लुम्बिनी गुरुयोजना पहिलो प्राथमिकतामा : पर्यटनमन्त्री किराती

फाईल तस्बिर

Read Time = 4 mins

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।  मन्त्री भएपश्चात पहिलो पटक विमानस्थल आउनु भएका मन्त्री किरातीले अन्तर्राष्ट्रिय उडानहरु लुम्बिनीमा ल्याउनका निम्ति सरकारको तर्फबाट कुटनीतिक पहल माथिल्लो तहबाट पनि भइरहेको बताउनु भयो ।

‘उच्चस्तरीय वायुसेवा निगमका टोलीहरु पनि कोलम्बोतर्फ यसैका लागि जाँदै छन्, पराराष्ट्र मन्त्रीहरुको तर्फबाट पनि कयौ देशमा उडानको कुरा सुरु गरेका छौँ, राष्ट्रिय ध्वाजाबाहक विमान यहाँ ल्याउने सन्दर्भमा किन आउन खोजेको छैन भनेर बुझने छौँ,’ मन्त्री किरातीले भन्नुभयो, ‘के कारणले नेपाल एयरलाइन्सले यहाँबाट उडान गरेन, त्यो बुझ्छु र आवश्यक काम अगाडि बढाउनेछु ।’

उहाँले प्रधानमन्त्रीको तहबाट अब हुने भारत भ्रमणमा एजेण्डाको रुपमा आइएलएस सञ्चालन र एयर रुटको विषय पर्ने जानकारी दिनुभयो ।

‘विमानस्थल सञ्चालन र सम्बन्धित निकाय र शाखाहरु यहाँ आउनु एक अर्काको अन्तरसम्बन्धसँग जोडिएकोले दुबैलाई एकैसाथ अगाडि बढाउन मन्त्रालयले पहल गर्नेछ,’ उहाँले भन्नुभयो, ‘श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ । मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुनेछ ।’

मन्त्री किरातीले लुम्बिनी गुरुयोजनाभन्दा बाहिर कसैले जाने साहस नगर्न अनुरोध गर्नुभयो । ‘सबैभन्दा पहिला यो गुरुयोजना सम्पन्न गर्नुपरेको छ । तोकिएको समयभन्दा २८ वर्ष किन लम्बियो भन्ने मेरो नै प्रश्न हो,’ उहाँले भन्नुभयो । लुम्बिनी गुरुयोजना पहिलो प्राथमकिता भएको उहाँको भनाइ छ ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा समस्या देखिएको, भारतीय नागरिकलाई नोअब्जेक्सन लेटर दिने व्यवस्था नभएको, मौसमको खराबीमा प्रयोगहुने रेडियो नेभिगेसन प्रणाली (ईन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम– आईएलएस) उपकरण उपयोग नहुँदा अन्तर्राष्ट्रिय उडान रोकिएकोमा ध्यानाकर्षण गराउँदै सञ्चालनका लागि पहल गर्न अनुरोध गर्नुभयो ।

गौतमबुद्ध विमानस्थलबाट जजिरा र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि पछिल्लो केही समय रोकिएको छ ।
-मोहम्मद हबिब

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?