अगस्त्यमा नजिर र मलिका

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित हुनुभएको छ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको यो चलचित्रको मुख्य भूमिकाका लागि निर्माण टिमले यी कलाकारसँग सम्झौता गरेको हो । निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै कलाकारमा भित्रिएको जनाकारी दिनुभएको छ ।

दुई च्याप्टरमा निर्माण हुने चलचित्रका लागि केही अगाडि अभिनेता सौगात मल्ल अनुबन्धित हुनुभएको थियो । यी तीनैजना कलाकारले पहिलो पटक एक-अर्कासँग काम गर्न लाग्नुभएको हो । तर, मलिका चलचित्रमा कसको जोडी बनेर देखिनुहुनेछ, त्यो भने खुलाइएको छैन । चलचित्रमा सौगात र नाजिर एक्सन भूमिकामा देखिनुहुने छ ।

चलचित्रको कथा निर्देशक स्वयंको हो । उहाँले दुवै च्याप्टरको कथा तयार पार्नुभएको छ । चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नुहुनेछ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको नेपालमा काठमाडौं, नवलपरासी, भारतको गोरखपुर र बनारसमा छायांकन हुने जनाइएको छ । राजेश श्रेष्ठको छायांकन रहने यो चलचित्रका लागि अन्य कलाकारहरू पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले जानकारी गराउनुभयो ।

चलचित्रमा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहने जनाइएको छ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी वैशाख अन्तिमबाट छायांकन सुरु गर्न लागिएको चलचित्रको शीर्षक हिन्दू धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?