शून्य फोहोर अभियानसँग अपांगता सवाललाई जोड्दा

Read Time = 13 mins

✍️ भूमिकला पौडेल

जनवरी महिनालाई ‘शून्य फोहोर महिना’ को रूपमा मनाउने गरिन्छ । शून्य फोहोर महिनाको अवधारणा विशेषगरी एशियामा सन् २०१२ देखि फिलिपिन्सबाट सुरु भएको पाइन्छ । फोहोरमैलाका कारण विश्वभरि नै असर भइरहेको अवस्थालाई मध्यनजर गर्दै शून्य फोहोरको अवधारणा बारे सबैलाई ध्यानाकर्षण गराउन तथा यस बारेमा जनचेतना फैलाउनका लागि ‘शून्य फोहोर महिना’ मनाउन थालिएको हो । वर्षको सुरुवातदेखि अर्थात् जनवरी महिनाभरि नै यस बारेमा विशेष चर्चा, गतिविधि तथा विभिन्न कार्यक्रम गरेर यस सवालतर्फ सबैको ध्यान जाओस् भनेर शून्य फोहोर महिनालाई विशेष रूपमा मनाउने गरिएको हो ।

वास्तवमा फोहोरमैलाले मानवजातिलाई मात्र नभएर प्रत्येक प्राणी, बोटबिरुवालगायत सम्पूर्ण पर्यावरणलाई नै प्रभाव पार्दछ । ग्लोबल वार्मिङ, ओजनतह पातलिने, जलवायु परिवर्तन तथा यसका कारण घट्ने विभिन्न प्राकृतिक प्रकोप र विभिन्न संक्रामक रोगहरू यसका उदाहरण हुन् । त्यसैले बेलैमा सचेत तथा संवेदनशील भएर यसतर्फ प्रत्येक व्यक्तिले पहलकदमी नगर्ने हो भने पृथ्वीको अस्तित्व नै संकटमा पर्न सक्छ । अपांगता सवाल प्रत्येक सवालसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर आउने हुनाले शून्य फोहोरको अवधारणामा पनि अपांगता सवाल जोड्एिर आउँछ नै तर यसलाई शून्य फोहोरको अवधारणासँग कसरी जोड्दा अपांगता भएका व्यक्तिहरूका लागि अवसर बन्न सक्छ भन्ने सोचेर काम गर्नु चाहिँ मुख्य कुरा हो । अपांगता भएका व्यक्तिहरू अवसर नपाएर पिछडिएर रहेको अवस्थामा शून्य फोहोर अभियानमा उनीहरूलाई अग्रसर बनाउन सके आर्थिक उपार्जनको राम्रो बाटो बन्न सक्छ ।

अपांगता भएका व्यक्तिहरू अवसर नपाएर पिछडिएर रहेको अवस्थामा शून्य फोहोर अभियानमा उनीहरूलाई अग्रसर बनाउन सके आर्थिक उपार्जनको राम्रो बाटो बन्न सक्छ । त्यसैले यसलाई एउटा उपयुक्त अवसरको रूपमा पनि सदुपयोग गर्न सकिन्छ ।

त्यसैले यसलाई एउटा उपयुक्त अवसरको रूपमा पनि सदुपयोग गर्न सकिन्छ । जसको एउटा राम्रो उदाहरण हो, काठमाडौंको लाजिम्पाटस्थित ‘कोथिना मीठो छ : द स्कुल अफ हस्पिटालिटी’ । कोथिना मीठो छ ः द स्कुल अफ हस्पिटालिटी सन् २०१० देखि सुरुवात भएको ‘दिगो सामाजिक उद्यमशील’ संस्था हो । मुनाफा वितरण नगर्ने यस संस्थाले अतिआवश्यक परेका युवाहरूलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै विभिन्न प्रकारका सामाजिक कामहरू गर्ने गरेको छ । नेपालमा २०७२ सालमा गएको भूकम्पको बेला यस होटललाई एक सुरक्षित सेल्टरका रूपमा प्रयोग गरिएको थियो साथै यस होटलले धेरै व्यक्तिहरूलाई निःशुल्क रूपमा खान तथा बस्न सो समयमा व्यवस्था गरिदिएको थियो ।

‘कोथिना मीठो छ’ ले अनाथ, गरिब तथा पिछडिएका युवालाई होटल, बेकरी तथा कफी व्यावसायसम्बन्धी सीप विकासका लागि आवश्यक तालिम प्रदान गरी रोजगार गर्न सहयोग गर्दछ । यसले अपांगता भएका व्यक्तिलाई विशेष प्राथमिकताका साथ आवश्यकता अनुसार निःशुल्क रूपमा तालिम प्रदान गरी रोजगारीमा समेत सहयोग पु¥याउँदै आएको छ । ‘कोथिना मीठो छ’ को आफ्नै होटल पनि छ जसमा आउने ग्राहकहरूलाई रेष्टुरेन्ट तथा बासको व्यवस्था गरिएको छ । ‘कोथिना मीठो छ’बाट दैनिक रूपमा निस्कने फोहोरलाई शून्य फोहोरको अवधारणाअनुसार व्यवस्थापन गर्न एकजना अपांगता भएको व्यक्तिलाई जिम्मेवारी दिइएको छ । बैतडीका २४ वर्षीय बहिरा व्यक्ति विपिन चन्द विगत सात महिनादेखि यस होटलमा किचन स्टाफको रूपमा काम गरिरहेका छन् । उनैले होटलको फोहोर व्यवस्थापन गर्ने पनि जिम्मेवारी पाएका छन् । ‘तपाईंले यहाँ फोहोर व्यवस्थापन कसरी गरिरहनु भएको छ ?’ भन्ने जिज्ञासा राख्दा उहाँले भन्नु भयो, ‘सबैभन्दा पहिला कुहिने र नकुहिने फोहोर छुट्टयाउँछौं । कुहिने फोहोरलाई कम्पोष्ट बनाएर होटलकै फूलबारी तथा गफीका बिरुवालगायत अन्य बोटबिरुवामा प्रयोग गर्छौं । काम लाग्ने प्लाष्टिक, सिसा र टिनको बोतल तथा बट्टालाई पुनः प्रयोगमा ल्याउँछौं ।’

त्यसैगरी फाल्तु काठ तथा टिनहरूबाट होटलको डेकोरेसन बनाउँछौं भने माटाका भाडाँहरूलाई गमला बनाएर फूलहरू रोप्ने गरेको छौँ । काम नलाग्ने प्लाष्टिक, सिसा, टिनको बोतल तथा बट्टालाई बेच्नका लागि अलगअलग छुट्टयाएर एक ठाउँमा जम्मा गरेर राख्छौं र केही समयपश्चात् त्यसलाई बेच्ने गरेका छौं । जसबाट आएको पैसा होटलले मलाई नै दिने गरेको छ ।’ विपिनलाई फोहोर व्यवस्थापन गरेबापत होटलले उनले पाउने तलबमा थपेर केही रकम प्रोत्साहन स्वरूप पनि उपलब्ध गराउने गरेको छ ।

एक वर्षअगाडिसम्म ‘कोथिना मीठो छ’ बाट एकदमै धेरै मात्रामा फोहोरजन्य पदार्थ निस्कने गरेको थियो तर फोहोर व्यवस्थापन गर्न सुरुवात गरेदेखि हाल एकदमै कम मात्रामा फोहोरहरू निस्कने गरेको होटल सञ्चालक देवेन्द्र पोख्रेल बताउँनुहुन्छ, ‘हामीले व्यवस्थापन गर्न नसक्ने फोहोरमात्रै बाहिर निकाल्छौँ, जुन एकदमै थोरै हुन्छ । त्यो देखेर सबैजना छक्क पर्दै भन्छन्, यत्रो होटलबाट कति कम फोहोर निस्केको’ गतवर्ष लाजिम्पाटस्थित एउटा संस्थाले सो होटलमा आएर होटल कर्मचारीहरूलाई फोहोर व्यवस्थापनसम्बन्धी तालिम दिएपछि यस होटलमा शून्य फोहोर अभियानको सुरुवात भएको हो । यस तालिमपश्चात् सबै कर्मचारीमध्ये विपिनले यस सम्बन्धमा बढी संवेदनशीलता तथा जागरुकता देखाएकाले उनलाई नै फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको जानकारी दिनुहुँदै होटल सञ्चालक देवेन्द्र पोख्रेलले अन्य व्यक्तिहरूको तुलनामा अपांगता भएका व्यक्ति काममा बढी केन्द्रित भएर लाग्ने र आफ्नो उत्तरदायित्वलाई राम्रोसँग बुझ्ने भएको हुनाले उनीहरूलाई यस अभियानमा जोड्न सके उनीहरूका लागि आर्थिक आम्दानीको एउटा राम्रो अवसर बन्ने सक्ने बताउनुभयो ।

शून्य फोहोरको अर्थ फोहोर नै ननिस्कियोस् भन्ने हो अर्थात् हामीले दैनिक रूपमा प्रयोग गर्ने कुराहरूबाट सकेसम्म फोहोर नै ननिस्कियोस् वा निस्किए पनि एकदमै न्यून मात्रै निस्कियोस् । जसले गर्दा फोहोर व्यवस्थापन गर्नमा सहजता होस् भन्ने हो । जसका लागि हामीले गर्न सक्ने केही सानासाना कुराहरूमा मात्रै ध्यान दिन सक्यौँ भने यस कार्यमा योगदान दिन सक्छौँ । जस्तै ः आफूलाई आवश्यक पर्ने सामग्री खरिद गर्दा त्यसको प्रयोग कति मात्रामा गर्न सकिन्छ विचार गर्ने, सकेसम्म पुनः प्रयोगमा आउन सक्ने सामग्री खरिद गरी पुनः प्रयोग गर्ने, फोहोरहरू निकाल्दा कुहिने तथा नकुहिने फोहोरहरू छुट्टयाई अलग अलग राख्ने तथा कुहिने फोहोरलाई घरमै कम्पोष्टको रूपमा प्रयोग गर्ने । त्यसैगरी नकुहिने फोहोरहरूलाई पनि सोहीअनुसार व्यवस्थापन गर्ने । यस कार्यले समुदाय तथा सरकारलाई फोहोर व्यवस्थापन गर्न सजिलो हुनेमात्र नभई वातावरण तथा पर्यावरणलाई सन्तुलनमा राख्न पनि सिधैं सहयोग पुग्दछ । त्यसैगरी शून्य फोहोर अभियानमा अपांगता भएका व्यक्तिलाई जोड्न सके यस कार्यमा उनीहरूको समेत योगदान रहने तथा उनीहरूको आम्दानीको अवसर सिर्जना गर्न सकिने थियो ।

शून्य फोहोरको अर्थ फोहोर नै ननिस्कियोस् भन्ने हो अर्थात् हामीले दैनिक रूपमा प्रयोग गर्ने कुराहरूबाट सकेसम्म फोहोर नै ननिस्कियोस् वा निस्किए पनि एकदमै न्यून मात्रामा मात्रै निस्कियोस् । जसले गर्दा फोहोर व्यवस्थापन गर्नमा सहजता होस् भन्ने हो ।

उदाहरणका लागि खेर गएका सामानबाट विभिन्न सजावटका सामग्री तथा घरायसी र कार्यालय प्रयोजनमा प्रयोग हुने सामग्री बनाउन अपांगता भएका व्यक्तिलाई अवसर दिन सक्ने हो भने यसबाट उनीहरूका लागि रोजगारी सिर्जना गर्न सकिने थियो । नेपालमा शून्य फोहोरको सवालमा काम गर्ने विभिन्न संघसंस्था छन् । जसमध्ये प्रज्ञा सिड्स नेपालले पनि शून्य फोहोरका लागि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । संस्थाको शून्य फोहोर अभियानमा अपांगता भएका व्यक्तिलाई अबका दिनमा जोड्दै लैजाने योजना रहेको संस्थाका अध्यक्ष, प्रणय श्रेष्ठले बताउनुभयो ।

निजी संस्था वा कम्पनीको रूपमा ‘कोथिना मीठो छ’ ले अपांगता भएको व्यक्तिलाई शून्य फोहोर अभियानमा जोड्ने जुन प्रयास गरेको छ । झट्ट हेर्दा यो एउटा सानो काम जस्तो देखिन्छ तर सबैका लागि उदाहरणीय कार्य हो । किनकि शून्य फोहोर अभियान आफैंमा एउटा ठूलो र चुनौतीपूर्ण काम हो, त्यसमा पनि अपांगता भएका व्यक्तिलाई जोड्न सकिन्छ भनेर सुरुवात गर्नु आफैंमा स्वागतयोग्य कार्य हो । त्यसैले यस्ता कुरामा सरकारलगायत सम्बन्धित सबै सरोकारवाला निकाय, व्यक्ति तथा संघसंस्थाको ध्यान जान सक्ने हो भने शून्य फोहोर अभियानले अझ सार्थकता पाउने थियो, शून्य फोहोर महिनाको सबैमा शुभकामना !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?