दाङ । सोजाक गिम्चि (नमस्ते साथी)
हिमा : नि गिजि न (तपाईंको नाम के हो )
मनबहादुर : चियि गिजि मनबहादुर (मेरो नाम मनबहादुर हो)
हिमा : नि उहि हाप्पे (तपाईंको घर कहाँ हो ?)
मनबहादुर : चियि उहि प्युठान तिराम । (मेरो घर प्युठानको तिराम हो)
हिमा : उहि गा नटि नटि चि (घरमा को को छन् ?)
मनबहादुर : मै यै चि (आमा र बुवा छन्)
यी संवाद घोराही उपमहानगरपालिका-५ धर्ना स्थित महेन्द्र माध्यमिक विद्यालयमा कुसुण्डा भाषा अध्यनरत प्युठान जिल्ला तिराम निवासी हेमा कुसुण्डा र मनबहादुर कुसुण्डाका हुन् । कुसुण्डा भाषा कुसुण्डा जातिको मातृभाषा भए पनि हेमा र मनबहादुरलाई बोल्न आउँदैन थियो । भाषा आयोगले लोपोउन्मुख अवस्थामा पुगेको कुसुण्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई भाषा सिकाउन थालेपछि चार वर्षअघि भाषा सिक्नकै लागि प्युठानबाट दाङ आउनुभएकी हिमा अहिले भाषा बोल्न र लेख्नसँगै आफ्नो मातृभाषामा साहित्य समेत सिर्जना गर्नसक्ने हुनुभएको छ ।
‘आफू कुसुण्डा भए पनि मलाई आफ्नो भाषा आउँदैनथ्यो, त्यसैले आफ्नो भाषा सिक्नुपर्छ भनेर प्युठानबाट भाषा सिक्न दाङ आएकी थिएँ’, उहाँले भन्नुभयो, ‘अहिले आफ्नो भाषामा कुरा गर्नुका साथै कवितासमेत लेख्न सक्ने भएकी छु ।’ आफ्नो पुर्खाले बोल्ने गरेको भाषा सिक्ने र संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नै आपूm भाषा सिक्न लागेको बताउनुहुन्छ । अहिले सामान्य औपचारिक कुरा गर्नदेखि लेखपढ गर्नसक्ने भएको बताउनुभयो ।
‘कुसुण्डा आफ्नो पुर्खाको भाषा भए पनि घरमा कोही नबोल्ने हुँदा मलाई आउँदैनथ्यो’, उहाँले भन्नुभयो, ‘तर दाङमा आएर भाषा सिक्न थालेपछि अहिले बोल्नुका साथै लेख्न जान्ने भएको छु ।’ आफूजस्तै साथीहरूसँग मिलेर भाषा सिक्दा सहज भएको उहाँ बताउनुहुन्छ । ‘भाषा सिक्ने म मात्र छैन, मजस्तै १२ जना सिक्दै आएका छौँ’, हिमाले भन्नुभयो, ‘नयाँ भाषा भएकाले सिक्दा केही समस्या भए पनि रमाइलो लाग्ने गरेको छ ।’ सोही ठाउँ निवासी मनबहादुर कुसुण्डा पनि अहिले महेन्द्र माध्यमिक विद्यालयको होस्टेलमा बसेर कक्षा ११ पढाइसँगै कुसुण्डा भाषा सिक्दै आएका छन् ।
घरमा हुँदा कुसुण्डा भाषा भएको थाहा भए पनि आपूmलाई जानकारी दिनका लागि कोही नहुँदा सिक्नका लागि आएको बताउनुभयो । ‘मलाई भाषा आउँदैनथ्यो तर आफ्नो पुर्खाले बोलेको भाषा सिक्नुपर्छ भन्ने लागेर आएको हुँ’, मनबहादुरले भन्नुभयो, ‘अहिले आफ्नो भाषामा बोलचाल गर्नसक्ने भएको छु, आफ्नो पुर्खाको भाषा सिक्ने सानैदेखिको चाहनाले यहाँसम्म आएको बताउनुहुन्छ ।’ हिमा र मनबहादुर मात्रै होइन भाषा आयोगको सहयोगमा लोपोन्मुख अवस्थामा पुगेको कुसुण्डा भाषा २० जनाले सिक्दै आएका छन् ।
उनीहरूले कुसुण्डा भाषा सिक्नुका साथै सामान्य रूपमा एकअर्कामा कुरा गर्नसक्ने भएको कुसुण्डा भाषाका विज्ञ एवम् अभियानकर्ता उदयराज आलेले बताउनुभयो । नयाँ पुस्ताले सिक्न थालेपछि स्व. ज्ञानीमैया कुसुण्डा र कमला खत्री कुसुण्डामा मात्रै सीमित भएको कुसुण्डा भाषा पुस्तान्तरण हुन थालेको समेत उहाँ बताउनुहुन्छ । उहाँका अनुसार महेन्द्र माध्यमिक विद्यालयमा कुसुण्डा समुदायसँगै गैरकुसुण्डा समुदायका गरी १२ जना र घोराही उपमहानगरपालिका वडा नं. १८ को सुपैलाखुटीमा आठजना महिलाले कुसुण्डा भाषा सिक्दै आएको बताउनुभयो ।
‘सामन्य रूपमा आफ्नो भातृभाषा बोल्न सकून् र भाषाको संरक्षण होस् भन्ने उद्देश्य हो’, अभियान्ता आलेले भन्नुभयो, ‘छोटो अवधिमा राम्रो प्रगति भएको छ । अधिकांश सहभागीले आफ्नो भाषामा बोल्न र लेख्न सक्नुहुन्छ ।’ व्यक्तिगत र भाषा आयोगको सहयोगमा आलेले कुसुण्डा शब्दकोष, कुसण्डा शब्दचित्र, कुसुण्डा पाठ्यक्रम, गेम्याक र सोजक गरी पाँचवटा पुस्तकसमेत लेख्नुभएको छ ।
सरकारले लोप हुन थालेका भाषा संरक्षण, सम्बद्र्धन र विकासका लागि यस प्रकारको कार्य गरिरहेको भाषा आयोगकी उपसचिव कमला भण्डारी पाण्डेले बताउनुभयो । ‘कुसुण्डा भाषा लोपोन्मुख भाषाका रूपमा रहेको छ, यो भाषाको संरक्षण र विकास हुनुपर्छ भनेर हामीले तीन चरणको भाषा कक्षा चलाइसक्यौँ, अब अन्तिम चरणको कक्षा सुरुवात गर्दै छौँ’, उपसचिव पाण्डेले भन्नुभयो, ‘जसले गर्दा नयाँ पुस्ताले भाषा सिक्नका साथै भाषाको संरक्षण सँगसँगै विकास होस् भन्ने हो ।’
यसैबीच, भाषा आयोगको आयोजना तथा नेपाल कुसुण्डा विकास समाज दाङको संयोजनमा भएको कुुसुण्डा भाषा कक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण गोष्ठीमा बोल्ने वक्ताहरूले लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा संरक्षण र विकासका लागि भाषा कक्षा अत्यन्त उपयोगी भएको बताएका छन् । उनीहरूले भाषा आयोगको सहयोगसँगै अभियान्ता उदयराज आलेले गर्दा स्वर्गीय ज्ञानुमैया कुसण्डा र कमला खत्री कुसुण्डा दुई जनामा सीमित रहेको कुसुण्डा भाषा पछिल्लो समय नयाँ पुस्ताले सिक्ने अवसर प्राप्त गरेको बताएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच