विद्युतीय बस सञ्चालन सम्भाव्यता अध्ययन हुँदै

Read Time = 2 mins

काठमाडौं । लगानी बोर्डले काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न दोस्रोपटक आशयपत्र माग गरेको छ । चक्रपथ विद्युतीय बस र्‍यापिड ट्रान्जिट (इबिआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघिको आशयपत्र रद्द गर्दै दोस्रोपटक आशयपत्र माग गरेको हो ।

लगानी बोर्डले जारी गरेको आशयपत्रसम्बन्धी सूचना सार्वजनिक खरिद निर्देशिकामा भएको व्यवस्थाभन्दा फरक परेपछि रद्द गर्नुपरेको बोर्डका इञ्जिनियर निशा त्रिपाठीले बताउनुभएको छ । विद्युतीय माध्यमबाट आशयपत्र माग भएकाले प्रस्ताव पनि विद्युतीय माध्यमबाटै आउनुपर्ने भन्दै अघिल्लो प्रस्ताव रद्द गरेर नयाँ आहृवान गरिएको उहाँको भनाइ छ । बोर्डको कार्यालयले उपलब्ध गराएको आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथको २७.३ किलोमिटरमा विद्युतीय बस सञ्चालनका लागि छुट्टै लेन बनाउने र आवश्यक पूर्वाधार तयार पार्न १८ महिनाभित्रमा सम्भाव्यता अध्ययन सकिसक्नुपर्नेछ । आयोजनाका लागि सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडलमा लगानी जुटाएर निर्माण सञ्चालन र हस्तान्तरण ढाँचा (बुट मोडल) मा अघि बढाउने बोर्डले जनाएको छ ।

चक्रपथमा ७० देखि ७५ वटासम्म विद्युतीय बस सञ्चालन गर्न साढे सातदेखि आठ मिटरसम्म चौडाइका दुर्ईवटा डेडिकेटेड लेन बनाउन सम्भाव्यता अध्ययन गरिनेछ । त्यसैगरी विद्युतीय बस सञ्चालनलाई २६ देखि ३० वटासम्म बस टर्मिनल, ३० वटा चार्जिङ स्टेसनलगायत अन्य पूर्वाधार बनाउन अध्ययन गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?