नेपाली कांग्रेसको प्रतिपक्षी मान्यता खारेज गर्न माग गरिएको रिट दर्ता, आजका लागि पेसी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेस विपक्षी दल हुन नसक्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलको नेता हुन नसक्ने दाबीसहित मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको हो । रिट निवेदनमा देउवालाई प्रमुख विपक्षी दलको सेवासुविधा नदिन आदेश माग गरिएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभामा विश्वासको मत दिएकाले कांग्रेस संसदीय दलका नेता देउवालाई प्रमुख विपक्षी दलको नेताको मान्यता दिन नहुने रिटमा दाबी गरिएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषद् बैठकमा उपस्थित हुनसमेत रोक लगाउन रिटमा माग गरिएको छ । रिट निवेदनमा देउवाका साथै संघीय संसद् सचिवालय, सभामुख, संवैधानिक परिषद् र कांग्रेस संसदीय दलको कार्यालयलाई पनि विपक्षी बनाइएको छ ।

यसअघिको दरपीठको आदेश बदर गरी सर्वोच्च अदालतले मंगलबार रिट दर्ता गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएसँगै रिट दर्ता भएको हो । यसअघि अधिवक्ता पोखरेलले पेस गरेको रिट अदालत प्रशासनले संसदीय काम कारबाहीको विषय न्यायिक परीक्षण हुन नसक्ने भन्दै दरपीठ (निवेदन दर्ता गर्न अस्वीकार) गरेको थियो ।

रिट दर्ता भएसँगै प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता को हुने भन्ने विषयमा न्यायिक परीक्षण हुने भएको छ । रिट निवेदनमाथि सर्वोच्च अदालतले आज (बुधबार)का लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ ।

गत पुस २७ गते कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै नैतिक रूपमा कांग्रेस प्रमुख प्रतिपक्षी हुन नसक्ने टिप्पणीहरू भएका थिए । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि आफूलाई विपक्षी दलको नेताको मान्यता दिनुपर्ने माग गर्दै जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । यद्यपि, संसद् सचिवालयले कांग्रेस संसदीय दलका नेता देउवालाई नै विपक्षी दलको प्रमुख नेताको सेवासुविधा, सुरक्षा र कार्यालय पनि उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?