ट्राफिक प्रहरीविरुद्ध तरकारी व्यापारी

Read Time = 4 mins

सर्लाही । सर्लाहीको लालबन्दी तरकारी बजारका व्यापारी ट्राफिक प्रहरीविरुद्ध आन्दोलनमा उत्रिएका छन् । सर्लाही तथा आसपासका जिल्लाका किसानको तरकारी बिक्री गर्ने मुख्य केन्द्रका रूपमा रहेको लालबन्दी तरकारी बजारबाट दैनिक काठमाडौंका लागि पाँच-छ ट्रक र पिकअप भ्यान तथा पोखराका लागि दुई-तीनवटा पिकअप भ्यान जाने गरेको लालबन्दी तरकारी बजार व्यवस्थापन समितिका बजार व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो ।

दुईवटा बसमा पोखरा तरकारी लैजाने गरेको भए पनि शुक्रबारदेखि ट्राफिक प्रहरीले पैसा माग्ने गरेको उहाँले बताउनुभयो । तरकारी ढुवानीबापत प्रतिगाडी ट्राफिक प्रहरीलाई पैसा बुझाउनुपर्ने घिमिरेको दाबी छ । पैसा बुझाउँदासमेत ट्राफिक प्रहरीले सहजरूपमा तरकारी लैजान नदिएको भन्दै लालबन्दीका तरकारी किसान तथा व्यापारी लालबन्दी नगरपालिका ७ स्थित तरकारी बजार नजिकैको डुमडुमे पुलमा सिमी, टमाटर, भान्टालगायतका तरकारी फ्याँकेर विरोधमा उत्रिएका हुन् । उनीहरूले पूर्वपश्चिम राजमार्ग बन्द गराएका थिए ।

शुक्रबार काठमाडौंंका लागि लोड गरेर पठाइएको तरकारी प्रहरीले बागमतीमा झारेर पैसा मागेको आरोप लगाएका छन् । इटहरीदेखिको सामानचाहिँ जान दिएको र लालबन्दीको तरकारी रोकेको उनीहरूको दाबी छ । तर, ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख ईश्वर कार्कीले खण्डन गर्नुभएको छ । बसमा तरकारी लैजाँदा यात्रुलाई समस्या हुनुका साथै सवारीसाधन दुर्घटनाको जोखिमसमेत हुने भएकाले बसलगायत यात्रुबाहक सवारीसाधानमा माल-सामान बेक्न नदिएको उहाँको भनाइ छ ।

किसान आन्दोलनमा ऐक्यबद्धता
तरकारी किसानको आन्दोलनमा किसान संगठनहरूले ऐक्यबद्धता जनाएका छन् । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै किसानको पक्षमा उभिने र सरकारको ध्यानाकर्षण गराइने जनाएका हुन् । शुक्रबार चितवनका किसानले उत्पादित तरकारीको उचित मूल्य नपाएको तर बाहिरबाट आएको तरकारीले बजार पाएको भन्दै सडकमा तरकारी फालेर आन्दोलन गरेका थिए ।

उक्त घटनाक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ । चितवनमै रहुनभएकी कृषिमन्त्री ज्वालाकुमारी शाहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउनसमेत निर्देशन दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?