सत्ता गठबन्धनमा सैद्धान्तिक र वैचारिक विवाद देखिएको विपक्षी मोर्चाको टिप्पणी, ‘पर्ख र हेर’को रणनीतिमा

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । सत्तारूढ सातदलीय गठबन्धन नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच गृहमन्त्री पदबारे खटपट चलिरहेको छ । नागरिकता पुनः प्राप्तिपछि रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रीमा आफ्नो दाबी पुनः पेस गरेपछि सत्तारूढ गठबन्धनभित्र तीव्र विवाद चुलिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतबाट लामिछानेको नागरिकताको विषयमा फैसलाको पूर्णपाठ नआएसम्म सो मन्त्रालय आफूसँगै राख्ने अडानमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्रमा पनि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिन नहुने तीव्र दबाब छ । त्यसमाथि लामिछानेले नेपाली पासपोर्टको दुरुपयोग गरेको बारेको उजुरीमाथि अनुसन्धान जारी रहेका कारण प्रधानमन्त्री प्रचण्ड तीव्र दबाबबीच पनि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन अनिच्छुक देखिनुभएको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भने लामिछानेलाई पुनः गृहमन्त्रीमा फर्काउन चाहन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डलाई निरन्तर दबाब दिइरहनु भएको छ । रास्वपाले प्रधानमन्त्रीलाई अल्टिमेटम दिँदै सरकार छाड्नेसम्मको चेतावनी दिएको छ ।

सत्ता गठबन्धनमा तीव्र खटपट भइरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नेतृत्वको विपक्षी दलहरूको मोर्चा भने सत्तारूढ दलमा देखिएको विवादबारे पर्ख र हेरको रणनीति लिएको छ । शनिबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी मोर्चाको बैठकले सत्ता गठबन्धनमा भइरहेको विवादमा नबोल्ने नीति लिएको हो । बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्रीको लफडाबारे अहिले नै बोल्ने बेला नभएको जिकिर गर्दै भन्नुभयो,‘यसबारे बोल्न धेरै जरुरी छैन । हामीले हेर्ने हो । गर्नेले के गर्छन् त्यो हेरौँ । त्यसपछि हामीले टिप्पणी गर्ने हो ।’

सत्ता गठबन्धनको विवाद सूक्ष्म ढंगले हेरिरहेका छौँ : लेखक
विपक्षी मोर्चाको बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक रूपमा विवाद देखिएको, यो विषय संसद्मा पनि उठेको र यसबारे आफूहरूले सूक्ष्म ढंगले हेरिरहेको जानकारी दिँदै भन्नुभयो, ‘सरकारमा रहेका दलहरूमा सैद्धान्तिक र वैचारिक बेमेल छ । त्यो संसद्मा पनि देखिएको छ । यसलाई गम्भीर ढंगले, सूक्ष्म ढंगले हेरिरहेका छौँ ।’

प्रमुख सचेतक लेखकले गृहमन्त्री प्रकरण मात्र नभएर सरकारमा सहभागी दलहरूबीच सैद्धान्तिक विषयमै व्यापक विवाद देखिएको जिकिर गर्नुभयो । बैठकमा सत्तासाझेदार दलहरूबीच बढिरहेको दूरीका सन्दर्भमा छलफल भएको र पुरानै गठबन्धन ब्युँताउन सकिने बारेमा पनि नेताहरूबीच छलफल भएको बताइएको छ । बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्रीको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार आज टुंगो लगाउने
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार आज टुंगो लगाउँदै छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका शीर्ष नेता सहभागी बैठकले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार आइतबार बिहान लगाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संघीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवारीका सम्बन्धमा छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘उम्मेदवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण भएको छ । आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छौं ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरू पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘सबै पक्षको कुरा बुझेर एउटा टुंगोमा पुग्ने भन्ने भएको छ । कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन् । व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन् । विकसित परिस्थितिका आधारमा बसेर टुंगोमा पुग्छौँ । नेकपा समाजवादीको दाबी छैन ।’

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको लागि आज मनोनयन दर्ता
राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ । दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ । आज नै उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी निर्धारण गर्नुभएको छ । निर्वाचनको दिन राष्ट्रियसभा बैठकमा सुरुमा ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्नेछन् । समर्थकले समर्थन गर्नेछन् । त्यसपछि उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुनेछ । सो छलफलपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनमा एकभन्दा बढी उम्मेदवार हुने सम्भावना छ । सत्ता र प्रतिपक्ष दल दुवैतर्फका नेताहरूले उम्मेदवारी दिने बताइसकेका छन् ।

कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार
राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने अवस्था आए कमला पन्त र दुर्गा गुरुङमध्ये एक उम्मेदवार बन्ने देखिएको छ । अनिता देवकोटा राष्ट्रियसभामा पार्टीको प्रमुख सचेतक रहेका कारण पन्त र गुरुङमध्ये एकजना उम्मेदवार बन्ने बताइएको छ । पन्त र गुरुङमध्ये पनि पन्त उम्मेदवार बन्ने सम्भावना बलियो रहेको छ । राष्ट्रियसभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्नेछ । जसका लागि कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको हो । यसअघि माओवादीबाट शशिकला दाहाल राष्ट्रियसभा उपाध्यक्ष हुनुहुन्थ्यो । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, सत्ता गठबन्धनबाट पनि उपाध्यक्षको उम्मेदवार को बन्ने अझै टुंगो छैन ।

एमालेले राष्ट्रपतिको उम्मेदवार खल्तीबाट निकाले स्वीकार्य हुन्न : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ । शनिबार बारामा नेपाल प्रेस युनियनको मधेश प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘राष्ट्रपतिले अहिले जसरी संविधानअनुसार अभ्यास गरिरहनु भएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेशपालक हुन्छ । त्यो कांग्रेसलाई स्वीकार्य हुन्न ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?