न्यु डायमण्डले एपिएफलाई हरायो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउण्ड रोबिन लिगको अन्तिम खेलमा विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । डायमण्डले एपिएफलाई तीन-एकको सेटमा पराजित गर्दै लिगमा शीर्षस्थानमा रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५-२१ र २५-१९ ले जित्न सफल भयो । तेस्रो सेट डायमण्डले २१-२५ ले गुमाउन पुग्यो । चौथो सेटमा डायमण्ड २५-२१ ले विजयी हुन सफल भयो । डायमण्डकी सलिना बुढा मगर प्लेयर अफ दी म्याच घोषित हुनुभयो । उहाँले १० हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नुभयो ।

डायमण्डले नयाँ खेलाडी जेनिशा विश्वकर्मा र निशा महरलाई मौका प्रदान गर्दा प्रतिभा माली र रिमा कुँवरलाई पहिलो र चौथो सेटमा केही समय खेलाएको थियो । यता, एपिएफले सरस्वती चौधरी, निरुता ठगुन्ना र हिरा केसी र विनिता बुढाथोकीलाई विश्राम दिँदा गरिमा बोहोरा, उषा विष्ट, आरती सुवेदी र जस्ना महतोलाई मौका दिएको थियो ।

यस जितसँगै डायमण्डले तीन खेलबाट नौ अंक बटुल्दै लिगमा शीर्षस्थानमा छ । पराजयका बाबजुद एपिएफ तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहृयो । यी दुई टोलीले मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । विजेताले तीन लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?