आयोजक र सत्यवती विजयी

हिमालय टाइम्स
Read Time = 5 mins

धनगढी । कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत चौथो दिन सम्पन्न दुईवटा खेलमा सत्यवती एकेडेमी अत्तरिया र आयोजक लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् ।
दिनको पहिलो खेलमा सत्यवती एकेडेमी अत्तरियाले सैनिक आवासीय महाविद्यालय अत्तरियालाई २ विकेटले पराजित गर्‍यो । सैनिक आवासीयले दिएको १४१ रनको लक्ष्य सत्यवतीले १९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

सत्यवतीको जितमा ओपनर खगेन्द्र जोशीले अविजित ५७ रन योगदान दिनुभयो । प्लेयर अफ द म्याच घोषित जोशीले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गर्नुभयो । यस्तै, इमरान शेखले २८, प्रतीक श्रेष्ठले २० रन बनाउनुभयो । सैनिकका बलर रवीन्द्र कार्की र सागर चन्दले २-२ विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १४० रन बनायो । उसका लागि विशाल ऐरले सर्वाधिक ६४ रन बनाउनुभयो जुन क्रममा उहाँले ४१ बलमा ९ चौका प्रहार गर्नुभयो । सन्दीप विष्टले २९ रन तथा कप्तान अनुराग सिंहले २१ रन बनाउनुभयो ।

मंगलबार नै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर प्रिमियर लिगले गुराँस एकेडेमीलाई ८३ रनले पराजित गर्‍यो । लिटल फ्लावरले दिएको १५३ रनको लक्ष्य पछ्याउनेक्रममा गुराँस एकेडेमीले ११.४ ओभरमा ६९ रन बनाउँदा सबै विकेट गुमायो ।

लिटल फ्लावरका बलर अनुराग सिंह एक्लैले ५ विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १५२ रन बनायो । लिटल फ्लावरका लागि नरेन भट्टले सर्वाधिक ६४ रन योगदान दिनुभयो । जसमा उहाँले ५१ बलमा ८ चौका प्रहार गर्नुभएको थियो । वसन्त सिंह कार्कीले ३१ तथा कप्तान विपिन रावलले २७ रनको योगदान दिनुभयो ।

प्रतियोगिताअन्तर्गत पाँचौँ दिन बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान ९ बजे लोटस आई र शारदा विद्या निकेतन तथा दोस्रो खेल दिउँसो १ बजे नव बालवाटिका र होली फेमिली स्कुलबीच हुनेछ ।

लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिता फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेतालाई दुई लाख ५१ हजार १११ र उपविजेतालाई एक लाख २५ हजार ५२५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, उदीयमान खेलाडीलाई नगद पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा चारजना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?