टर्की भूकम्पमा पाँच हजार बढीको निधन

कठ्यांग्रिने चिसो तथा बारम्बारको पराकम्पले उद्धार र राहतमा कठिनाइ

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी पाँच हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । मंगलबार रातिसम्म आएको तथ्यांकअनुसार टर्कीमा मात्रै ३४ सयभन्दा बढी र सिरियामा १६ सयको मृत्यु भएको छ । भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटिएका छन् । यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या बढ्नसक्ने आपत्कालीन सुरक्षाकर्मीले बताएका छन् । भूकम्पमा भत्किएका संरचनामा फसेकाहरूको खोजी र उद्धारमा कठिनाइ भएको छ ।

यस्तै, भूकम्पमा परी १५ हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भूकम्पमा परी पाँच हजार ७७५ वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ । उद्धार तथा राहतका काम प्रभावकारी ढंगले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएको बताएका छन् ।

कठ्यांग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रूत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको छ । अहिलेसम्म झण्डै दुई सय पराकम्प भएकाले जोखिम मोलेर उद्धारमा जुट्न विलम्ब भएको छ । अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पबाट भवनहरूमा ठूलो क्षति पुगेको र कैयौँ मानिसहरू अहिले पनि भत्किएका भवनमा पुरिएको हुनसक्ने बताइएको छ । भूकम्पपछि टर्कीमा आपत्कालको घोषणा गरिएको छ । टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो

भूकम्पको केन्द्रबिन्दु गाजियान्टेपमा दिनको समयमा माइनस चारदेखि ६ डिग्री सेल्सियस तापक्रम रहेको छ । यहाँ रातको समयमा माइनस सात डिग्री र पहाडी तथा ग्रामीण क्षेत्रमा माइनस १५ डिग्री सेल्सियस तापक्रम रहने गरेको छ । तर, सिरियामा भने १० देखि १२ डिग्री र रातको समयमा माइनस तीन डिग्री सेल्सियस रहने गरेको बिबिसीले जनाएको छ ।

उद्धारकर्ताहरूले थुप्रै पीडितहरू भेटेकाले भूकम्पमा परी मृत्यु हुनेको संख्या नाटकीय रूपले बढ्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । पराकम्प जाने क्रम जारी रहेकाले सडकमा निस्किएका अधिकांश मानिस घर फर्किन डराइरहेका छन् । मानवीय सहायताका लागि टर्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)लाई औपचारिक पत्र पठाएको छ । यस्तै, सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय तथा संघ-संस्थालाई अपिल गरिएको छ । भूकम्प प्रभावितलाई आर्थिक तथा मानवीय सहयोग गर्न ब्रिटिस रेडक्रस, इस्लामिक रिलिफ, अक्सफार्म, डक्टर्स वीदआउट बोडर्स अस्ट्रेलिया, केयर अस, सेभ द चिल्ड्रेन युएस, युनिसेफ लगायतका संघ-संस्थामार्फत सहयोग गर्न आग्रह गरिएको छ । टर्कीको दक्षिण-पूर्वी क्षेत्रको सिरियाली सीमा सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

आठ नेपाली सम्पर्कमा, तीनजना अझै बेखबर
टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट आठजना नेपाली सम्पर्कमा आएका छन् । भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म आठ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ । एनआरएनएको सम्पर्कमा आएका ती आठजना नेपाली अहिले स्थानीय सरकारले व्यवस्था गरेको सेल्टरमा छन् । सेल्टरमा रहेकाहरूलाई खानालगायत सबै आवश्यक व्यवस्था सरकारले नै गरेको छ । टर्कीमा विपद् तथा जोखिम व्यवस्थापनका लागि आपत्कालीन राहत उद्धार समिति छ । उक्त समितिले राहत र उद्धारको काम गरिरहेको छ । रेडक्रस लगायतका परोपकारी संस्थाहरूले पनि राहत र उद्धारमा समन्वय गरिरहेका छन् ।

टर्कीमा अहिले झण्डै दुई हजारभन्दा धेरै नेपाली रहेको एनआरएनएको अनुमान छ । इस्तानबुल, अकांरा, इज्मिर, अन् टालिया, बोर्ड मलगायतका सहरमा नेपालीहरू बढी छन् । भूकम्पले इपिसेन्टर बनाएको गाजियन्टेपमा भने नेपालीको संख्या न्यून छ । भूकम्पबाट कोही नेपाली समस्या परेको भएमा आफूहरूको सम्पर्कमा आउने एनआरएनए टर्कीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेको छ । एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?