दाङ बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा एक विद्यार्थी बराबर एक शिक्षक, राज्यको लगानी व्यर्थ बन्दै

विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । दशक अघि मात्रै मध्यपश्चिमको सुर्खेत र सुदूरपश्चिमको महेन्द्रनगरमा खोलिएका विश्वविद्यालयहरूको अवस्था कहाँ पुगिसक्यो तर दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयको अहिले यस्तो अवस्थामा छ कि बिएएमएस बाहेक करिब–करिब एक विद्यार्थी बराबर एक शिक्षक ।

स्थानीयबासीलाई कुनै चासो नहुनु तथा पदाधिकारीहरू पारिश्रमिक सहित सेवासुविधा मात्रै बुझ्न आएका पाहुनाको भूमिकामा रहँदा नेपाल संस्कृत विश्वविद्यालयमा राज्यले गरेको लगानी व्यर्थ हुँदै गएकाे छ । ढाकछोप नगरी भन्नुपर्दा नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयलाई वार्षिक करिब एक अर्बभन्दा बढी रूपैयाँ लगानी गर्दै आएको छ । यो लगानीले विश्वविद्यालयले मुस्किलले दशजना दक्ष आचार्य समेत उत्पादन गर्न सकिरहेको छैन ।

यसलाई नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति प्राध्यापक यादव लामिछानेले डाइनोसरको गति भन्नुभएको छ । ‘यो भन्दा पछि स्थापना भएका अन्य विश्वविद्यालयहरूले कति फड्को मारिसके तर दशकौँ लामो इतिहास बोकेको नेपाल संस्कृत विश्वविद्यालय भने अहिले डाइनोसरको गतिमा छ’, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा‍‍.डा. लामिछानेले भन्नुभयो ।

डाइनोसर जसरी लोप भएको थियो, यही अवस्था रहे कुनैबेला नेपाल संस्कृत विश्वविद्यालय पनि लोप भएर जानेछ, यसलाई बचाउन स्थानीयको चासो र पदाधिकारीको दायित्व बराबरी हुनुपर्ने प्रा.डा. लामिछानेको भनाइ छ ।

‘शिक्षक पढाउँदैनन्, कर्मचारी काम गर्दैनन्, पदाधिकारी मात्रै तात्तिएर के हुन्छ?’, लामिछानेको प्रश्न थियो, यथावस्थामा विद्यालय चलिरहने मैले सम्भावना देखेको छैन, मैले यो कुरा माथिल्लो निकायमा पनि स्पष्ट रूपमा भनिरहेको छु । पटक–पटक तालाबन्दी हुने, खोलिएका विज्ञापन रद्द हुने, स्थानीय सरकारले चासो नदिने प्रवृत्तिले विश्वविद्यालय तहसनहस भएको उहाँको अभिव्यक्ति छ ।

‘सबैभन्दा पहिले त विश्वविद्यालयलाई सुधार्नका लागि स्थानीयबासीको साझा चासो हुनुपर्दछ तर स्थानीय सरकारका प्रतिनिधि विश्वविद्यालयमा छिरेको मलाई थाहा छैन’, गुनासो सुनाउँदै उपकुलपतिले भन्नुभयो । तालाबन्दी किन हुन्छ आफूले बुझ्न नसकेको पनि उहाँको भनाइ छ । ‘म धनकुटाको मान्छे, कसको मनमा के छ ? कसको स्वार्थ के छ ? भनेर सबैका घरघरमा छिर्न त सक्दिन नी, स्थानीयबासीले विश्वविद्यालयको उन्नतिमा चासो दिनुपर्ने होइन र ?’ उहाँले भन्नुभयो । पछिल्लो व्याचमा विएएमएसका ३८ जना विद्यार्थीमा ४/५ जना बाहेक सबै महिला छन् । महिला छात्राबासको व्यवस्थापन गरौँभन्दा कसैको चासो छैन । जग्गा अतिक्रमण पदाधिकारीले मात्रै हटाउन सक्ने होइन, सयौँ विगाह जग्गा अतिक्रमणमा छन् । अतिक्रमण अझै दिन प्रतिदिन भइरहेको छ तर यो विषयमा दाङको स्थानीय सरकारले एक शब्द आवाज उठाएको छैन । दाङका राजनीतिक दलहरूले एक शब्द आवाज उठाएका छैनन् । दाङको प्रशासनले एक नजर त्यता लगाउनसकेको छैन । पदाधिकारी मात्रै गाडीमा गएर अतिक्रमण गरी बनाइएका पक्की घरमा डोजर लगाउन सक्लान् ? यादवको प्रतिप्रश्न थियो, स्थानीय चासो खोइ त ?

लामिछानेकाअनुसार अघिल्लो पुस्ताका खारिएका प्राध्यापकहरू थिए तर अहिले उत्पादन भएका प्राध्यापकमा प्राध्यापन गर्ने क्षमता अत्यन्तै न्यून छ । अहिलेको पुस्तामा ज्ञानको होइन राजनीतिको रँग लाग्दा बिग्रिँदै गएको छ । यो रँगले प्राध्यापकको प्राज्ञिक मर्यादा भुलाएको छ तर यो प्रवृत्तिलाई निमिट्यान्न पार्न उनीहरूलाई जागिरबाट निकाल्न पाउने कसैको अधिकार छैन । हाजिर गरेर गए पनि वा नआए पनि सरकारी सुविधा उनीहरूले ढुक्क पाउने अवस्था छ । कति दिन कति वर्षसम्म चल्ला यस्तो प्रवृत्ति ? यो सबैको साझा बहसको विषय किन बन्दैन ? उपकुलपति एक तमास विश्वविद्यालयका विसंगतिका विषयमा बोलिरहे ।

विश्वविद्यालयमा सक्षम कर्मचारी राख्न खोज्दा तालाबन्दी भयो । यहाँका नागरिकले माना काटेर जग्गा दिएर स्थापना गरेको विश्वविद्यालयमा तालाबन्दी हुँदा स्थानीय सरकार तथा नागरिकले ताला खुलाउन कुनै चासो दिएनन् । स्थापना गर्दा जसरी जुन सक्रियता थियो यसरी नै अहिले विश्वविद्याल सञ्चालनका लागि पनि सक्रिय भएर साथ दिएमा मात्रै पदाधिकारीले पनि उत्साहका साथ काम गर्न बाध्य हुने पनि उनको अभिव्यक्ति थियो ।

फागुनमा सिनेट, बैशाखमा दीक्षान्त

यसैबीच उपकुलपति लामिछानेले नेपाल संस्कृत विश्वविद्यालयको यो वर्षको विश्वविद्यालय सिनेटसभा फागुन महिनाको १२ गते काठमाडौंमा हुने वताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विषम राजनीतिक परिस्थितिका कारण केन्द्रीय कार्यालय रहेको बेलझुण्डीमा पुग्न नसक्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटारमै सिनेटसभाको स्वीकृति दिएको विश्वविद्यालयका उपकुलपति प्राडा यादव लामिछानेले बताउनुभयो । सिनेटसभाको सम्पूर्ण तयारी भइरहेको पनि उपकुलपति लामिछानेले बताउनुभयो ।

यसैगरी वर्षौँदेखि रोकिएको नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह पनि आगामी बैशाख महिनाभित्र सम्पन्न गर्ने तयारी भइरहेको पनि उपकुलपति लामिछानेले बताउनुभएको छ । त्यसका लागि सर्टिफिकेट र आवश्यक फाइलहरू खोज्ने काम भइरहेको बताउनुभयो । ‘दीक्षान्त समारोहका नाममा कर्मचारीबाट कमिटी बनाउने, संयोजक तोक्ने भत्ता खाने जस्ता प्रवृत्तिलाई अन्त्य गरेर थोरै बजेटमा दीक्षान्त समारोह सम्पन्न हुनेछ’, लामिछानेले भन्नुभयो, ‘पहिले जस्तो लाखौँ रूपैयाँ खर्चेर दीक्षान्त हुने छैन ।

यसैगरी उनले आफ्नै कार्यकालमा अनुसन्धान केन्द्र र राष्ट्रिय सांस्कृतिक केन्द्र एउटै भवनमा सञ्चालन गर्ने गरी भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘दुवै कार्यालयहरू नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय हाताभित्रै सञ्चालनमा आउनेछन्, राजधानीमा भाडाको कोठामा होइन’, उपकुलपति लामिछानेले स्पष्ट पार्नुभयो । यसैगरी वर्षौँदेखि बजेट परेर पनि निर्माण हुन नसकेको बोटानिकल गार्डेन निर्माणका लागि पनि टेण्डर भइसकेको बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?