कांग्रेसलाई राष्ट्रिय राजनीतिको मूल धारबाट बाहिर राखे मुलुक निर्दिष्ट बाटोमा अगाडि बढ्दैन : गौतम

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 13 mins

२०२० साल वैशाख १३ गते बर्दियामा जन्मनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम २०३६ सालदेखि नै विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको हो । २०३७ सालमा नेविसंघको सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा लाग्नुभएका गौतम पार्टीको जिल्ला सभापति हुँदै हाल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । सञ्जय गौतम पहिलो संविधानसभा निर्वाचन २०६४ मा माओवादी केन्द्रका विष्णुप्रसाद थारुसँग पराजित हुनुभएको थियो भने दोस्रो सविधानसभा निर्वाचन २०७० सालमा प्रत्यक्ष निर्वाचित, २०७४ सालमा पनि वामदेव गौतमलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित र २०७९ सालको निर्वाचनमा पनि प्रतिनिधिसभामा निर्वाचित गौतम २०७४ सालमा ६ महिना २० दिन सिँचाइमन्त्रीसमेत बन्नुभएको थियो । सञ्जय गौतमसँग हिमालय टाइम्सका संवाददाता दीपककुमार शर्माले समसामयिक विषयमा गरेको कुराकानी ।

देशको पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ ?
देश गम्भीर मोडमा आइसकेको छ । नागरिकले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिकालाई जनचाहनाअनुसार दलहरूले सेवा सुविधा दिन नसक्दा नयाँ पार्टीहरूको उदय भएको छ । माओवादी र नेपाली कांग्रेसको गठबन्धन निरन्तर रहनुपर्ने हो त्यो नहुँदा अहिलेको अवस्था भनेको अस्थिरता छ । गणतन्त्रका लागि लडेका, संघीयताको विरोधी र राजा आऊ भन्ने एजेण्डा बोकेका दलहरूको गठबन्धनको वर्तमान सरकार जनताको हितभन्दा पनि सत्ता जोगाउने एउटा खेलमात्र भएको छ । यसले देशको आर्थिक, सामाजिक हिसाबमा प्रभाव पार्दछ ।

कांग्रेस माओवादीको गठबन्धन टुट्नुको दोषी को ?
हाम्रो चाहना त यो गठबन्धन गर्नुहुँदैन भन्ने लाइन नै थियो तर स्थानीय आवश्यकता र औचित्यका लागि भन्दै गरिएको गठबन्धन धेरै टिक्न सकेन, यसमा नेतृत्वले सोच्नुपर्ने हो, यो ठीक हुँदैन है भनेर हामीले पार्टीका बैठकहरूमा बोल्ने गरेकै हो तर त्यसको सुनुवाइ भएन । अब गठबन्धन नै गरेर अगाडि बढ्ने भनेपछि पार्टी सभापति र माओवादी अध्यक्षको आमनिर्वाचनपछि शक्तिका लागि स्वार्थ बाझिँदा गठबन्धन टुटेको हो । यसमा पार्टी सभापति शेरबहादुर देउवा र प्रचण्डको भूमिका बराबर नै छ । निर्वाचन परिणाम जस्तो आए पनि गठबन्धन कायम राख्नुपर्ने दायित्व नबुझ्दा अहिलेको अवस्था आएको हो । प्रचण्डले सत्ता र शक्तिका लागि आफ्नो मूल्य र मान्यताहरूमा तुरुन्तै युटर्न गरेर अहिलेको गठबन्धन गर्न नहुने हो तर त्यसो भएन । तर, यो सरकारको मूल्यांकन गर्ने बेला भएको त छैन तर गठबन्धनको भविष्य पनि उज्ज्वल देखिँदैन ।

कांग्रेस र माओवादीको गन्तव्य फरक फेरि किन गठबन्धन रहिरहनुपर्ने हो ?
तीन तहको सरकार भए पनि नागरिकले पाउनुपर्ने सेवा सुविधा सहजरूपमा पाउन सकिरहेका छैनन् । कर्मचारीभित्र पनि अराजकता मौलाउँदै गएको छ । भ्रष्टाचार माथिबाट तल्लो निकायसम्म पुगिसकेको छ । व्यथिति व्याप्त छ, यी र यस्ता समस्या समाधान गर्नका लागि मिलेर जाने भनेको हो हामीले नीति निर्माण गर्दा जनपक्षीय बनाएका छौँ तर त्यो कार्यान्वयन हुन सकिरहेको छैन । हिजो संसद् विघटनका विरुद्ध जसरी एक भएका थियौँ भोलिसम्म पनि एक भएर जाऊँ भन्ने हो ।

संसद्मा नेपाली कांग्रेसको भूमिका अब कस्तो रहला ?
हामीले नयाँ सरकार गठनका लागि विश्वासको मत प्रदान ग¥यौँ । यो नै नेपाली कांग्रेसको संसदीय अभ्यासको इतिहासमा सबैभन्दा ठूलो गल्ती हो । यसको कुनै मूल्य भएन तर सरकारलाई विश्वासको मत दिएको भन्दैमा हामी सरकार पक्षका होइनौँ, नेपाली कांग्रेस नयाँ सरकार गठन भएपछि प्रतिपक्ष दल नै हो । संसद्मा नभएको बेला बाहिर खबरदारी गर्ने दल तथा व्यक्तिहरू आज निर्वाचित भएर आउनुभएको छ, अब उहाँहरूले सरकार चलाइरहनु भएको छ । यो सरकार कसरी अगाडि बढ्छ, त्यसैअनुसार हामी योजना बनाएर जाने छौँ ।

लामो इतिहास बोकेको नेपाली कांग्रेसको यो केटाकेटीपन हो वा दम्भ ?
नेपाली कांग्रेस पछिल्लो १४औँ महाधिवेशनपछि पनि उही पुरानै शैलीमा अगाडि बढिरहेको छ । युवा पुस्ताको आवाजलाई पनि सुन्न जरुरी छ । थुप्रै भ्रातृ संगठनहरूको अधिवेशन हुन सकिरहेको छैन । पार्टीभित्र गुटको राजनीतिले आफ्नो जरा फैलाइरहेको छ । पार्टीभित्र नै छलफल हुन सकिरहेको छैन । केन्द्रीय समितिको बैठकसमेत वस्न सकिरहेको छैन । पार्टी विधान र पद्धतिअनुसार चल्न सकिरहेको छैन । कार्यसम्पादनको नाममा केही आसपासका मान्छेलाई राखिएको छ, यसले पार्टीलाई कब्जा गर्ने र आफ्नो पक्षमा पार्नेबाहेक अरू काम हुन सकिरहेको छैन । यसरी पार्र्टी चलाउने हो भने धेरै दिन टिक्दैन । पार्टीको आन्तरिक अवस्था नाजुक बन्दै गइरहेको छ ।

नेतृत्वलाई दोष देखाएर पन्छिने काम हो ?
होइन यो हामीबाट हुँदैन । पार्टीलाई सशक्तरूपमा लैजाऊँ, पार्टीको विधान पद्धतिअनुसार लैजाऊँ पार्टीभित्र थुप्रै काम गर्न बाँकी छन् त्यसलाई सम्पन्न गराऊँ, जिम्मेवारी बाँडफाँट गरौँ, पार्टीका एजेण्डा गाउँघरमा लैजाऊँ भनेको हो । पार्टीभित्र रहेका युवाको आवाजलाई सुनौँ, पार्टीलाई थप अनुशासित बनाऊँ भनेको हो । पार्टी सभापतिले मनन गरेर अगाडि बढे, हामी त छँदैछौँ नि । त्यसकारण पार्टीलाई थप लोकप्रिय बनाउन र जनमानसमा आफ्नो महसुस गराउनका लागि पार्टीको विधानअनुसार चल्नुपर्‍यो नि त ।

राष्ट्रपतिको निर्वाचनको विषयमा कांग्रेसले के सोच बनाइराखेको छ ?
मुलुकमा शक्ति सन्तुलनको दृष्टिकोणले पनि नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिको मूल धारबाट बाहिर राखेर मुलुक निर्दिष्ट बाटोमा अगाडि बढ्ला भन्ने हामीलाई लाग्दैन । राष्ट्रिय सहमतिका लागि भए पनि प्रधानमन्त्रीले सोच्नुहुनेछ र माओवादी पनि यो विषयमा गम्भीर छ तर नेकपा एमाले र माओवादीबीच कस्तो सहमति भएको छ त्यसमा नै भर पर्छ । हिजो केपी ओलीकै विरुद्धमा हामी सँगै थियौँ । आज केपी ओलीले काँधमा राखेर प्रधानमन्त्री बनाइदिनुभएको छ, यो कति टाढासम्म जाला भन्ने हो ।

राष्ट्रिय सहमति भएन भने कांग्रेसले राष्ट्रपतिमा कसलाई अगाडि सार्न सक्छ होला ?
अहिले फलानो नै भनेर भन्न सकिने अवस्था छैन । समय र परिस्थितिले जुन व्यक्तिलाई दिन सकिन्छ ऊ नै राष्ट्रपतिको उम्मेदवार हुने हो । यस विषयमा पार्टीभित्र छलफल भएको छैन तर पनि रामचन्द्र पौडेल, शेरबहादुर देउवा वा कुनै तेस्रो व्यक्ति पनि हुन सक्नुहुनेछ ।

तपाईंको जिल्लाको अवस्था कस्तो छ ?
बर्दिया प्राकृतिक स्रोत साधनका रूपमा धनी जिल्ला हो । यसको पहिचान र उत्थानका लागि पर्यटकीय हबका रूपमा विकास गर्न आवश्यक छ । यसका लागि बर्दिया निकुञ्ज, बबई भ्याली, कृष्णसार संरक्षण क्षेत्रलगायतका स्थानलाई पर्यटकीय क्षेत्र घोषणा भएसँगै आन्तरिक र बाहृय पर्यटकको संख्या बढ्दो छ । यसलाई अझै थप व्यवस्थापन गर्न सकिएको खण्डमा आर्थिकरूपमा स्थानीयवासीहरूले लाभ लिन सक्छन् । यसका लागि प्याकेजका रूपमा काम भइरहेको छ भने बर्दियाको ठूलो समस्या भनेको नदी कटान हो । बर्सेनि आउने बाढीका कारण मानवीय र खेतीयोग्य जमिन कटान हुँदै गरेको अवस्थालाई मध्यनजर गर्दै तटबन्ध निर्माण कार्य जारी छ । साथै खेतीयोग्य जमिनको सदुपयोगका लागि भेरी बबई डाइभर्सनबाट पनि लाभ लिइनेछ ।

२०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरेपछि र २०७९ सालको निर्वाचनमा गौतमकै ज्वाइँलाई पराजित गर्दा फरक के पाउनुभयो ?
यो संयोग परेको रहेछ । २०७४ सालमा वामदेव गौतमसँग निर्वाचन लडेँ भने २०७९ सालमा उहाँकै बैनी ज्वाइँ लक्ष्मण ज्ञवालीसँग निर्वाचन लड्न पुगियो, यो संयोग नै हो । २०७४ सालको निर्वाचन मेरा लागि ठूलो चुनौती थियो । जनलहर विपक्षीतिर हावी भइरहेका बेला निर्वाचन लड्नु मेरा लागि आगामी दिनको योजना थियो । मेरो क्रियाकलाप, मप्रतिको विश्वास र भरोसाकै कारणले मैले निर्वाचन जितेको थिएँ । २०७९ सालमा पनि थुप्रै चुनौती थिए । स्थानीय तहमा माओवादीको अवस्था कमजोर भएको, नयाँ उदाएका दलहरू र विगतमा मैले के गरेँ, के गर्न बाँकी छन्, मैले गरेका कामको कसरी मूल्यांकन भइरहेको छ भन्ने समय भएका कारण २०७९ सालको निर्वाचनमा जित निकाल्न मलाई सहज भयो र फेरि पनि मप्रति गरेको विश्वासलाई थप जिम्मेवारीबोध भएको हुँदा आभारी छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?