बली दिन भारत पुर्‍याइएकी धादिङकी एक बालिकाको उद्दार

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 6 mins

धादिङ । धादिङकी एक १६ बर्षिय बालिकाको उद्दार गरिएको छ । भारतमा लगेर बन्धक बनाईएकी धादिङकी एक बालिकालाई जिल्ला प्रहरी कार्यालय धादिङ, मानव बेचबिखन अनुसन्धान ब्युरो र भारतस्थित नेपाली दुतावास तथा भारतीय प्रहरीको सक्रियतामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । उक्त बालिका आफ्नो मामाघरमा बसेर अध्ययन गर्दै आएको र मंसिर १५ गतेदेखि हराएकोले खोजतलास गरीपाँउ भनी ईलाका प्रहरी कार्यालय सल्यानटार र जिल्ला प्रहरी कार्यालय धादिङमा लिखित निवेदन दिएपश्चात खोजतलास गर्दै जाने क्रममा भारतको नयादिल्लीस्थित मंगलबजार गल्ली नं. २, बापरूल्लाबाट मंगलबार राती उद्वार गरी बिहिबार एयरईण्डियाको जहाजद्वारा नेपाल ल्याइएको हो ।

“बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ”, धादिङका प्रहरी नायव उपरीक्षक खत्रीले भन्नुभयो । उहाँका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो ।

पिडित बालिकालाई मंसिर १५ गते काठमाडौ लैजानु पुर्व बालिकाको उचाई, तौल, छातीको नाप, हातखुट्टा तथा शरीरमा काटेको/पोलेको खत, चोटपटक, ट्याटु नभएको, उचाई पाँच फिट तिन इञ्च पुरा भएको, तौल कम्तीमा ५० केजी र बढीमा ६० केजी भएको, मासिक पिरियड(रजस्वला) भएको भए १५ दिन कटेको हुनु पर्ने एकिन गरी बालिकाको प्रारम्भिक छनौट गरेको खुलेको उहाँको भनाइ छ ।

उहाँले थप्नुभयो,“ प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग माघ २२ गते(फेब्रुअरी ५) मा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुले पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ, दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौँ, दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गर्न सफल भयौँ । ”

पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो । पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल-भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याइएको अनुसन्धानबाट खुलेको खत्रीले बताउनुभयो । भारत पुर्‍याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन ।

ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अहिले प्रहरीले यस घटनामा संलग्न १ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार मुद्दामा धादिङ अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बालिकालाई दिल्ली पुर्याएपछि घटनामा संलग्न ५ जना एक महिना अघिनै नेपाल फर्केको, १ जना महिलाले बालिकालाई साथमा राखेर पुजामा बस्न फरक फरक तीन जना तान्त्रिक बाबा समक्ष लैजाने र मिति लिने गरेको, बाबाजीको पुजामा बसेपछि मागेको जति पैसा प्राप्त गर्न सकिने, सो पैसा पुजा गर्दागर्दै चमत्कार स्वरूप पुजा कक्षमा पैसाको वर्षा हुने र सबै पैसा आफुलाई हुने भनि पिडित बालिकालाई भ्रममा पारिएछ ।’

पुजामा बस्न पठाउने क्रममा चौंथो बाबाजीको लागि आज माघ २२ गते(फेब्रुअरी ५) पूर्णिमाको दिन मिति दिएको भन्ने खुल्न आएको र त्यो मिति अगावै पीडित बालिकाको उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बताउनुभयो । प्रहरीले पीडित बालिकालगायत अन्य महिलाको समेत नापजाँज गरेको फोटो/भिडियो समावेश भएको १ मोवाईल, बाबाजीको पुजामा बसेपछि मागेको जति पैसा प्राप्त गर्न सकिने र सोही नोट आफुलाई पनि प्राप्त हुने भन्ने देखाउन तयार गरिएको भिडियोलगाएत महत्वपुर्ण सबुदहरू बरामद गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?