भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुन सक्ने आशंका ‘स्क्रिनिङ’ गर्न सुरु गरेको छ । नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रुपमा शिविर सञ्चालन गरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो ।
यी तीनवटै वडाले ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरूको पहिचान (स्क्रिनिङ्ग) का लागि शुक्रवारदेखि वडा नम्बर ३ बाट प्रोत्साहनसहितको नियमित वृद्धि अनुगमन शिविरको सुरु गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । यी तीनवटै वडामा शिविर सञ्चालन हुनेछन् ।
‘केही शिशुहरू कुपोषणको शिकार भएको पाइएपछि हामी तीन वटा वडाका वडाअध्यक्षहरूले संयुक्त रुपमा शिविरको सुरुवात गरेका छौँ’ श्रेष्ठले भन्नुभयाे, ‘यो शिविरले तीन वटै वडावासीहरू लाभान्वित भई शिशुहरूको वृद्धि विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’
‘बच्चा जोखौँ सर्वोत्तम पिठो बोकौँ’ नारासहित शुभारम्भ भएको शिविरमा यी वडा बाहेक नगरका अन्य वडावासीका बालबालिकाहरूमा कुपोषणसम्बन्धी आशंका भए शिविरको लाभ लिन सक्ने उहाँले बताउनुभयाे ।
शिविरको प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले शिशुलाई सर्वोत्तम पिठो उपलब्ध गराएर शुभारम्भ गर्नुभयाे । शिविरको शुभारम्भ गर्दै उहाँले शिशुहरूलाई पोषिलो खाना खुवाउनुपर्ने निकै आवश्यक रहेको उल्लेख गर्दै विरुवालाई दिनहुँ पानी दिएर हुर्काएझैँ शिशुहरूलाई पनि पोषिलो खाना खुवाउनेमा कमी नगर्न आग्रह गर्नुभयाे ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले महिला गर्भवती अवस्थामा भएदेखि नै पोषिलो खानामा जोड दिए शिशु पनि स्वस्थ जन्म हुने र कुपोषणको शिकार हुनबाट जोगिने बताउनुभयाे ।
शिविरमा आएका शिशुहरूको नियमित तौल गर्ने, चार सय ग्रामको सर्वोत्तम पिठो उपलब्ध गराउने र आवश्यक परेको अवस्थामा स्वास्थ्य उपचारसमेत गरिने बताइएको छ । नगरपालिकाको वडा नम्बर ३ का वडाअध्यक्षले नारायण प्रसाद उपाध्ययले शिशुहरूको वृद्धि विकासका लागि पोषिलो खाना निकै आवश्यक रहेकोमा जोड दिँदै बालबालिका स्वास्थ्य रहे मुलुक स्वास्थ्य रहने बताउनुभयाे ।
नगरपालिकाको वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले बालबालिकाहरू भविष्यको कर्णधार भएको भन्दै आजका बालबालिकालाई स्वास्थ्य राखे भोली समृद्ध मुलुक बनाउनेमा टेवा पुग्ने बताउनुभयाे ।
सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन वटा वडाहरूले संयुक्त रुपमा सञ्चालन गरेको शिविरको प्रशंसा गर्दै आगामी आर्थिक वर्षमा यस किसिमका शिविर सञ्चालनका लागि बजेट विनियोजन गरी नगर स्तरीय शिविर संचालन गर्ने बताउनुभयाे ।
एक जनाको शिशु उपर नियमित अनुगमन र स्वास्थ्य उपचारमा ५ देखि १० हजार रुपैयाँ खर्च आउने अनुमान गरिएको वडा नम्बर ३ का आधारभूत स्वास्थ्य केन्द्रका ईन्चार्ज दुर्गाबहादुर थापाले बताउनुभयाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका