बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो ।

माघ २१ गते शनिबार आन्तरिक छलफल, २२ गते बिहान ८ बजे बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन समारोह र दिउँसो बुटवल उपमहानगरपालिकाको सभाहलमा साझा समस्याबारे छलफल र घोषणा पत्र जारी गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकाल्ने र समाधानका लागि सम्बन्धित निकायसँग सामुहिक रुपमा छलफलमा जाने उहाँले बताउनुभयो ।

उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँले बताउनुभयो ।

उपमहानगरहरुका बीचमा आपसी समन्वय र सहकार्यको उदेश्यका साथ सम्मेलन हुने र स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्न उर्जा मिल्ने बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।

राष्ट्रिय सम्मेलनको उद्घाटनको लागि सबै तयारी पूरा भएको र प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?