शारदा खनालको ‘मूूकदर्शक’ सार्वजनिक

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालको ‘मूकदर्शक’ कथासंग्रह प्रकाशित भएको छ । यस अघि विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको समालोचनात्मक कृति प्रकाशित गरिसक्नुभएकी खनालको अहिले सञ्जीवनी अनुसन्धान केन्द्र तानसेनबाट मूकदर्शक’ कथासंग्रह प्रकाशित भएको हो ।

उक्त कथासंग्रहको पाल्पाका विशिष्ट साहित्यकार, प्राध्यापक तथा श्रष्टाहरुको उपस्थितीमा सार्वजनिक गरिएको छ । १२ वटा कथाहरु संग्रहीत कृतिका कथाहरु विभिन्न समयअन्तरालमा रचना गरिएका समकालिन सिर्जनाहरु हुन् । अध्ययन र साहित्य सिर्जनामा सक्रिय खनालको कथासंग्रहमा विषवस्तुगत सन्दर्भ वा वैचारिक पक्षहरु समकालीन समाजका मूल्य, मान्यता, आर्दशको स्थापना र रक्षाका निम्ति केन्द्रित रहेको पाइन्छ ।

समाजका परम्परावादी रुढीजन्य सोच-विचारलाई भत्काउने वा परिमार्जन गर्ने जुन प्रयत्न भइरहेको छ त्यहाँ आधुनिकताको प्रभाव अंकित भएको अनुभूत कथासंग्रहमा रहेको समिक्षक डा. नेत्रप्रसाद न्यौपानेले पुस्तकमा उल्लेख गर्नुभएको छ । यस संग्रहका प्रायः कथाहरु घटनाप्रधान र हाम्रै समाज भित्रका यथार्थमा आधारित रहेको उहाँले बताउनुभयो ।

खनालका कथाहरु मूलतः सामाजिक पृष्ठभूमिमा आधारित रहेको र तिनमा व्यक्ति सोचका स्वार्थमय पुरातन प्रवृत्तिलाई खोतल्ने जमर्को गरिएको डा. शैलेन्दुप्रकाश नेपालले बताउनुभयो । उहाँले पुस्तकमार्फत लेखक खनाललाई शुभकामना दिदै स्रष्टाको समालोचकिय दृष्टिकोणको पर्याप्त उपयोग समेत कथामा गरिएको बताउनुभएको छ ।

साहित्यकार अनुपमा रेग्मीले वर्तमान समाजमा बदलिदै गएका व्यक्तिगत पारिवारिक र सामाजिक मर्यादा, स्वरुप र प्रवृत्ति कथासंग्रहका मुख्य विषय रहेको बताउनुभयो । उहाँले पुस्तकमा लेखकलाई शुभकामना दिदै नेपाली समाजमा बढ्दै गएको विसंगती र अनादर्शको चिरफार कथामार्फत खनालले गरेको बताउनुभएको ।

विगत २४ वर्षदेखि प्राध्यापन कार्यमा संलग्न रहनुभएकी खनालले नेपाली समाजमा आएका परिवर्तन, सामाजिक मर्यादा, चालचलन, व्यवहार, सोचाई तथा दृष्टिकोण र तिनका कारण अन्य मानिसमा पर्ने प्रभावलाई नजिकबाट नियाल्दै जाने क्रममा कथाको जन्म हुन पुगेको बताउनुभयो । मनमा अमिट छाप पार्न सफल भएका कतिपय घटनाका कारण कथासंग्रह प्रकाशन गर्न सफल भएको लेखक खनालको भनाई छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Sharada Khanal
Sharada Khanal
2023-02-05 1:15 pm

धेरै धेरै धन्यवाद रामचन्द्र जी त्पाइँको सहयोग र सपोर्टको लागि

रिलेटेड न्युज

छुटाउनुभयो कि ?