

यी माथिका घटना केही प्रतिनिधि घटनामात्रै हुन् । दैनिकजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फूलका मालामा सजिएर हात हल्लाउँदै बिदा भएका युवामध्ये कति युवा बाकसभित्र प्याक भएर फिर्ता हुन्छन् भने कतिपय युवाहरूले बाकसभित्र आफन्तले चढाएको फूलको सुगन्ध नेपालको जमिन टेकेर अनुभूत गर्नेसम्मको सौभाग्य पनि पाउँदैनन् । यसभन्दा ठूलो दुर्भाग्य के होला एउटा सामान्य नेपाली परिवारका लागि नेपाली युवाका लागि ???

तिनै युवा जसलाई हामी राष्ट्रका कर्णधार भन्छौँ । नेपालको कूल अर्थतन्त्रको महत्वपूर्ण हिस्सा र कूल गार्हस्थ उत्पादनको २५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वैदेशिक रोजगारीको क्षेत्र विदेशमा गएका लाखौँ नेपालीले पठाएको रेमिट्यान्सबाट देश चलाउने हाम्रा नेता र नीतिले यस्तो संवेदनशील विषयमा विचार पु¥याउनु पर्दैन र ? जब जब सन्तानलाई अफ्ठ्यारो पर्दछ तब अभिभावकले उसलाई संरक्षण गर्नु पर्दछ । विदेश जाने व्यक्ति चाहे ती रहर बाध्यता जसरी गएका भए पनि तिनको अफ्ठ्यारोमा राज्य अन्जान मुकदर्शकको रूपमा होइन जिम्मेवार अभिभावकको रूपमा प्रस्तुत हुनु पर्दछ ।

तिनैले पठाएको रेमिट्यान्सले देश चल्ने र चलाउने अनि कालगति या दुर्घटनाले आफ्ना नागरिक मर्दा आफ्ना माटामा आएर कात्रो ओढ्ने र देशको मशानघाटमा आफूलाई विसर्जन गर्ने सामान्य अधिकारबाट वञ्चित गराउने राज्यलाई मेरो प्रश्न, के ती मानिसहरू अनागरिक हुन र ? कलिला सन्तान र भरिला जहान छोडेर परदेशिने रहर कसलाई पो हुन्छ र ? विदेशिनु सबैको रहर नहुन सक्छ । रहर होस् या बाध्यता आफ्नो जन्मभूमिबाट टाढा रहेका नेपाली वास्तवमै राज्य भएर पनि राज्यको कानसम्म समस्या पु¥याउन नसकेका, समाचारको कभर पेज बन्न नसकेका, चर्चामा नआएका नेपालीप्रति राज्यको केही पनि दायित्व छैन र ?

भर्खरमात्रै हामीले देशको तिनै तहको निर्वाचन सम्पन्न गरेका छौँ । स्थिर सरकार, सुशासन र विकास अबको गन्तव्य हो । यसका लागि अब खासै धेरै जटिलता र अड्चनहरू केही छैनन् । तर, एउटै कुराको कमी छ त्यो हो इच्छाशक्ति । अस्ति मात्रै नवगठित मन्त्रिपरिषदका श्रममन्त्रीज्यूले सपथ ग्रहण समारोहलगत्तै भन्नुभयो कि–वैदेशिक रोजगारीको समस्या अन्त्य गर्छौं । तर, फेरि दुई दिनपछिको अर्को कार्यक्रममा भाषण गर्नुभयो–यो वैदेशिक रोजगारीको समस्या अन्त्य गर्न नसक्ने समस्या भए पनि यसलाई कम गर्दछौँ । कार्यभार सम्हालेको दुई दिनमा दुईवटा फरक विचार बोल्नुबाट पनि राजनीतिकर्मीको इच्छाशक्तिको तह सजिलै आकलन गर्न सकिन्छ ।

नेपालले ११० मुकुललाई संस्थागत रूपमा वैदेशिक रोजगारिका लागि खुला गरेको छ भने व्यक्तिगत श्रम स्वीकृत लिएर १७२ भन्दा बढी देशमा नेपालीहरू रोजागारका लागि गएको पाइन्छ । एउटा नागरिकले विदेश जाँदा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर सरकारलाई नियम बमोजिमको कर बुझाएर आधिकारिक मेनपावर एजेन्सीमार्फत विदेश आएको हुन्छ । तर म्यानपावरको काम भनेको मानिसलाई कार्यस्थलसम्म पु¥याउने र कमिसन बटुल्नेसम्मको मात्र हुन्छ । र, सरकारको काम भनेको नागरिकसँग कर लिने र विदेश पठाउनेभन्दा अरू धेरै खासै केही बढी देखिएन ।

बागमती प्रदेश प्रहरी प्रमुख दीपक थापाज्यूका अनुसार यदि राज्यले विदेशस्थित दूतावासमा प्रहरीको व्यवस्था गर्ने हो भने यस्ता गम्भीर र नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयमा तत्काल समस्या समाधान गर्न सकिने कुरा व्यक्त गर्नुहुन्छ । उदाहरणका लागि भारत सरकारको नियमानुसार भारतस्थित दूतावासमा एसएसपी दर्जाको टोली बस्दछ र उक्त टोलीले यस्ता समस्याहरूको तत्काल समाधान गर्ने गर्दछ ।

यसबीचमा विदेशमा भएका नेपालीहरूको हकहितका लागि केही काम नै नभएको भने पक्कै होइन । इपिएस–जिटुजी प्रक्रियाबाट कोरिया जाने नेपालीहरूको बीमा गरिएको हुन्छ । यदि त्यहाँ निधन हुने नेपाली वैधानिक तरिकाले बसेको रहेछ भने उसको निधनपछि लाशको व्यवस्थापन गर्नका लागि राज्यले ५ हजार डलरको व्यवस्था गरिदिन्छ । तर, लाश नेपाल पठाउनका लागि यो रकम न्यून भएको र त्यहीँ बस्ने नेपालीहरूको समूहले नपुग रकमको तत्काल सबै मिलेर जोहो गरेर नेपालमा आफन्तको पहुँचसम्म लाश पठाउने व्यवस्था हामीले गर्ने गरेका र्छौं भनेर कोरियास्थित जनसम्पर्क समितिका गिरिराज कुँवरले बताउनुभयो । तर, खाडी मुकुलहरू जहाँ अत्यधिक नेपाली श्रम गर्नका लागि जान्छन् जसको नेपालमा पनि आर्थिक अवस्था कमजोर छ उनीहरूको अवस्था झन दयनीय छ ।

दैनिकजसो नेपालबाट बाहिरिने मानिसको तुलनामा बाकसमा बन्द भएर नेपाल आउने मानिसको संख्या पनि कम छैन । गएका मानिसहरू परिचय बदलेर बस्नेलगायतका कारण पर्ने कानुनी समस्या, निधन भएका मानिसको लाश ल्याउने लामो, खर्चिलो र झन्झटिलो प्रक्रिया भएकाले गर्दा कैयौं विपन्न नेपालीको परिवारले आफन्तको लाश भेट्न पनि वञ्चित हुनु पर्ने र भैगो म लाश बुझ्दिन भन्ने अवस्था छ । लाश स्वदेश फर्काउन स्थानीय वडा कार्यालयदेखि दूतावाससम्मको जी हजुरी, नेताको सिफारिश आदि जस्ता तनावपूर्ण कुराको हिसाब भनी साध्य छैन ।

राज्यको एउटा निकायको प्रक्रिया पूरा गरेको कागजात अर्कों निकाय र शाखामा जाँदा चित्त बुझाइ नगर्ने प्रशासनिक झमेलाको व्याख्या गरी साध्य छैन । यसलाई व्यवस्थित गर्नेतर्फ तत्काल ध्यान पुर्‍याउँन राज्यले ढिला गर्नु हँुदैन । राज्यको विकास र आमजनताको जीवनस्तर परिवर्तनको महत्वपूर्ण हिस्सा ओगट्ने वैदेशिक रोजगारीको क्षेत्र चुस्त दुरुस्त कानुनको निर्माण र मेनपावर एजेन्सीहरूलाई व्यवस्थित गर्ने नियमनको खाँचो छ । नेपाली दूतावास भएका देशहरूको भन्दा विकराल समस्या ती देशहरूमा छन् जहाँ नेपाली दूतावास छैनैन् । दूतावास नभएका देशका लागि कन्सुलेट नियुक्ति भएका हुन्छन् तर एकजना भुक्तभोगी सेवाग्राहीका अनुसार कन्सुलेटलाई आफ्नो समस्या सुनाउँदा ठूलाको आशीर्वाद पाएर पदमा पुगेका व्यक्तिले वास्ता नगर्ने र गुनासो गर्दा तिमीहरूले मलाई केही गर्न सक्दैनौ, सकेको गर भन्नेजस्ता जवाफ फर्काउने गरेको पाइन्छ ।

यसै विषयमा विदेशस्थित सम्पर्क समितिका केही देशका अध्यक्षज्यूहरूसँग मेरो कुराकानी भएको थियो । साइप्रसकी अध्यक्ष पुष्पा मिश्रले कुरैकुरामा भन्नुभयो-म पनि एउटा लोकतान्त्रिक पार्टीको कार्यकर्ता÷सदस्य हुँ तर कालगतिले या दुर्घटनाले विदेशमा मेरो निधन भइहाल्यो भने मरेपछि मैले मेरो देश नेपालको ६ फटि जमिन पनि सहज रूपमा टेक्न नपाउने हो भने बाकसमा झण्डा ओडाउने अधिकार म मेरो पार्टीका नेता कसैलाई पनि दिन्नँ ।’ उहाँको यो कुराले मलाई निःशब्द बनायो ।

राज्यको एउटा निकायको प्रक्रिया पूरा गरेको कागजात अर्कों निकाय र शाखामा जाँदा चित्त बुझाइ नगर्ने प्रशासनिक झमेलाको व्याख्या गरी साध्य छैन । यसलाई व्यवस्थित गर्नेतर्फ तत्काल ध्यान पुर्‍याउँन राज्यले ढिला गर्नु हुँदैन ।

हामीले राजनीति किन गर्ने ? कसका लागि गर्ने ? हामीले गरेको राजनीति केका लागि ? के राजनीति गलत, भ्रष्टाचार, कुशासन, हिंसा र शासकको दम्भकै लागि मात्र हो त ? या राजनीति जनताको जनजीविकासँग प्रत्यक्ष जोडएिर देख्न र छुन मिल्ने गरी परिवर्तन विकास र सुशासनका लागि हो ? शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता आधारभूत वस्तुको अभाव हुन नदिई, हामीले कल्पना गरेको राजनीतिले हामीलाई ग्लोबलाइजेसनको सदुपयोग गर्दै नुनतेलकै लागि विदेशिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै देशमा रोजगारीको सिर्जना गर्ने व्यवस्था हो । जिउँदो छँदा कमाएर पठाएको रेमिट्यांसले तलब भत्ता खाने र मरेपछि अनागरिक जस्तो व्यवहार गर्ने राज्यले आफ्ना नागरिकप्रतिको जिम्मा र उत्तरदायित्व पूरा गर्नु पर्दैन ?

गरिखाने उमेरका जनताका छोराछोरीलाई नागरिकता हातमा पर्नेबित्तिकै विदेश जान बाध्य पारिने हाम्रो राजनीतिक संस्कारले आफ्नो नागरिक मरेपछि बाकसमा फर्कदा तँछाडमछाड गरेर बाकसमाथि राजनीतिक दलका झण्डा ओडाएर लालसलाम कामरेड या जयनेपाल साथी भनेर आफूले ठूलो कर्तव्य पूरा गरेको ठान्ने राजनीतिक संस्कार नै हामीले खोजेको हो र ? नेपालमा च्याउसरह खुलेका सयौं पार्टी र तिनै पार्टीका म र म जस्ता हजारौं कार्यकर्तालाई अनि मेरो आफ्नै अन्तरमनलाई मेरो एउटा प्रश्न यो देशका नागरिकताधारी जनताले साँच्चै नागरिक भएको अनुभूति कहिले गर्न पाउने होला ???

राजनीतिक दलका नाम चलेका नेताले आइएम सुपेरियर भन्ने सोचाइ बोकेर राज्यको सामान्य कानुनी प्रक्रिया पूरा नगरेर आफैंले निम्त्याएको समस्यापश्चात चर्कोसँग अनागरिकको चर्चा चल्ने मेरो देशमा राज्यलाई कर बुझाएर वैधानिक रूपमा घरको र मेरो देशको गर्जों टार्न मीठो सपना बोकी विदेशीका नेपाली र विदेशमै ज्यान गुमाएर धर्तीमा दफन हुन राज्यसँग ६ फुट जमिनको गुहार मागिरहेका सयौं अनागरिकको व्यथाको चर्चा कहिले र कसले गरिदिने खोइ ? चितवन ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गुरुराज घिमिरे
गुरुराज घिमिरे
2023-02-06 9:05 pm

राम्रो लेख्नुभएको छ!

छुटाउनुभयो कि ?