गुटबन्दी र स्वार्थको सिकार बनेको नेविसंघ

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन नभएको ६ वर्ष बढी भयो । २०७३ पछि नेविसंघको महाधिवेशन हुन सकेको छैन । नौ वर्षको अन्तरालमा २०७३ सालमा सम्पन्न ११औँ महाधिवेशनबाट नैनसिंह महर अध्यक्ष बन्नुभएको थियो । महर नेतृत्वको केन्द्रीय समिति निर्वाचित भएपश्चात् न त नेविसंघको महाधिवेशन भएको छ न केन्द्रीय समितिले नै पूर्णता पाएको छ । गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ माउ पार्टी नेपाली कांग्रेसजस्तै गुटगत समूहको दलदलमा फसेको छ । २०७३ मा निर्वाचित कार्यसमितिले १२औँ महाधिवेशन गराउन सकेन र नेतृत्व हस्तान्तरण पनि भएन । विधानअनुसार महाधिवेशन हुन नसकेपछि पार्टीले पटक–पटक गरी पाँच महिना म्याद थपिदिएर कार्यकाल लम्ब्यायो । त्यसपछि पनि महाधिवेशन हुन सकेन ।

नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था छ । महरले साढे दुई वर्ष नेविसंघको नेतृत्व गर्नुभयो । नियमित अधिवेशन गराउन नसकेपछि महरले राजीनामा दिनुभयो । महरको राजीनामापछि २०७६ माघमा कांग्रेसले नेविसंघको कार्यसमिति भंग गर्दै राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति बनाएको थियो । समितिलाई ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिइएको थियो । तर, ढुंगाना नेतृत्वको समितिको ६ महिनाभित्र मात्रै होइन तीनपटक थपिएको समयमाा पनि महाधिवेशन गराउन सकेन । अन्ततः ढुंगाना नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भंग गरियो । त्यसपछि २०७८ चैत्रमा दुजाङ शेर्पालाई अध्यक्ष मनोनीत गरिएको छ । शेर्पा नेतृत्वको अपूर्ण समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने जिम्मेवारी छ । तीनै तहको निर्वाचन सकिएको दुई महिना बित्नै लाग्यो तर, महाधिवेशन हुने छाँटकाँट छैन । अहिलेसम्म केन्द्रीय समितिले समेत पूर्णता पाउन सकेको छैन । मनोनीत सदस्यमा समेत विवाद छ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति तोकिसकोले फेरि पनि तोकिएकै समयमा महाधिवेशन नहुने लगभग निश्चित छ । गुटगत समूहमा विभाजित नेविसंघका नेताहरू भने एक आपसमा आरोप-प्रत्यारोप गरिरहेका छन् । संस्थापनइतर समूहनिकट विद्यार्थीहरूले नेविसंघको नेतृत्वले एकपक्षीय रूपमा जिल्ला कार्यसमिति गठन गरेको भन्दै आपत्ति जनाइरहेको छ । अध्यक्ष दुजाङ शेर्पाले एकपक्षीय जिल्ला कार्यसमिति बनाइरहेको भन्दै इतर समूहले आपत्ति जनाइरहेको छ । उनीहरूले नेविसंघलाई पूर्णता दिन माग गरिरहेका छन् । संस्थापन र इतर समूहका नाममा दुवै समूहले कतिपय ठाउँमा समानान्तर गतिविधि गरिहेका छन् । यसले महाधिवेशन नहुनेमा थप शंका उत्पन्न गरेको छ ।

नेपाल कमर्श क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
कांग्रेसनिकट नेविसंघका दुई समूहबीच झडप भएको छ । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा सोमबार नेविसंघका दुई समूहबीच झडप भएको हो । संस्थापनतइतर समूहका विद्यार्थीले गरेको कार्यक्रममा संस्थापन पक्षका विद्यार्थी आएर अवरोध गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । विवादले उग्र रूप लिएपछि दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको थियो । स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया गरिरहँदा संस्थापन समूहका विद्यार्थीले गुण्डागर्दी शैलीमा आएर कार्यक्रम भाँडेको इतर समूहका विद्यार्थीले आरोप लगाएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दुई पक्षबीच ढुंगा हानाहान हुँदा केही विद्यार्थी सामान्य घाइते भएका छन् । नेविसंघ इकाइ समितिले स्ववियु निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो । इतर समूहले नेविसंघको वैधानिक पूर्णताको मागसहित स्ववियु निर्वाचनको तयारी र संगठनभित्रको एकाधिकारविरुद्ध खबरदारी भेला भन्दै समानान्तर गतिविधि गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?