क्यान इन्फोटेक सुभारम्भ, आफ्नै सूचना-प्रविधि कम्पनीमा मन्त्रीको जोड

Read Time = 6 mins

काठमाडौं । सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । मेला उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना-प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसद्मा पेश गर्ने तयारी गरिरहेको बताउनुभएको छ । उहाँले सूचना-प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्रलाई आहृवान गर्दै नीतिगत सुधारका लागि सुझावसमेत माग गर्नुभयो । मन्त्री शर्माले सरकारी डेटा सेन्टरको मुख्य साँचो सरकारसँग नभएको भन्दै सरकारले आफ्नै सूचना-प्रविधि कम्पनी खोल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग थुप्रै डेटा सेन्टर छन्, त्यसको सुरक्षा र मुख्य साँचो हामीसँग छैन, हामी राष्ट्रियताको कुरा गर्छौं, त्यसलाई कसरी बचाउन सक्छौँ ? मन्त्रालयहरूको संवेदनशील सफ्टवेयर त छ, त्यसको मुख्य कुरा कहाँ छ भन्ने कुरा हामीलाई नै थाहा छैन ।’ मन्त्री शर्माले सूचना–प्रविधि क्षेत्रका लागि गर्नुपर्ने लगानी र सहयोगका लागि सरकार व्यवसायीसँग छलफल गर्न तयार रहेको पनि बताउनुभयो । तथापि व्यवसायी पनि सूचना–प्रविधिको क्षेत्रमा केही गरौँ भन्ने भावनासाथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री शर्माले सरकारी डेटा सेन्टरको मुख्य साँचो सरकारसँग नभएको भन्दै आफ्नै सूचना-प्रविधि कम्पनी स्थापनामा जोड दिनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास सम्भव नहुने भन्दै नेपाली सफ्टवेयर र प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल सूचना-प्रविधिका क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा रहेकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित प्रविधिलाई मुख्य प्राथमिकता दिन आवश्यक रहेको उहाँको भनाइ थियो । वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘नेपाल आइटी सेक्टर वा डिजिटलाइज क्षेत्रमा धेरै नै अघि बढिसकेको छ । कतिपय नेपाली आइटी इञ्जिनियरले तयार गरेको सफ्टवेयर, डिजिटलाइज गर्ने कुराले हामी विश्वको कुनै पनि विदेशी आइटी कम्पनीको तुलनामा नेपालको आइटी प्रोफेसनलमा कमी छ भन्ने मलाई लाग्दैन ।’ उहाँले स्वदेशी उत्पादनलाई १५ प्रतिशतसम्म बढी मूल्य दिन सक्ने नीतिअनुरूप सरकारले स्वदेशी प्रविधिलाई समेट्नुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सूचना-प्रविधि क्षेत्रमा विदेशी कम्पनीलाई एजेन्टका रूपमा नभई ज्वाइन्ट भेन्चर्सका रूपमा भित्र्याउनुपर्ने बताउनुभयो ।

क्यान इन्फोटेक आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सरकारी निकायमा स्वदेशी सफ्टवेयरको प्रयोग बढाउने गरी नीतिगत व्यवस्थाको माग गरेको छ । क्यान महासंघका अध्यक्ष रणजितकुमार पोद्दारले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिन आग्रह गर्नुभयो । शून्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धी सबै सामानमध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टिभी भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकोमा आपत्ति जनाउँदै त्यसलाई तत्काल हटाउन उहाँले माग गर्नुभयो ।

मेलामा सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभीलगायतका स्टल रहेका छन् । क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिसहोम फाइबरनेट, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र हृवावे रहेका छन् भने सिल्भर स्पोन्सरमा एसपावर, डिजिकम र अर्न सिक्का रहेका छन् । माघ २९ गतेसम्म चल्ने इन्फोटेकमा करिब साढे तीन लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?