‘न्युनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न एकीकृत रुप दिइयो’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिएको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रपिरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरीय बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरुले बनाएको कार्ययोजनालाई एकीकृत रुप दिएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरुलाई आफ्नो आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्युनतम साझा कार्यक्रमलाई कार्यान्वन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन बमोजिम सबै मन्त्रालयहरुले आफ्नो आफ्नो कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एकीकृत रुप दिएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत बताउनु भयो । उहाँले एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरु रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले न्युनतम साझा कार्यक्रम जुन प्रश्तुत गरेको थियो, त्यसमा प्रतिवद्धता गरिएका विषयवस्तुहरु जुन छ, त्यसलाई कसरी कार्यान्वयनमा लैजाने, कार्यान्वयनमा लैजानका लागि त्यसमा त अब नतिजा दिइएको छ, कार्यान्व्यन गरेर मात्रै नतिजा आउने हो, त्यो कार्यक्रमहरु के हुन सक्छन् र कसरी नतिजा दिने भन्ने विषयमा कार्ययोजना बनाउन लगाइएको थियो, त्यो सबै मन्त्रालयले बनाएर पठाउनुभएको थियो, मन्त्रालय मन्त्रालय स्तरको कार्ययोजनालाई एक ठाउँमा एकीकृत रुप दिइएको हो । प्रधानमन्त्री कार्यालयले आज त्यसलाई एकीकृत रुप दिएर सबै मन्त्रालयलाई बोलाएर हाम्रो एकीकृत कार्ययोजना यो छ भनिएको हो । त्यसमा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरु छन्, जुन एउटा मन्त्रालयले मात्रै गरेर नहुने, त्यसमा साझा बुझाई आओस् भन्ने हो । हाम्रो डेलिभरी समग्र प्रक्रिया नै अलिकति झन्झटिलो छ । झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यो सुधार गर्नुपर्छ भन्नेकुरा भएको छ ।’

मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?