राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ : मन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।

मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताउनु भयो । उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकरको समर्थन फिर्ता लिनुभएको छैन । त्यसकारणले सरकार संकटमा भन्ने स्थिति देखिँदैन । उहाँहरुले सरकार छोड्नुभयो, उहाँहरुको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो । त्यस विषयमा पनि फेरि थप छलफल गर्ने, त्यसमा हाम्रो गठबन्धन पनि छ, त्यसको सञ्चालन संयन्त्र पनि छ । ’

मन्त्री शर्माले कृषकहरुले तरकारी फालेर बिरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा जुन ग्यापलाई समाधान गर्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने बारेमा पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको बताउनु भयो ।

मन्त्री शर्माले ५ दिनसम्म प्रतिनिधि सभा अन्तर्गतका समिति बनिसक्ने बताउनु भयो । उहाँले समितिहरु निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयकहरु पनि संसदमा पेस हुन नसकिरहेको भन्दै समितिहरु निर्माण गरेर विधेयहरु पास गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले संघीय निजामति सेवा ऐन विधेयक पास नहुँदा विभिन्न खाले अफ्ठयारा आएको बताउनु भयो । उहाँले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा अड्किएर बसेको र चाँडै नै अघि बढाउनुपर्ने आवश्यक्ता सरकारले औंल्याएको बताउनु भयो ।

मन्त्री शर्माले सरकारले संसदमा विधेयक दिनै नसकेको भन्ने नरहेको तर केही ढिलाइ भएको स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?