✍️ चन्द्रमणि गौतम
आगामी फागुन २५ गते गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन मिति सरकारले घोषणा गरेपछि त्यसका लागि अब एक महिनामात्र बाँकी छ । तर नागरिक समाजमा हालसम्म उचित चासो, कौतुहलता, संवेदनशीलता, पात्रको अनुमान र चर्चा जस्ता वाञ्छित गतिविधि नभएकाले उत्साहपूर्ण वातावरण देखिँदैन । नयाँ राष्ट्रपति चयनको विषयमा देशव्यापी विचारोत्तेजक बहस भइरहेको हुनुपथ्र्यो । पात्रका विशेषता र विलक्षणताहरूबारे जनता सुसूचित हुनुपर्ने हो । गणतन्त्रको सर्वोच्च संस्था, राष्ट्रको शान तथा गौरव, सिंगो राष्ट्र नतमस्तक भएर मान्नुपर्ने त्यो गरिमामय र सर्वमान्य ओहोदाको लागि पार्टीहरूले जनसाधारणलाई उपयुक्त नाम सुझाउने आहृवानसमेत गरेनन्, न त जनस्तरबाट वैचारिक दबाब नै सिर्जना हुनसक्यो ।
हास्य कलाकार हरिवंश आचार्यले जनस्तरबाट प्रख्यात नेत्रचिकित्सक सन्दुक रुइतलाई राष्ट्रपतिको लागि प्रस्तावित गरेको बाहेक अन्य पात्रको बारेमा चर्चा प्रायः सुनिन्न । राष्ट्रको बेदाग र उच्च व्यक्तित्वको चयनतिर भन्दा सत्ता हडप्ने खेलको क्रममा नेता व्यवस्थापन गर्ने ओहोदाको रूपमा पार्टीका शीर्ष नेताहरूले लिएका छन् । पार्टीहरूभित्र सम्मानित र सुयोग्य पात्रको चयन उच्च राजनीतिक संस्कारका साथ गर्ने जिम्मेवारी र इच्छा नदेखिनु, खेद्जनक कुरा हो । उनीहरूका आ-आफ्नै निहित स्वार्थ र दाउको होडबाजीका सल्बलाहट मात्र देखिन्छ ।
संविधानको भावनालाई तिलाञ्जलि दिएर अक्षरले औंल्याएको प्राविधिक प्रक्रियाका साथ भर्ती गरियो भने पनि कोही राष्ट्रपति होलान् । कुत्सित राजनीतिक मानसिकता र निहित स्वार्थका बीच चयन गरिएको पात्र मुलुकले चाहेको राष्ट्रपति किमार्थ हुन सक्दैनन् । कार्यकारी राष्ट्रपतिको वकालत गर्दै हिँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकार नभएको संवैधानिक राष्ट्रपति निर्वाचनमा त यस्तो मनोवृत्ति देखाइरहेका छन् भने कार्यकारी राष्ट्रपतिका लागि उनमा उत्कृष्ट मानसिकता कहाँबाट विकसित हुने अपेक्षा गरियोस् ?
राष्ट्रपति निर्वाचनका लागि विगतमा जेजस्ता प्रक्रिया अपनाइयो, जनताले सो प्रक्रियालाई रुचाउन वा पचाउन सकेका थिएनन्, फोहोरी राजनीतिको अनुहारका रूपमा चिने । १५ वर्षको बीचमा दुईजना राष्ट्रपतिको निर्वाचन भइसकेको नेपालमा ती दुवैको उम्मेदवारी चयनमा शीर्ष नेताहरूबाट निःस्वार्थ र भद्र तौरतरिका प्रदर्शित भएन । छलकपट, दूषित होडबाजी, निहित स्वार्थ, दम्भ र अम्लीय विवादका बीच राष्ट्रपति निर्वाचित गर्ने प्रविधि पूरा गरियो ।
१५ वर्षको बीचमा दुईजना राष्ट्रपतिको निर्वाचन भइसकेको नेपालमा ती दुवैको उम्मेदवारी चयनमा शीर्ष नेताहरूबाट निःस्वार्थ र भद्र तौरतरिका प्रदर्शित भएन । छलकपट, दूषित होडबाजी, निहित स्वार्थ, दम्भ र अम्लीय विवादका बीच राष्ट्रपति निर्वाचित गर्ने प्रविधि पूरा गरियो ।
प्रथम राष्ट्रपतिका लागि संविधानसभाको निर्वाचनभन्दा अगाडिसम्म माओवादीले गिरिजाप्रसाद कोइरालालाई विश्वस्त बनाएको थियो । तर, संविधानसभाको निर्वाचन परिणामले हौसिएको माओवादीमा सुषुप्त रहेको आपराधिक मनोवृत्ति बेइमानीको रूपमा प्रकट भइहाल्यो र उसले कोइरालालाई गम्भीर धोका दिँदै २०४२ सालको बमकाण्डका सूत्रधार रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनायो । तर, माओवादीको उक्त बेइमानी डा.रामवरण यादवको सानदार विजयसँगै पराजित भयो । उहाँकै पालामा संविधानसभाबाट राष्ट्रले संविधान पायो । प्रधानसेनापति रूक्माङ्गद कटवाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अवकाश दिए पनि पुनर्वहाली गरेको बाहेक उहाँ खासै विवादमा मुछिनु भएन ।
दोस्रो राष्ट्रपति विद्या भण्डारीको चयनमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले सबैलाई पन्छाएर ‘आफ्नो खास मान्छे’ भर्ती गर्ने बाटो लिएदेखि नै दुष्परिणामका खेदजनक शृंखला उत्पन्न भयो । ओली सरकारलाई अन्धभक्तिका साथ समर्थन गर्दै संविधानमा व्यवस्था नै नभएको वास्तविकतालाई लत्याएर दुई-दुई पटक प्रतिनिधिसभा विघटन गर्नु, कतिपय विवादास्पद अध्यादेशलाई रबरस्टाम्प जस्तो भएर मध्यरातमा पनि स्वीकृति दिनु, असंवैधानिक बाटोमा गएर कार्यकारी राष्ट्रपतिको हैसियत देखाउँदै चिनियाँ राष्ट्रपति सी चिन फिङ्को नेपाल भ्रमणका बेला उहाँसँग टिमसहित कार्यकारी वार्तामा सरिक हुनुजस्ता धेरै सन्दर्भमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिको गरिमा र सर्वमान्य स्थानलाई विवादमा पार्नुका साथै आफू पनि विवादमा पर्ने काम गर्नुभयो ।
कान्ति अस्पताललाई महाराजगञ्जबाट उठाएर त्यस ठाउँमा राष्ट्रपतिका लागि हेलिप्याड बनाउन तत्कालीन सरकार लागिसकेको थाहा पाएका जनसाधारणबाट व्यापक दबाब आएपछिमात्र सरकार आफ्नो अठोटबाट पछाडि हटेको हो । राष्ट्रपतिका गतिविधिलाई लिएर जनस्तरमा अनेकौं अप्रिय र आपत्तिजनक चर्चा व्यापक भएपछि तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले एकदिन सार्वजनिक रूपमै धम्कीको शैलीमा राष्ट्रपतिको सम्मान गर्न आहृवान गरे । जवाफमा जनस्तरबाट प्रतिक्रिया आयो, ‘कस्तो राष्ट्रपति चुनेछन् मान–सम्मानसमेत अर्कैले मागिदिनु पर्ने.....!’
छिमेकी तथा अन्य मुलुकमा राष्ट्रपतिको निर्वाचन उच्च राजनीतिक संस्कार, भद्र राष्ट्रिय सहमति र सभ्य राष्ट्रिय भावनाका साथ हुने गर्दछ । तथापि सबै राष्ट्रपतिहरू समान योग्य, प्रभावशाली र योगदानदायी बन्न सक्दैनन् । भारतमा प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद (सन् १८८४-१९६३) का साथै के.आर. नारायणन् (सन् १९२०-२००५), ए.पी.जे.अब्दुल कलाम (सन् १९३१-२०१५) लाई सबभन्दा प्रभावशाली तथा सफल राष्ट्रपति मानिन्छ । अर्कातिर श्रीमती प्रतिभा पाटिल (१९३४-) लाई अयोग्य राष्ट्रपतिको रूपमा मूल्यांकन गर्दछन् भारतीय इतिहासकार, अनुसन्धाता र लेखकहरू ।
मृत्युदण्ड दिन अदालती फैसला दिइसकेका ३५ जघन्य अपराधीको सजाय आजीवन कारावासमा परिवर्तन गरेको लगायत महँगो विदेश भ्रमण र व्यक्तिगत सुविधाका लागि राष्ट्रपति पदको प्रभाव लगाएको जस्ता विवाद पाटिलको बारेमा औंल्याइन्छ । ‘इन्दिराजी भारतकी देवी हुनुहुन्छ, उहाँले आदेश दिनुभयो भने म कुचो लिएर सडक बडार्न पनि तयार छु’ भनेका राष्ट्रपति ज्ञानी जैल सिंहलाई पनि हुलाकको गोपनीयतासम्बन्धी विधेयकलगायत खालिस्तानका नायक भिन्द्राँवालेलाई उकासेको जस्ता विवादमा मुछेका छन् भारतीय लेखकहरूले ।
उत्तरी छिमेकी चीनमा पनि सफल वा असफल, प्रभावशाली वा कमजोर, सर्वमान्य वा विवादास्पद राष्ट्रपतिको रूपमा मूल्यांकन हुनेगर्छ । माओ त्से-तुङ् (१८२६-१९७६) राष्ट्राध्यक्ष, सर्वोच्च नेता र कम्युनिस्ट पार्टीको अध्यक्ष भए पनि संविधानतः राष्ट्रपतिकै रूपमा थिएनन । सन् यात सेन (१८६६-१९२५) लाई कार्यवाहकको हैसियतमा भए पनि सफल राष्ट्रपति मानिन्छ भने जियाङ् जेमिन (१९२६-२०२२)लाई सबभन्दा शिक्षित, तीक्ष्ण दिमागको व्यक्तित्वका रूपमा चिनिन्छ ।
तर सबभन्दा कमजोर राष्ट्रपति हु जिन्ताओ (१९४२) नै रहे, जसको पालामा चीनले उल्लेखनीय उपलब्धि हासिल गरेको देखिएन । बहालवाला राष्ट्रपति सी चिन फिङ् (१९५५) खासै उच्चशिक्षा पाएर नभई संघर्ष, लगन, मिहिनेत र गतिशीलताले प्रभावशाली र सफल बनाएको हो । आज चीनले आफ्नो संविधानमा ‘माओ विचारधारा’को उल्लेखपछि पहिलोपटक ‘सी विचारधारा’लाई सजाएको छ ।
अमेरिकामा अब्राहम लिङ्कन (१८०९-१८६५)लाई आजसम्मका सबभन्दा प्रभावशाली र सम्मानित राष्ट्रपति मानिन्छ । प्रभावको क्रममा त्यसपछि आउँछन् पहिलो विश्वयुद्ध पछिको महामन्दीबाट अमेरिकालाई मुक्त गरेका फ्रान्कलिन डेलानो रुजेवेल्ट, अमेरिका स्थापनाका पहिलो राष्ट्रपति जर्ज वासिंटन हुँदै पछिल्लो युगमा जोहन एफ. केनेडी तथा बराक ओबामासम्म । तर महाअभियोग लगाइएका एन्ङ्य्रु ज्याक्सनबाहेक लिङ्कनका पूर्ववर्ती जेम्स् बुकानन् र वारेन हार्डिङ्लाई सबभन्दा खराब राष्ट्रपतिको रूपमा मूल्यांकन गरिन्छ ।
पछिल्लो कालखण्डमा रिचार्ड निक्सन, बिल क्लिन्टन र डोनाल्ड ट्रम्प पनि महाअभियोग लगाउने अवस्थामा पुगेका राष्ट्रपति थिए । तर, अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाई जितेर राष्ट्रले प्रतिष्ठा कमाउने होइन, भएको प्रतिष्ठा गुम्ने र विश्वमा अमेरिकाको नूर गिर्ने नौवत आउँछ भन्ने सुझबुझ अपनाएर उनीहरूलाई इज्जतपूर्वक पदबाट बिदाइ गरियो ।
राष्ट्रपति, कसैको पालो पुर्याउने, कसैलाई भर्ती गर्ने, राजनीतिक लुछाँचुँडी वा खेलबाड बनाउने ओहोदा होइन । राष्ट्रपतिको उम्मेदवार चयनमा पनि नेताहरूले निःस्वार्थ भाव नलिएर हानथाप र निहित स्वार्थ प्रदर्शित गर्दैरहे भने गणतन्त्रको औचित्य र महत्व उपर नै प्रश्न वा विवाद उत्पन्न हुन्छ ।
नेपालमा अबको राष्ट्रपति को हुने ? पार्टीका नेताहरू यो सवाल बोकेर आआफ्नै कसरतमा मग्न छन् । नागरिक तहको छिपछिपे चेतनामा को राष्ट्रपति होइन, कस्तो राष्ट्रपति भन्ने सवाल महत्वपूर्ण छ । नेताहरूलाई आफू अनुकूलको व्यक्ति राष्ट्रपतिको रूपमा भए पुगेको छ । यसबारे जनस्तरमा देखिएको उदासिनताप्रति नेताहरूले जिम्मेवारीपूर्ण गम्भीरता देखाउनु अनिवार्य थियो । तर राष्ट्रपति चयन प्रक्रियामै चुकिसकेपछि त्यस्तो राष्ट्रपतिबाट मुलुकले वाञ्छित गतिविधि नपाउनु स्वतः बुझ्न सकिन्छ । नयाँ राष्ट्रपति निर्वाचनको अवधि भनेको बहालवाला राष्ट्रपतिको समीक्षा वा मूल्यांकन गर्ने वा स्वतन्त्र इतिहास लेख्ने समय पनि हुनेगर्छ ।
राष्ट्रपति, कसैको पालो पुर्याउने, कसैलाई भर्ती गर्ने, राजनीतिक लुछाँचुँडी वा खेलबाड बनाउने ओहोदा होइन । राष्ट्रपतिको उम्मेदवार चयनमा पनि नेताहरूले निःस्वार्थ भाव नलिएर हानथाप, निहित स्वार्थ प्रदर्शित गर्दैरहे भने गणतन्त्रको औचित्य र महत्व उपर नै प्रश्न वा विवाद उत्पन्न हुन्छ । राजनीतिमा विवाद र कदाचित बदनामी बोकेका दोहोरो चरित्र भएका पात्र राष्ट्रपति हुन त के, उम्मेदवारमात्र बन्न पनि योग्य मानिन्न ।
कस्तो राष्ट्रपति देशलाई चाहिएको हो, यसबारे जनस्तरमा निर्णायक दबाबसहितको बहस भएको भए त्यसले गति र निर्णय लिन सक्दथ्यो । असन्तुष्टिमात्र देखाउने तार्किक आवाज बनाउन नसक्ने जनता भएपछि यो मामिला पनि नेताहरूको मनमौजीको विषय बनेको छ । राष्ट्रपति चयनको विषयमा नागरिक चासो र निगरानी बढाउनुपर्ने जरूरी भएको छ । cmgktm@gmail.com
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको