ठेक्का तोड्न सिफारिस भएपछि सेखुवा–चखेवाभञ्ज्याङ सडक कालोपत्रे काम धमाधम

तस्विर : सेखुवा–चखेवाभञ्ज्याङ सडकको काम गर्दै कामदार

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । ठेक्का तोड्न सिफारिस भएपछि पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा पर्ने सेखुवा–चखेवाभञ्ज्याङ (१०किलोमिटर)सडक कालोपत्रेको काम धमाधम सुरु भएको छ ।

सडकको काम अलपत्र पार्ने निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/'मैनाचुली/सिद्दिसाई जेभीको ठेक्का तोड्न १८ मंसिरमा पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाले सडक विभाग समक्ष सिफारिश र बाँझेच्यानडाँडाका स्थानीयले १ पुषमा प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाको कार्यालयलाई ज्ञापनपत्र पठाउँदै चखेवाभञ्ज्याङ–सेखुवा कालोपत्रेको ठेक्का तोड्न माग गरेपछि निर्माण कम्पनी तातिएर कामलाई अघि बढाएका हुन् ।

पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाले ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरेपछि साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई र भारत–मैनाचुली–सिद्दिशाहीका प्रतिनिधि मदन कुमार अधिकारीबिच २२ पुषमा काम गर्ने आठ बुंदे प्रतिबद्धता भएको थियो । ठेक्का तोडिने डर र गाउँपालिकाको दबाबपछि काम थालेको निर्माण व्यवसायीले अहिले साइडमा कल्भर्ड बनाउने, अन्य स्टक्चर बनाउने, सबबेसको काम गरिरहेको छ ।

अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भएको र चारदिनभित्र मोवाइल क्रसर आइपुग्ने र त्यसपछि बेस उत्पादन गरिने साइड इन्चार्ज बिमल अधिकारीले बताउनुभयो । आउने बैशाख अन्तिमसम्म सडकको सम्पूर्ण काम सकेर पुष्पलाल मध्यपहाडी राजमार्ग योजनालाई सडक हस्तान्तरण गरिने अधिकारीले ठोकुवा गर्नुभयो ।

अहिले ठेकेदारले कामको स्पीड बढाईरहेको बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो । कामलाई अझै द्रुत गतिमा बढाउन ठेकेदारले जनशक्ति र साधन थप्छु भन्नुभएको छ । हामीले पनि पटक–पटक जनशक्ति र साधन थप्न भनेका छौ । भोली र पर्सी जनशक्ति थपिदैछ । वडाध्यक्ष राईले भन्नुभयो, अहिलेको कामले सन्तुष्ट मिलेको छ ।

भारत–मैनाचुली–सिद्दिशाहीले करीव २६ करोडमा २०७५ फागुन ३० गते कालोपत्रे सक्नेगरी २०७२ चैत २ गते पुष्पलाल मध्यपहाडी राजमार्ग योजनासँग सम्झौता गरेको थियो । त्यसपछि पहिलो थप म्याद २०७७ पुष १३ गते, दोश्रो थप म्याद २०७८ असार १३ गते र तेश्रो थप म्याद २०७८ फागुन ३० गते सकिएको थियो । अब, बाह्रौ सार्वजनिक खरीद नियमावली अनुसार २०८० असार मसान्तसम्म सडक कालोपत्रे गर्नुपर्ने म्याद निर्माण व्यवसायीसँग छ ।

खोटाङ र भोजपुर जोड्ने लाइफलाइन सडक अन्तर्गत दिक्तेलबाट चखेवासम्म यसअघि नै कालोपत्रे भईसकेको छ । त्यहाँबाट चखेवाभन्ज्याङसम्म सडक कालोपत्रे नहुंदा बर्खामा यातायात सेवा बन्द हुने गर्छ । असक्त, बिरामीलाई बाहिर जानलाई सडककै कारण सबैभन्दा सकस हुने गर्छ । बिरामीलाई बाहिर लैजानका लागि बर्खामा गाडी हिलोमा फसेपछि मान्छे बोलाएर धकेलेर, तानेर गाडी निकाल्नुपर्ने बाध्यता रहेको बाँझेच्यानडाँडाका स्थानीय मिनाकुमारी राईले बताउनुभयो ।

तस्विर : सेखुवा–चखेवाभञ्ज्याङ सडकको काम गर्दै कामदार

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?