न्यु डायमण्ड महिला भलिबल च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एपिएफ क्लबलाई पराजित गर्दै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब पहिलोपटक छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा न्यु डायमण्डले यसअघिका सबै पाँच संस्करणको च्याम्पियन टोली एपिएफ क्लबलाई मंगलबार भएको फाइनलमा तीन-दुईको सेटमा पराजित गर्दै उपाधि उचालेको हो । डाइमण्ड अपराजित रहँदै फाइनल पुगेको पहिलोपल्ट नै च्याम्पियन बनेको हो ।

डायमण्डले पहिलो सेट २८-२६ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट डायमण्डले २१-२५ ले गुमाएको थियो । तेस्रो सेटमा एक समय १६-६ को अग्रता लिए पनि लगातार १० अंक गुमाएपछि सकसमा देखिएको डायमण्डले २५-२२ को झिनो जित निकाल्यो ।

चौथो सेटमा सुरुवातदेखि नै पछि परेको डायमण्डले २४-२६ ले गुमायो । निर्णायक तथा पाँचौँ सेटमा ३-३ को बराबरीमा अग्रता लिँदै डायमण्डले १५-९ को सहज जित निकालेर उपाधि जितेको हो । डायमण्डकी प्रगति नाथ प्लेयर अफ दी म्याच घोषित हुनुभयो । उहाँले १० हजार रुपैयाँ हात पार्नुभयो । च्याम्पियन बनेसँगै डायमण्डले तीन लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । उपविजेता एपिएफले एक लाख ५० हजार प्राप्त गरेको छ ।

यस्तै, नेपाल पुलिस क्लब तेस्रो भयो । त्रिभुवन आर्मी क्लबलाई तीन-शून्यको सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पुलिसले आर्मीलाई २५-२१, २५-२१ र २५-१९ ले हरायो । तेस्रो स्थान हासिल गरेको पुलिसले ७५ हजार पुरस्कार पायो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?