माओवादी स्थायी कमिटी बैठक

दुई महिने संगठन सुदृढीकरण अभियान चलाउने र अध्यक्षका वक्तव्य तल्ला कमिटीमा पठाउने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । पार्टीका केन्द्रीय नेताहरू दुई महिना कार्यकर्ता र जनतामाझ जाने भएका हुन् । पार्टीको स्थायी कमिटीको शनिबारको बैठकबाट पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय लिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । सबै केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ताकहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

‘दुई महिनापछि केन्द्रीय समितिको बैठक बस्ने, सम्पूर्ण निर्णय केन्द्रीय समितिले गर्ने भन्ने निर्णय भयो । सबै फिल्डमा जाने र केन्द्रीय समितिको निर्णय गर्ने र त्यसका लागि सबै कमिटी मञ्चको बैठक बस्ने निर्णय भयो । चुनावको समीक्षाको विषयमा ठाउँठाउँमा घात, अन्तर्घात भयो, यसको निमित्त फिल्डको रिपोर्ट बुझ्ने कुरा भएको छ । माघको २६ गतेदेखि ५ गतेभित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने, र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने निर्णय भएको छ । अध्यक्ष प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीका रुपमा केही निर्देशन र केही वक्तव्यहरू छन्, त्यसलाई तल लैजाने निर्णय गरेका छौँ । हाम्रो पार्टी २६ गतेदेखि फिल्डमा जान्छ,’ उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका सचिव देवेन्द पौडेलले पार्टी पंक्ति र जनतालाई भेट्ने योजना तय भएको जानकारी दिनुभयो । पार्टीको संगठनबारे स्थायी कमिटीमा व्यापक छलफल भएको उहाँले जानकारी दिनुभयो । ‘दुई महिना सबै फिल्डमा जाने, पार्टी पंक्तिबाहेक जनता पनि भेटेर दुई महिना पछि त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ,’ उहाँले भन्नुभयोे । दुई महिना पार्टी कार्यकर्ता र जनताबाट आएपछि केन्द्रीय समिति बैठक बसेर नयाँ कार्ययोजनासहित अगाडि बढ्ने उहाँको भनाइ छ ।

यस्तै, पूर्व सभामुख अग्नि सापकोटा नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । शनिबार बसकेो स्थायी कमिटी बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । सापकोटालाई माओवादीले पार्टी केन्द्रको उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

माओवादीको बटमलाइन : राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । माओवादी नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनुभयो । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले प्रधानमन्त्री प्रचण्डलाई सबैले विश्वासको मत दिएकाले सबैसँग छलफलका लागि आफूहरू खुला रहेको बताउनुभयो । सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन नचाहेको भन्दै सबै मिलेर अघि बढ्ने प्रयत्न गरेको उहाँको भनाइ थियो । ‘राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सकेसम्म सहमतिको प्रयत्न गर्छौँ । सहमति हुन सकेन भने विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्छौँ,’ उहाँले भन्नुभयो, ‘सबै पक्षसँग हामी खुला छौँ । प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो ।’ गृहमन्त्रीको बारेमा भने बैठकमा कुनै छलफल नभएको उहाँले बताउनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?