टेलिकमका ग्राहक दुर्ई करोड १३ लाखभन्दा बढी

Read Time = 6 mins

काठमाडौं । नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश गरेको छ । सो अवधिमा कम्पनीमा ग्राहक संख्या दुर्ई करोड १३ लाखभन्दा बढी पुगेका छन् । चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकअनुसार पिएसटिएन सेवातर्फ चार लाख ५५ हजार ग्राहक रहेका छन् भने आर्थिक वर्ष २०७८÷०७९ मा कम्पनीको कुल राजस्व ४४ अर्ब ३७ करोड र खुद नाफा आठ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । फोरजी प्रयोगकर्ताको संख्या एक करोड १५ लाख ५० हजार पुगेको छ । नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ ।

कम्पनीको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताउनुभयो । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी विस्तार गरिरहेको उहाँको भनाइ छ । फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रूपमा इ–सिमकार्डको देशव्यापी वितरण गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । कम्पनीका प्रबन्ध निर्देशक पौडेलका अनुसार मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्रगतिमा अघि बढाएको र सो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किलोमिटर फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ ।

तथापि टेलिकमद्वारा आइतबार आयोजित १९औँ वार्षिकोत्सवमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कम्पनीले अपेक्षाअनुसार काम गर्न नसकेकोे बताउनुभएको छ । टेलिकमले फोरजी सेवा देशका विभिन्न स्थानमा पुगेको दाबी गरे पनि काठमाडौंमै फोरजीको गुणस्तर खस्किएको उहाँको भनाइ थियो ।

साथै कम्पनीले डिजिटल नेपाल निर्माणको प्रोजेक्टलाई जम्मा तीनवटा प्याकेजमा विभाजन गरेको बागमतीकै काम दुर्ई वर्षमा पनि सुरु गर्न नसकेको र ठेकेदारलाई पनि कारबाही गर्न नसकेको अध्यक्ष खनालले बताउनुभयो । सुदूरपश्चिमलगायत देशव्यापीरूपमा नै फाइबर विस्तारको काम बाँकी रहेको भन्दै उहाँले त्यसतर्फ पनि गम्भीर हुन निर्देशन दिनुभयो । कम्पनी तीन वर्ष अवधिमा निरन्तर घाटामा रहेको, अन्य सूचकमा घट्ने कारण नहुँदा पनि नाफा घटेको भन्दै उहाँले नेपाल टेलिकमलाई सेतो हात्ती नबनाउन सचेतसमेत गराउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभयो । प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको माग दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । विगतका सरकारले अघि सारेको घर–घरमा इन्टरनेट र हात–हातमा मोबाइलको महत्वाकांक्षी नाराले सार्थकता पाएको भन्दै उहाँले आगामी दिनमा आफ्नै भू-उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नुपर्ने दायित्वलाई दृष्टिगत गरी सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।

यसैबीच कम्पनीले वार्षिकोत्सवका अवसरमा एनटी एनिभर्सरी नामक अफर ल्याएको छ । अफरअन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनका लागि २० जिबी डाटा, ९८ रुपैयाँमा तीन दिनका लागि छ जिबी डाटा र ४९ रुपैयाँमा एक दिनका लागि एक एमबिपिएस डाटा अन नेट एक सय २० मिनेट कल सुविधा रहेका छन् । त्यस्तै, दुई सयदेखि चार सय ९९ रुपैयाँ रिचार्ज गर्दा दुर्ई जिबी बोनस डाटा, दैनिक एक जिबी प्रयोग गर्न सकिने तथा पाँच सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा दैनिक दुर्ई जिबीका दरले चार दिनसम्म प्रयोग गर्न सकिने अफर रहेका छन् । नयाँ एफटिटिएच जडान गर्ने ग्राहकका लागि १२ हजारमा २० एमबिपिएस डाटा, पाँच लाइन टेलिफोन र एउटा एनटिटिभीसहितको प्याकेज रहेका छन् । अफर फागुन २९ गतेसम्म रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?