एपिएफ र न्यु डायमण्ड फाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विभागीय टोली एपिएफ र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लव राजधानीमा जार छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा एपिएफले त्रिभुवन आर्मी क्लवलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लवको चुनौति समाप्त गर्दै उपाधि नजिक पुगेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा एपिएफले आर्मीलाई ३-० को सोझो सेटमा हराएको हो । पहिलो सेटमा २५-१७ को जित निकालेको एपिएफले दोस्रो सेटमा आर्मीलाई २५-२१ ले हरायो । तेस्रो तथा अन्तिम सेटमा आर्मीलाई २५-१५ ले हराउँदै एपिएफले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-० कै सोझो सेटमा पाखा लगाएको थियो । एपिएफले लगातार दोस्रो जित निकाल्दा आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । आर्मी पहिलो खेलमा न्यु डायमण्ड स्पोट्र्स क्लबसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो । खेलको प्लेयर अफ दी म्याच एपिएफकी निरुता ठगुन्ना घोषित हुनुभयो । उहाँले १० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । जितसँगै एपिएफले दुई खेलबाट ६ अंक जोडेको छ ।

यता, डायमण्डको जितले एपिएफले पनि एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । पहिलो सेट डायमण्डले २२-२५ ले गुमाउन पुगेको थियो । शुरुवातदेखि नै पछि परेको डायमण्डले पुनरागमन प्रयास गरेपनि जित असफल भएको थियो । तर त्यसपछिका सेटमा भने राम्रो प्रदर्शन गर्दै अगाडि बढेको थियो । दोस्रो सेटमा डायमण्डले २५-१५ को सहज जित निकाल्दै खेल १-१ को बराबरीमा पुगेको थियो । तेस्रो सेटमा १०-१६ ले पछि रहेको डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै २५-२२ को जित निकाल्दा चौथो सेटमा भने शुरुवातदेखि नै अग्रता लिँदै डायमण्डले २५-१९ को सहज जित निकाल्न सफल भयो । डायमण्डकी स्पाइकर प्रतिभा माली प्लेयर अफ दि म्याच घोषित हुनुभयो । जितसँगै डायमण्डको दुई खेलबाट ६ अंक पुगेको छ । पुलिसले दुई खेलबाट अंकको खाता खोल्न सकेको छैन । एपिएफको पनि ६ अंक छ । पुलिस र आर्मीले दुई खेल सकिँदासम्म तालिकामा कुनै अंक जोड्न सकेका छैनन् ।

प्रतियोगितामा चार टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । यस्तै, विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदीयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?