एक महिनामै संकटमा सुदूरपश्चिम प्रदेश सरकार

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

बिराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको हो । प्रदेशसभाबाट विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री राजेन्द्र रावलले एक महिनाकै अवधिमा सत्ता छाड्नुपर्ने अवस्था सिर्जना भएको छ । नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा गत पुस २७ गते नेकपा (एमाले)का रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एकसहित २९ सांसदको समर्थन छ । मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै एक महिनापछि उहाँले आज (बुधबार) विश्वासको मत लिँदै हुनुहुन्छ ।

बुधबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्री रावलको छ । संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर, विश्वासको मत भने नमिल्ने देखिएको छ । मुख्यमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत भने नदिने निर्णय गरेको छ । विश्वासको मत नदिने नागरिक उन्मुक्तिको निर्णयसँगै मुख्यमन्त्री रावलको पद धरापमा परेको हो । नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइलगायत माग सम्बोधन नभएको भन्दै मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको हो । काठमाडौंको डिल्लीबजारमा बसेको पार्टी पदाधिकारी तथा सांसदहरूको बैठकले केन्द्रदेखि प्रदेशसम्म विश्वासको मत दिने तथा सरकार गठन लगायतको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका सात सांसदले विश्वासको मत नदिए मुख्यमन्त्री रावल अल्पमतमा परेर सरकार ढल्ने निश्चित छ । ५३ प्रदेशसभा प्रदेशसभामा सरकार बनाउन २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना सांसद छन् । रावल नेतृत्वको सरकार ढलेसँगै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकार बनाउने बाटो खुल्नेछ । संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दल कांग्रेसले सरकार बनाउने अवस्था आउने देखिएको हो । मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिन नसके कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने निश्चित छ । सबैभन्दा ठूलो दलको हैसियतमा शाह मुख्यमन्त्री बने पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?