हाम्रा समवेदना र श्रद्धाञ्जलिहरू !

डा. नारायण चालिसे
Read Time = 12 mins

कुनै आफन्तको भौतिक देहावसानमा शोकमग्न बनेको परिवारकाप्रति सामाजिक सञ्जालहरूमा दिनहुँ प्राञ्जल भाषामा प्रकट गरिने समवेदना र श्रद्धाञ्जलि शब्दहरूमा के कति समवेदना, श्रद्धा र सामथ्र्य छ कुन्नि ? र ती समवेदना र श्रद्धाञ्जलिमा कति मौलिकता होला ? खासमा शब्दमा शक्ति छ भनेर मान्ने अनि शब्दब्रहृमको उपासना गर्ने पूर्वीय परम्पराका अनुयायीहरूले विभिन्न मन्त्रको साधना र सिद्धि पनि प्राप्त गरिरहेका छन् पनि भनिन्छ । मन्त्रशक्ति वा शब्दशक्तिमा विश्वास गर्ने हामीहरूले शब्दको साधना, पूजा र सम्मान पनि गर्न जानेकै हुनुपर्छ ।

यस अर्थमा हामीले प्रकट गर्ने समवेदनाले हामी आफैं पनि उक्त घटनाबाट समवेदित छौँ भन्ने भावबोध हुन्छ । जति दुःखकष्ट स्वजनलाई परेको छ त्यति नै पीडा मलाई पनि परेको छ भन्ने तात्पर्यमा समवेदना शब्दको प्रयोग हुन्छ । त्यसैगरी श्रद्धाले परिपूर्ण अञ्जलिबाट मैले अमुक व्यक्तिमा श्रद्धा प्रकट गरेको छु भन्ने तात्पर्य श्रद्धाञ्जलि शब्दको हुन्छ । आजै पनि आर्यघाटमा गएर श्रद्धाञ्जलि र समवेदना प्रकट गरेर आएँ । हाम्रा आदरणीय सहकर्मी गुरु, वाल्मीकि विद्यापीठका ज्योतिष विभागका सहप्राध्यापक लालमणि काफ्लेले भौतिक देह बिसाउनुभयो । पिताजीको अन्त्येष्टि कर्ममा बस्नुभएका उहाँ क्रिया नसकिँदै गम्भीर बिरामी हुनुभयो । त्यसपछि उहाँ उठ्नु भएन ।

बैसठ्ठी वर्षको छोटो उमेरमा इहलीला समाप्त गर्नुभयो । जीवन र जगत्को यो विस्मयकारी यथार्थलाई नजिकैबाट अनभूत गर्दाको पीडा अलि बेग्लै र मौलिक हुन्छ । परिवारजनमा परेको पीडा आज आर्यघाटमा देखेर आएँ । हामीसँग उनै रैथाने वाक्यहरू छन् समवेदनामा प्रकट गर्ने ‘जातस्य हि ध्रुवोर्मृत्यु....।,....नहन्यते हन्यमाने शरीरे ।’ अर्थात् जन्मनेहरूको मृत्यु अपरिहार्य छ, शरीर मरेर गए पनि आत्मा मर्दैन, शोक नगरौँ । यस्तै यस्तै केही औपचारिक वाक्यहरू छन् हामीसँग । कति व्यर्थ लाग्दा हुन् यी वाक्यांशहरू शोकमा डुबेका आफन्तहरूलाई ।

तर, हाम्रो दर्शन, चिन्तन र समवेदनाको स्थायीसामग्री नै यही हो । हामी योभन्दा अरू के दिन सक्छौँ र ? त्यो समयभरि देह र मस्तिष्कमा वैराग्यभावले ढाक्यो । जीवनको नश्वरता, संसारको मायावीजाल र अनि त्यताबोधले घरै नजाऊँ जस्तो भयो एकछिन तर आर्यघाटबाट बाहिर निस्कन नपाउँदै अन्य धेरैप्रकारका मोहले जीवनलाई घेर्‍यो । यो पुगेन र ऊ पुगेनको झमेलाले सताउन थाल्यो । राम्ररी भावुक बन्न नपाउँदै वैराग्यले छोड्यो । यसैलाई स्मसान वैराग्य भनिएको छ ।

बैसठ्ठी वर्षको छोटो उमेरमा इहलीला समाप्त गर्नुभयो । जीवन र जगत्को यो विस्मयकारी यथार्थलाई नजिकैबाट अनभूत गर्दाको पीडा अलि बेग्लै र मौलिक हुन्छ । परिवारजनमा परेको पीडा आज आर्यघाटमा देखेर आएँ । हामीसँग उनै रैथाने वाक्यहरू छन् समवेदनामा प्रकट गर्ने ।

जीवनजन्म र मृत्युकाबीचको दूरी हो । यो दूरी लामो छोटो हुनसक्छ नजन्मन बरू पाइन्छ तर नमर्न पाइँदैन । त्यसैले जन्मअनिवार्य होइन मृत्यु अपरिहार्य नै हो । हामी धेरैलाई प्रिय रहेको विषय त जीवन नै हो तर पिरोल्ने विषय जीवन मोह हो कि मृत्युबोध हो ? त्यो यकिन हुनसकेको छैन । त्यागीहरूले जीवनमोह त्याज्य हो भन्छन् । संसारीहरूले मृत्युबोध नै जीवनको नियति र विषाद हो भन्छन् । मृत्युदेखि सायद धेरैलाई डर लाग्छ । मृत्युसँग जम्काभेट नहोस् भन्ने कामना धेरैमा हुन्छ तर त्यो सम्भव कुरा होइन । धेरै असम्भव कुरालाई सम्भव पार्न खोज्दा हामी धेरैले स्वाभाविक जीवनलाई ।

अस्वाभाविक बनाइरहेका हुन्छौं । अस्वाभाविकता कहीँ कतै राम्रो लागे पनि सबैतिर राम्रो मानिँदैछ । समवेदना र श्रद्धाञ्जलि यी दुई शब्दहरू सुन्ने, पढ्ने र लेख्ने अवस्था जतिखेर आइलाग्छ त्यतिखेर सधैँ मनमा आइरहने एउटा विचारले आज पनि निरन्तरता पायो । त्यति बेलै मनमा एक प्रकारको विरक्ति जागेर आयो । त्यसो त जतिपटक आर्यघाट जानपर्छ त्यतिपटक नै मन एकतमासको हुने गर्दछ । आर्यघाट आराध्यदेव पशुपतिनाथको पूर्वी मुहुडा हो । पशुपतिनाथका त्रिनेत्रले नदेख्ने संसार कहाँ छ र ? भगवान् पशुपतिनाथलाई स्नान गर्न र जलार्पण गर्न त्यहीँको जल लैजानुपर्छ ।

वाग्मतीमा स्नान गरेर आराध्यदेव पशुपतिनाथको दर्शन गरी सबै प्रकारका अनिष्टहरूको नाश होस् भनी आउने थलो भए पनि सबैका आँसु रोक्ने अधिकार पशुपतिनाथलाई पनि छैन क्यारे ? मृत्युको नियति लिएर आएका प्राणीलाई लयको बाटो देखाउने अधिकार पनि उनै आराध्यदेवलाई छ भनिन्छ । वाग्मतीकै किनारमा अवस्थित आर्यघाट, त्यहीँनेर बनाइएको ब्रहृमनाल अनि वरपर रहेका चिताहरूलाई देख्दा सधैँ मन ढक्क फुलेर आउँछ । यहाँ कहिल्यै आउन नपरोस् भन्ने कामना गरे पनि पटक-पटक गइरहन बाध्य छौँ हामी । यो भौतिक देह बिसाउनका निम्ति तिनै महादेवको प्राङ्गण चयन गरिनुका शास्त्रीय, धार्मिक एवं सांस्कृतिक कारणहरूको चर्चा पुराणहरूमा गरिएको छ । जिउँदोमा जाने पनि पशुपति मरेपछि जाने पनि पशुपति ।

तर, मरेपछि जाने ठाउँलाई पशुपति नभनेर आर्यघाट भनिएको छ । मलामी गएर आउँदा पशुपति गएर आएँ नभनेर आर्यघाट गएर आएँ भनिन्छ । हरेक पशुपतिमा आर्यघाट र हरेक आर्यघाटमा पशुपति समवेत भएर रहेको छ । जीवन र मृत्यु पनि त्यत्ति नै नजिक छ जति पशुपति र आर्यघाटको दूरी रहेको छ । पशुपतिदेखि आर्यघाट आउनु नै सायद जीवन हो । जीवन सायद उकालो यात्राको प्रतीक हो र मृत्यु ओरालो यात्रा हो । आर्यघाटभन्दा केही सिँढी माथि उकालो चढेर जीवनको वरदान माग्ने ठाउँ छ पशुपति तर आर्यघाटको यात्रा ओरालो छ त्यसैले जीवन लिने प्रक्रियाभन्दा मृत्युको यात्रा केही सजिलो छ । त्यस कारण मृत्यु केही सस्तो छ जीवन केही महँगो छ ।

यसलाई जीवनको उकालो र मृत्युको ओरालो दर्शन भन्न सकिन्छ । यसैबाट थाहा लाग्छ जीवन कति लामो छ वा मृत्यु कति नजिक छ । हामीलाई यति ज्ञान त समयमै हुनुपर्ने हो तर त्यसो हुन सकेको पाइँदैन । हामी जति हिँड्छौँ भन्दैछौँ त्यो केवल पशुपतिबाट आर्यघाटसम्मको यात्रा हो । आर्यघाटलाई फड्केर कोही पनि पारि जान सकेको छैन । आर्यघाट तरेरै या भनौँ बिलाएरै जाने अज्ञातको यात्रा हामी सबैको नियति हो ।
यो नियतिलाई तिरस्कार गर्न पनि नसकिने र स्वीकार गर्न झन् गाह्रो हुने हाम्रो बाध्यताले हामीलाई ढुङ्गो हुन प्रेरित गर्छ । ढुङ्गो हुनु मूढ हुनु हो भन्ने नबुझेर जीवजन्य यथार्थलाई आत्मसात गरी कोमलतामा कठोरतालाई मिसाएर हिँड्नु जीवनको वास्तविकता हो भन्ने अनभूत गर्न सकेको अवस्थामा सायद केही पीडाहरू कम हुन्थे ।

दुःखका आ-आफ्नै कथा छन् सबैका । लालमणि गुरु आज प्रतिनिधि पात्र हुनुभयो । उहाँसँगै आज त्यहाँ अरू धेरै जनाका शरीरहरू जलेको देखेँ । तर, म ती अरू सबैका शरीर जलेको देखेर त्यति दुःखी भइन जति लालमणि गुरुको शरीर जलेको देखेर दुःखी भएँ ।

दुःखका आआफ्नै कथा छन् सबैका । लालमणि गुरु आज प्रतिनिधि पात्र हुनुभयो । उहाँसँगै आज त्यहाँ अरू धेरै जनाका शरीरहरू जलेको देखेँ । तर, म ती अरू सबैका शरीर जलेको देखेर त्यति दुःखी भइन जति लालमणि गुरुको शरीर जलेको देखेर दुःखी भएँ । अर्थात् ममता र समवेदनामा पनि भेदभाव छ । आआफ्ना ममता र आआफ्ना समवेदनाका टुक्रा बोकेका हामी कति समवेदित छौँ अनि हामीले कति गहिरो श्रद्धाञ्जलि अर्पण गर्न सकेका छौँ त भन्ने कुरा झनै महत्वपूर्ण लाग्यो आज ।

हामीलाई लालमणि गुरु जति गहिरो चोट बनेर अस्ताउनु भयो दिनहुँ यसरी नै अस्ताउने अनगिन्ती शरीरका आफन्तहरूलाई त्यसरी नै गहिरो दुःख छ । हामी हाम्रा मात्रै आफन्तका बिछोडमा दुःखी छौं । सबैको पीडामा दुःखी हुने विराट् समवेदनासम्म हामीसँग छैन । जति नै दार्शनिक बने पनि यथार्थको सामना गर्न कठिन हुन्छ । हाम्रो शरीरको जस्तै समवेदनाको पनि बनोट फरक छ । आफ्नै स्वार्थको केन्द्रमा निर्मित समवेदनाका प्रकारहरू नभएका हुन्थे भने सायद सृष्टि पनि चल्दैनथ्यो ।

एउटा आँखामा खुशी र अर्को आँखामा दुःखका आँसु लिएर पनि जीवन चलेको छ । आधा मनमा दुःखका सुस्केरा अनि आधा मन हर्ष र उमङ्ग बोकेर हिँडिरहँदा नाटक जस्तो बन्दैछ जीवन । संसार एक नाट्यशाला हो अनि हामी त्यस रङ्गमञ्चका कुशल कलाकार हौं भनेको कुरालाई चरितार्थ गर्दैछौं हामीले । वैराग्यबोधको पछिल्लो अनुभूति बिझाएको छ अहिले तर बिहान उदाउने सूर्यको लालिमासँगै जीवन फेरि पनि आकर्षक भएर आउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?