राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको एकल उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गर्नुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहनुभएको छ भने खिमलाल देवकोटा समर्थक रहनुभएको छ । राष्ट्रियसभाको उपाध्यक्षमा एकल उम्मेदवारी परेकाले अर्याल सर्वसम्मत देखिनुभएको छ । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अर्यालले पदको जिम्मेवारीअनुसार तटस्थ हिसाबले आफू अघि बढ्ने बताउनुभयो । ‘जहिले जुन पदमा बसिन्छ, तटस्थ हिसाबले नै अब हेर्दै जाऊँ । भन्नुभन्दा पनि के कति गर्न सकिन्छ । यताउता सबै विषयमा मिलाउने र संसद्लाई गरिमामय बनाउनेमा मेरो भूमिका रहन्छ’, अर्यालले भन्नुभयो ।

नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत हुनुभएको होे । नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले उपाध्यक्ष माओवादीलाई दिने विषयमा सहमति भएको बताउनुभयो । अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएको हो । २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएको थियो । अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उम्मेदवार बन्नुभएको थियो । उहाँ अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

संसद्को विपक्षी दल कांग्रेसले उपाध्यक्षका लागि उम्मेदवार बनाउने भन्ने विषयमा धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकले पार्टीबाट राष्ट्रियसभाको उपाध्यक्षमा कसैलाई नउठाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्षमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने भएसँगै कांग्रेसले उक्त पदमा दाबी नगर्ने निर्णय गरेको हो । यसअघि, कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उठाएको थियो भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?