सत्तारुढ गठबन्धनभित्र ठूला घटनाहरु हुने खतरा छ : प्रमुख सचेतक लेखक

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताउनुभएको छ ।

सोमवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरुमा अधैर्यता र विचलन देखिएको बताउनुभएको हो । उहाँले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र बिरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरुप सरकार अहिलेको अवस्थामा आइपुगेको बताउनु भयो ।

उहाँले सत्तारुढ दलका नेताहरु अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिएको बताउनु भयो । सत्तारुढ दलहरु मध्ये नेकपा (एमाले) सबैभन्दा विचलित भएको उहाँको भनाई छ । उहाँले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो सरकार जुन ढंगले अगाडी बढीराखेको छ, अथवा यो सरकार जसरी गठन भएको छ यसको सैद्धान्तिक धरातल नै यति कमजोर र यति बिरोधाभाषपूर्ण छ कि यो धरातलमा हुने कुरा यही हो जे भइरहेको छ । एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । उहाँहरु यति ज्यादा अधैर्य, विचलित भएको जुन देखिएको छ के को लागि हुनुभएको छ भन्ने थाहा छैन । हिजो मैले संसदभित्र जुन रुप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भिर भएको छु । यो सरकारको सैद्धान्तिक धरातल पनि अत्यन्त कमजोर र बिरोधाभाषपूर्ण छ । त्यसैमा के छ त भन्दा प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ नि त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ । यो सरकारको गतिविधिहरु र सत्ता समिकरणमा रहेका संलग्न भएका नेताहरुको अधैर्यता, प्रश्तुति, विचलन जुन देखिएको छ त्यसले के देखिएको छ भने अहिले सरकारमा भएका दलका केही नेताहरु अत्यन्तै आत्तिएका छन् । अत्तालिएका छन् । उहाँहरुको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिराखिएको छ ।’
प्रमुख सचेतक लेखकले काँग्रेसले सत्ता समिकरण परिवर्तन गरेर अर्को समिकरण बनाउन नखोजेको स्पष्ट पार्नुभयो । आफूहरुले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति काँग्रेसकै लागि होला भन्ने आफूहरुको बुझाइ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले सत्ता समिकरण परिवर्तन गर्न खोजेको, अर्को समिकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भिर रुपले गएको छ । त्यो कुरालाई हामीले विशेष ढंगले प्राथमिकताका साथ हेरिराखेका छौँ । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति काँग्रेसकै लागि त होला नि । अरु कसको लागि होला भन्ने हाम्रो बुझाइ हो ।’

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेट भएको थियो । सो भेट लगत्तै सभापति देउवासँग भेट गर्नुभएका प्रमुख सचेतक लेखकले तीन नेताहरुका बीचमा समसामयिक परिस्थितिको बारेमा कुराकानी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीजीले दुवैजना नेताहरुलाई बोलाउनु भयो समसामयिक परिस्थितिको बारेमा कुरा हो । त्यस्तो खासै केही कुरा छैन । नेताहरु भेटघाट भइराख्छ भइरहनु पर्छ । राष्ट्रपतिको निर्वाचन आजको छलफलको विषय होइन । सामान्य समसामयिक विषयमा कुराकानी भएको होला नेताहरुका बीचमा । नेताहरुको बीचमा कुराकानी भयो त्यो आफैँमा राम्रो पक्ष हो ।’

समसामयिक राजनीतिक परिस्थितिको बारेमा कुराकानी भएपनि राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी नभएको उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?