राजनीतिमा अध्यात्मको महत्व

Read Time = 16 mins

✍️ इन्द्रबहादुर बराल

सन्दर्भ नेपालको राजनीतिमा अध्यात्मवादको प्रभाव, महत्व र भूमिका । चरम भौतिकवादको समयमा अध्यात्मकताको प्रसंग र चर्चा कमै हुने गर्छ हाम्रो जस्तो समाजमा । अझ एक कदम अगाडि बढेर भन्ने हो भने नेपालमा भर्खरैमात्र माओवादी सशस्त्र युद्ध नामको द्वन्द्वात्मक भौतिकवाद प्रयोग र डोबहरू अझै मेटिएकै छैनन् । यस्तो परिस्थितिमा अध्यात्मवादको बारे चर्चा गर्नु वा बहस चलाउनु झट्ट हेर्दा असान्दर्भिक जस्तो लाग्न सक्छ । यद्यपि भौतिकवादी आँखाले हेर्दा पनि अध्यात्मवादको महत्व, प्रभाव र भूमिकालाई ठाडै नकार्न सकिँदैन । त्यसैले भन्ने गरिथ्यो समाज विकासको आधार कुनै एउटा पक्षलाई (अध्यात्म र भौतिकता) छोडेर वा अलग्याएर अघि बढ्न सकिँदैन । तर, विगत केही वर्षदेखि नेपालको राजनीतिमा द्वन्द्वात्मक भौतिकवादी चिन्तन हाबी हुँदै आएको छ ।

धर्मलाई अफिम भन्ने स्कुलिङबाट आएका कम्युनिष्टहरू नेपालको राजनीतिमा बाहुल्य रहेको अवस्थामा अध्यात्मवाद गौण हुनु स्वाभाविकै हो । हुन त अहिलेको युग विज्ञान तथा प्रविधिको युग भएकोले मानिसहरू हरेक कुरालाई भौतिकवादी दृष्टिबाट हेर्ने क्रम बढ्दो छ । यसले पनि अध्यात्मको आवश्यकता र औचित्य बारे मानिसले खासै चासो राखेको पाइँदैन यदि पाइयो भने अत्यन्तै झिनो स्वरमा । हुन पनि अध्यत्मवादको अभावमा नेपाली समाजमा अझ विशेष गरेर राजनीतिक क्षेत्रमा कुनै महत्व नदिनुले नैतिकताको खडेरी महसुस हुँदै गरेको अवस्था छ । तथापि भौतिकवादी चिन्तनबाट मात्रै समाजलाई अनुशासित, मर्यादित र नैतिकवान बनाउन सकिँदो रहेनछ भन्ने कुरा हाल आएर खड्किरहेकोे छ ।

त्यसैले नेपाली समाज, राजनीतिलाई नैतिकवान, चरित्रवान र जवाफदेही बनाउन कहीँ न कहीँ अध्यात्मवादको अपरिहार्यता देखिन थालेको छ । यो यथार्थतालाई अझै कतिपय नेताहरू जो जिम्मेवारीमा छन्, उनीहरूले भित्री मनबाट स्वीकार गर्न सकेको देखिँदैन । त्यसैले हाम्रो नेपाली समाज र राजनीतिले सदाचारिकताको मार्ग समात्न सकिरहेको छैन । समाजलाई सही बाटोमा डो¥याउन अध्यात्मिकताको आवश्यकता छ । अध्यात्मको अरू धेरै प्रभाव र महत्व नभए पनि मानिसले धर्म, पाप, पुण्य, स्वर्ग र नर्क आदिबाट केही हदसम्म आफूलाई होसियार राखेका हुन्छन् ।

अहिलेको पुस्ता अध्यात्मवादलाई भौतिकवादको कसीमा राखेर परीक्षण गर्न खोज्छन् । हो, त्यस्तो अवस्थामा नेपाली समाज र राजनीतिमा अध्यात्मवाद खरो रूपमा उतार्न सक्नुपर्छ ताकि त्यसको प्रमाणित हुन सकोस् । यसरी अध्यात्मवाद र भौतिकवादको विज्ञानसम्मत व्याख्या विश्लेषण र चिन्तन मनन् हुन जरुरी छ ।

यसर्थ पनि समाज र राजनीतिमा अध्यात्मिकता कहिँ न कहिँ स्थान हुन जरुरी छ । एकल रूपमा भौतिकवादले मात्रै समाज र राजनीतिमा आफ्नो प्रभाव बलियो ढंगले पकड बनाइरहन सक्दैन भन्ने तथ्यहरू व्यक्त-अव्यक्त रूपमा सबैतिर महसुस गरिँदै छ । नेपाली समाजमा अध्यात्मवादले कुनै न कुनै रूपमा जरा गाडेर बसेको छ र त्यसैको प्रभावले समाजलाई झिनो रूपमा भए पनि मानिसलाई मर्यादित, अनुशासित बनाएको हो र बनाउँदै छ भन्न हिच्किचाउनु पर्दैन । बाहिर देखिने गरी भौतिकवादको व्याख्याभित्र नपरे पनि अध्यात्मिकताले आफ्नो काम गरिरहेकोे छ । अध्यात्मिकता भनेकै अदृश्य र अव्यक्त प्रभाव हो जो मानवजातिले कुनै न कुनै ढंगले अनुभूत गरिरहेकै छन् ।

यद्यपि अध्यत्मवादलाई केही पण्डितहरूले आफ्नो पेशा वा कमाइखाने भाँडो बनाउँदा त्यसको नकारात्मक सन्देश पर्न गएको छ । यसर्थ पुराणवादी चिन्तनबाट मुक्त भएर अध्यत्मको पुनरव्याख्या हुन जरुरी छ । अहिलेको पुस्ता अध्यात्मवादलाई भौतिकवादको कसीमा राखेर परीक्षण गर्न खोज्छन् । हो, त्यस्तो अवस्थामा नेपाली समाज र राजनीतिमा अध्यात्मवाद खरो रूपमा उतार्न सक्नुपर्छ ता कि त्यसको प्रभाकारिता प्रमाणित हुन सकोस् । यसरी अध्यात्मवाद र भौतिकवादको विज्ञानसम्मत ब्याख्या विश्लेषण र चिन्तन मनन् हुन जरुरी छ ।

जसले समाज र राजनीतिमा देखापरेको नकारात्मक प्रभावको पटाक्षेप गरोस् । हाम्रो नेपाली समाज र राजनीतिमा बढ्दो उछृंलता, गैरजवाफदेहिता र चरम नैतिकहीनता बढ्दै जानुका पछाडि अन्य धेरै कारण होलान् तर एउटा बलियो कारण र तर्क हो आध्यात्मिकताको अभाव । जब मानिस पाप र धर्मसँग डराउँदैन कानुनको आँखा छले पुगिहाल्छ भन्ने मान्यता राख्न, अनि त्यो समाज र राजनीतिबाट सदाचारिताको आशा गर्नु नै व्यर्थ हुन्छ । त्यसैले आज नेपाली समाज र राजनीतिले आमजनताको भावना र चाहना सम्बोधन गर्न सकेको छैन । जताततै निराशा, अभाव र असन्तुष्टि बढिरहेको छ । राजनीतिमा त झन् व्यापक वितृष्णा देखिने गरी छचल्किरहेकोे छ ।

त्यही वितृष्णा र असन्तुष्टिका कारण गत स्थानीय तथा संघीय निर्वाचनमा अप्रत्याशित परिणामहरू आए । सोच्दै नसोचेका पार्टी र स्वतन्त्र व्यक्तिहरूको अहिले विशेष महत्वका साथ चर्चा गरिँदै छ । काठमाडौंका बालेन साहदेखि धरानका हर्क साङ्पाङ दलहरूको लागि टाउको दुखाइ भएका छन् । यता संघीय संसद्, संघीय तथा प्रदेश सरकारमा समेत नवोदित पार्टी रास्वपा, जनमत, नागरिक मुक्ति आदि नामका दलहरू महत्वपूर्ण कडीको रूपमा स्थापित भएका छन् । यी सबै परिस्थितिमा २०६२/०६३ को दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि प्रश्न खडा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको पूर्णसमर्थन पक्ष र त्यसको विरोधीहरूको गठजोडको प्रचण्ड सरकार कमजोर धरातलमा उभिएको छ ।

यो अस्वभाविक र विपरीत मूल्य र मान्यता राख्नेहरूको गठजोडले अब मुलुकमा थुप्रै प्रेमप्रसाद आचार्य जन्माउने खतरा देखिँदैछ । यसको पछाडि पनि कहिँ न कहिँ अध्यात्मवादको प्रभाव र महत्वको अभावले काम गरिरहेको हुन्छ । यही संविधान २०७२ अन्तरगत चुनाव लड्ने, जित्ने र सरकारमा सामेल हुने अनि त्यही संविधानको बर्खिलाप जान्छु भन्नेहरूको सामु नैतिकताको प्रश्न उठ्नु स्वभाविक हो । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरोधहरूले आज सरकारका महत्वपूर्ण मन्त्रालय सम्हालेका छन् । ल ! अब भनौँ त के यो प्रचण्ड नेतृत्व र ओली बाहुल्य र बलियो पकड भएको सरकारले यो संविधानको रक्षा हुन सक्ला ? जब कि एक थरी संविधानविरोधीको तप्का सरकारमा छन् भने उता संविधान पक्षधर जस्तो देखिए पनि प्रतिगमन ठीक भन्नेहरू कुन नैतिक धरातलमा उभिएर देशको विकास र समृद्धि गर्ने हुन् त्यो त हेर्न बाँकी नै छ र तिनीहरूमा पनि अध्यात्मले छोएको देखिएन । कम्तीमा अध्यात्मवादले त मानिसलाई चरित्रवान, नैतिकवान र बनाउँछ । तर, आज त्यस्तो पनि देखिएन । अहिले यसो हेर्दा कहिलेकाहीँ त दिक्क लाग्छ कि यो सरकारले धेरै प्रेमप्रसाद आचार्यमात्रै जन्माउँछ कि भन्ने चिन्ताले पिरोल्न थालेको छ । देशको कुनै एउटा क्षेत्र छैन जो ढुक्कसँग चलेको होस् ।

उद्योगी, व्यावसायी, कर्मचारी, किसन, मजदुरलगायत सबै क्षेत्र क्षतविक्षत अवस्थामा छन् । दिनदहाडै काठमाडौंको मुटु बानेश्वरमा व्यवसायीले आफ्ना दर्दनाक पीडाहरूको गम्भीर प्रश्न सुसाइड नोटबाट व्यक्त गरेर आत्मदाह गर्नुपर्ने अवस्था आयो । यो अवस्थाको जिम्मेवार यिनै कथित ठूलादलहरूले लिनु पर्दैन ? संविधानले प्रत्याभूत गरेका मौलिक हकको कार्यान्वयनको अभावमा यदि कुनै एउटा नागरिकले आफ्नो ज्यान गुमाउन बाध्य हुनुपर्‍यो भने राज्य त्यसको पूर्णजवाफदेही हुनुपर्छ कि पर्दैन ? यो मामिलामा पनि अध्यात्मको रसले काम गर्नु जरुरी छ । यसर्थ समाजका यावत् कामकारबाही र गतिविधिलाई राजनीतिबाट अलग गर्न सकिँदैन । त्यसैले राजनीति पूर्णतया जवाफदेही र जिम्मेवार हुनै पर्छ, जनताका दैनिकबाट बेखबर हुनुहुँदैन । मानिसको जीवनसँगको खेलबाड गम्भीर र संवेदनशील विषय हो । यो मानवीय संवेदनशीलतालाई पनि अध्यत्मवादको आँखाले हेरिनुपर्छ ।

अध्यात्मवादले समाजका सम्पूर्ण सदस्यलाई जिम्मेवारीबोध गराउन उत्प्रेरित गरेको हुन्छ । त्यसैले पनि अध्यात्ममिकतालाई उपेक्षा गर्न नहुने देखिन्छ । अध्यात्मिकतामा मानवीय संवेदना लुकेको हुन्छ, त्यही लुकेको अध्यात्मिकताले समाजलाई जवाफदेही, अनुशासित, मर्यादित र सदाचारी बनाइराख्न अभिप्रेरित गरिरहेको हुन्छ ।

माथि चर्चा गरिएका सन्दर्भमा राज्य निकै गम्भीर हुनुको विकल्प छैन । यहाँ राज्य भन्ने बित्तिकै सरकार र प्रतिपक्षमात्रै होइन समाजका हरेक जाति, वर्ग, क्षेत्र, लिंग आदि सबैको देश र जनताप्रति जवाफदेहिता हुन्छ । कुनै एउटालाई देखाएर आफू पन्छिन खोज्नु बेइमानी हो । फरक यत्ति हो मात्रात्मक रूपमा केही घटी बढीमात्रै हो । त्यसैले अध्यात्मवादले समाजका सम्पूर्ण सदस्यलाई जिम्मेवारीबोध गराउन उत्प्रेरित गरेको हुन्छ । त्यसैले पनि अध्यात्ममिकतालाई उपेक्षा गर्न नहुने देखिन्छ । अध्यात्मिकतामा मानवीय संवेदना लुकेको हुन्छ र त्यही लुकेको अध्यात्मिकताले समाजलाई जवाफदेही, अनुशासित, मर्यादित र सदाचारी बनाइराख्न अभिप्रेरित गरिरहेको हुन्छ ।

यही मानवीय संवेदनशीलता नै अध्यात्मको एउटा महत्वपूर्ण कडी हो । यो सबै सूक्ष्म विश्लेषणबाट के निष्कर्षमा पुग्न सकिन्छ कि हामीले जतिसुकै भौतिकवादको डंका पिटे पनि अन्ततः अध्यात्मवादलाई छोडेर हिँडदा कुनै तार्कित लक्ष्य हाँसिल गर्न सकिँदैन । मानिसलाई जतिसुकै भौतिक सुखसुविधाले सम्पन्न भए पनि अध्यात्मवाद्को अभावमा त्यो मानिसले आत्मीय आनन्द र सुखशान्ति प्राप्त गर्न सक्दैन । यसकारणले भौतिकवाद र अध्यात्मवाद एउटै रथका दुईवटा पांग्रा हुन् । आधुनिक युगमा यस्ता तथ्य र तर्कले कति काम गर्छ थाहा छैन तर अध्यात्मको प्रभाव, महत्व, आवश्यकता र औचित्य अझै आवश्यक छ । समाज र राजनीतिमा बाहिर नदेखिने पाटोहरूको पनि उत्तिकै महत्वपूर्ण स्थान रहिरहन्छ । हामीले जसरी ईश्वरलाई भौतिक स्वरूपमा भेट्न नसके पनि अध्यात्मवादी भावनात्मक अनुभवमा भेटे जस्तै हो अध्यात्मिकता । त्यसैले यसको महत्व, औचित्य र आवश्यकतालाई नकार्दा समाज उछृंखल, उजण्ड, अमर्यादित र अनुशासनहीनता हुन गई अनेक विडम्बनाबाट तड्पिरहनुपर्ने देखिन्छ । हाम्रा धर्मगुरु, पण्डित र विद्वत वर्गको यस विषयमा विशेष जिम्मेवारी हुन्छ, मुलुकको कुनै नागरिक त्यसबाट भाग्न पाउँदैनन् र मिल्दैन ।

त्यसैले समाज र राज्य जहिले सुकै पनि सुशासन, जवाफदेही, पारदर्शी, सदाचार र इमानदारीमा अडिनु पहिलो कर्तव्य हो । आजको आवश्यकाता भनेकै यिनै कुरा हुन् । यसमा हातले छुन नसकिने, आँखाले देख्न नसकिने अनि स्पर्शबाट अनुभव गर्न नसकिने कुरा अध्यात्मिक ज्ञानबाट प्राप्त हुन्छ । यस कारण समाज र राजनीतिमा आध्यात्मिकताको महत्व, औचित्य र आवश्यकतालाई निरन्तर आत्मसात गर्दै जानु उत्तम मार्ग हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?