प्रेम, योग र राजनीति

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

चुम्बकीय तत्व हो प्रेम :
प्रियस्य भाव इमनिच् (प्रादेशएकाच्कत्वात् टिलोप) प्रिय भन्ने भावमा इमनिच प्रत्यय भएर ‘प्रेम’ शब्द बनेको देखिन्छ । यसको शब्दार्थ चाहिँ कृपा, कृपापूर्ण अवस्था, अनुग्रह, मृदु व्यवहार, आमोद, प्रमोद आदि अर्थ लाग्न सक्छन् । नेपालीमा प्रेम शब्द केटाकेटीका बीचमा हुने आकर्षणको अर्थमा बढी प्रयोग भएको देखिन्छ । राजनीतिमा पनि यसले जरा गाडेको देखिन्छ । पार्टीप्रतिको आकर्षण पनि प्रेम नै हो । नेताप्रतिको समर्पण भाव पनि प्रेम नै हो । आमाछोराका बीचको आकर्षण पनि प्रेम नै हो । भैंसीले आफूले पाएका पाडा या पाडीप्रति गर्ने मृदुव्यवहार पनि प्रेमकै अभिव्यक्ति हो ।

पतिपत्नीका बीचमा त यो प्राणसञ्जीवनी जस्तैै भएको देखिन्छ । दम्पतीमा पारस्परिक प्रेम या मृदुभाव रहेन भने गृहस्थ जीवन विषाक्त हुन्छ । यदि अनमेल दाम्पत्यको मात्रामा बढोत्तरी भयो भने एकातिर अनाथको समाज बन्छ भने अर्कातिर सभ्य समाजले कल्पना गरेको सन्तुलित जीवन पनि मुसाको सिङ बन्छ । यसरी हेर्दा प्रेम एक प्रकारको चुम्बकीय तत्व हो जसले पारस्परिक रूपमा विभाजनभन्दा जोड्ने, कठोरभन्दा मृदुताको अपेक्षा गर्दछ । मानव जीवनको आराध्य भनेको सुख हो, सुखका माध्यमले पाउने आनन्द नै मानवको सर्वदा आराध्य रहृयो, प्राप्तव्य रहृयो ।

संसारमा शासनका अनेकौं पद्धति प्रचलनमा रहे पनि मूलतः बहुलवादी सिद्धान्तमा आधृत सामूहिक निवार्चन प्रणलीमा आधृत आवधिक निर्वाचनका माध्यमले जनतालाई साथ र सहमतिमा लिएर, शोषण थिचोमिचोलाई वैधानिक आधारमा नै समाप्त गरी समानता र भ्रातृता सिर्जना गर्ने लक्ष्यमा बनेको हो प्रजातान्त्रिक पद्धति ।

चाहे नेताले नेतृत्वबाट प्राप्तव्य ठानोस् चाहे योगीले ध्यानका माध्यमले अमूर्त, अवक्तव्येय ब्रहृमबोधको कुरो गरोस् या गौतम अडवानी या रक-फेलर या कुबेरले धन नै परम साध्य भनुन्, या त किशोर किशोरीका आकाशका जुनतारा ल्याइदिने प्रणमा होस् अन्तिम वक्तव्य या प्राप्तव्य चाहिँ सुख र आनन्द नै रहेको देखिन्छ । यही सुखका खोजीमा मान्छे रवि बन्दो रहेछ । यसैका आपूर्तिका निमित्त हिंसा, हत्या, लुट, भ्रष्टाचार, अनाचार, व्यभिचार सबै सुख र आनन्द भोग्ने लालसाले जन्माएका दुष्परिणाम नै हुन् । मोक्षका आकर्षणको योग पनि यदाकदा विचलनको सिकार हुन्छ ।

राजनीतिक पद्धति नै सबै कुराको निर्धारक :
देशविदेशलाई मित्रभाव या विरोधी भावमा परिभाषित गराउने मूल वस्तु भनेको राजनीतिक पद्धति नै हो । यसै कारणले हिजो केही वर्ष यस पृथ्वीमा शीतयुद्ध चलेको इतिहास हाम्रा सामुमा नै छ । संसारमा शासनका अनेकौं पद्धति प्रचलनमा रहे पनि मूलतः बहुलवादी सिद्धान्तमा आधृत सामूहिक निवार्चन प्रणलीमा आधृत आवधिक निर्वाचनका माध्यमले जनतालाई साथ र सहमतिमा लिएर, शोषण थिचोमिचोलाई वैधानिक आधारमा नै समाप्त गरी समानता र भ्रातृता सिर्जना गर्ने लक्ष्यमा बनेको हो प्रजातान्त्रिक पद्धति ।

एक्लो व्यक्तिका इच्छा-चाहना प्रधान हुने (राजतन्त्रात्मक) शासन प्रणाली या एक विचार प्रधान (कम्युनिज्म) पद्धति भएको शासन प्रणाली । अथवा बन्दुकधारीको इच्छा नै प्रमुख हुने शैन्य शासन रहेका मुलुक धेरै देखिएका छन् वर्तमान विश्वमा । हामीले लामो समय राणा र शाहको द्वैधशासन पनि व्यहोर्‍यौं । करिब तीन दशक निर्दलीय नामको राजदलीय शासन व्यवस्था पनि व्यहोरेर आज अनेकौं प्रकारका चाहना, लक्ष्य, विधिव्यवहारका छुरी बगलीमा लुकाएर आएका बहुलवादी प्रजातान्त्रिक प्रणलीका चटक पनि देख्न पाएका छौं ।

वर्तमान नेपालमा बहुलवादी प्रजातान्त्रिक पद्धति कायम छ तर लामो समयदेखि यस पद्धति र प्रक्रियाका निमित्त ठू्लो त्याग सङ्घर्ष गरेर आएको इतिहासदेखि जनताको अतिप्रिय दल नेपाली कांग्रेस आचार, विचार, पद्धति भ्रष्टताको पर्याय बनेको छ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा रहेको सत्ता मोह, आर्थिक भ्रष्टाचरण गर्ने अवसरको खोजी, आफू र आफन्त नै देश हो भन्ने भ्रान्त धारणाका कारणले देशको कायापलट गर्ने तीन-चारवटा संघर्षका बेला जनताले अत्यधिक प्रेमपूर्वक साथ दिएको दल अन्धकारका मार्गतिर अभिमुख हुने पो हो कि भन्ने त्रासदी प्रत्यक्षीभूत भएको छ ।

एकात् दशकपछि गठन भएको भए पनि मान्छे मारेर समानता खोज्ने भ्रान्त धारण बोकेर आएको भए पनि, खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो संसद् भनेर यो व्यवस्थाका प्रति विषवमन गरे पनि केही छाड्दै केही थप्दै अनेकौं कालखण्डमा अनेकौं हण्डर खाएर आएको एकदलीय तानाशाही पद्धतिको पृष्टपोषक दल हो एमाले । यो न कम्युनिज्म, न प्रजातन्त्रवादी । यसका नेता अवसरवादी चरित्रका धनी छन् ।

हिजो राजाका अञ्चलाधीश, रापंस, मन्त्री बनेर कांग्रेस मास्ने काममा पनि सहभागी भएका थिए । अहिले कांग्रेसभन्दा संगठित भएर एक व्यक्तिको अरनखटनमा मौलाएका देखिन्छन् । हिजो राजाका विरुद्ध नलाग्दा जनताबाट टाढिने भएका कारणले कांग्रेससँगै राजाले चलाएको व्यवस्थाविरुद्ध लागे पनि आज राजाका पूर्वपरिचर, अनुचर, पाश्र्वचरबाट संगठित राप्रपासँग गठजोड गरी राजा स्थापना गर्नैपरे पनि तयार हुने भूमिकातिर लागेका देखिन्छन् ।

नेकपा माओवादी केन्द्र नामको अर्को एउटा हिंस्रकवृत्तिबाट नेपाली राजनीतिको केन्द्रमा आएको दल पनि छ । यसलाई जनता र देश अनि वैचारिक पवित्रताभन्दा कमाउने अवसरको चिन्ता धेरै देखिएको छ । योगीले चिन्ता गर्दोरहेछ ध्यान, इन्द्रियदमन, ब्रहृमप्राप्ति र शान्तिपूर्वक एकान्त चिन्तनको अवसरका सम्बन्धमा । एउटा सिद्धान्तनिष्ठ मान्छेले राजनीतिका वृत्तबाट देश र जनता अनि देशका साधनस्रोतको विकास गर्न आर्थिक स्रोत देशमा छ कि छैन ? प्रविधि छ कि छैन ? दक्ष–विज्ञ जनशक्ति छ कि छैन भनेर सोच्दोरहेछ ।

यस देशमा बीपीले यसक्षेत्रतिर ध्यान दिएको देखियो । गणेशमानजीले आर्थिक क्रान्तिको कुरो गर्नुभयो, किसुनजीले काठमाडौंका प्रत्येक नदीका दुवै किनारबाट बाटो खोल्ने नदी सफा राख्नेजस्ता कुरा गरेका थिए । राम्रो के गरे गरेनन् तर वामवृत्तका पुष्पलाल र मनमोहन अधिकारी निश्चय नै देशविकास र जनताको ज्ञान विद्याबुद्धिको विकासबाटै लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरामा दृढ प्रतिज्ञ रहेका थिएजस्तो लाग्छ नै । यी त भए विगतका कुरा आजको नेपाली राजनीति कर्ता महान् व्यक्तित्वतिर पनि दृष्टि पु¥याउन आवश्यक ठान्छु । कविले प्रकृति र सिर्जनाका माध्यमले ब्रहृमबोध गरेको अनुभव गर्दछ । योगीले ध्यान र समाधिका माध्यमले ब्रहृमाण्डको गहिराइमा प्रवेश गरेर ब्रहृमबोध गर्दछ ।

असल राजनेताले देश, जनता र समाज, संस्कार, संस्कृतिको रूपान्तरण या विकासका माध्यमले नै ब्रहृमसाक्षात्कार गर्दोरहेछ । नेपालमा यसको साधना बीपीले गर्नुभयो । काला बादलले नपाएको हण्डर खाएर पनि उहाँले ब्रहृम प्राप्तिमा योगी अविचल रहे झैं बीपीमात्र सिद्धान्तनिष्ठ बनेर प्रजातान्त्रिक समाजवादको एक्लो बृहस्पति बनेर उभिनुभयो । उहाँका कुलमा नालायक सन्तान जन्मिएछन् जसले उहाँको नाम भजाएर खानमात्रै जाने उहाँको त्यो सूर्य समानको व्यक्तित्वको ज्योति बुझ्न सकेनन् । उहाँले स्थापना गरेको नेपाली कांग्रेसमा पनि शेरबहादुर जस्ता महान् खेलाडी सत्ता, शक्ति, द्रव्यसंग्रह, उत्कोच, ग्रुपिज्ममा ब्रहृमबोध गर्ने मान्छे आएर आज सैद्धान्तिक विचलन, सांगठनिक विस्खलनको सिकार भएको देख्छु ।

योगी पनि योगच्युत हुन्छ तर जन्मजन्मान्तरमा पनि उसको संस्कार नास हुँदैन भनेर गीताले भनेको छ । राजनीतिमा पनि ओली, देउवा, प्रचण्ड जुन प्रकारको साधना र संस्कारबाट आए त्यसको संस्कार त गुमाएका रहेनछन् । उनीहरूले बाल्यकालदेखि सत्ता, शक्ति, सम्पति र जालझेलका साथै असैद्धान्तिक गायत्री जप्ने काम सिकेका थिए होला त्यो त आज यिनले बिर्सेका छैनन् नि ¤ सत्ता र शक्ति अनि सम्पतिका निमित्त राजेन्द्र लिङ्देन हुन् कि रवि लामिछाने ? संसद्का रोस्टमबाट संविधानविपरीत भाषण गरून् कि समर्थनमा बोलून् सत्ता र शक्ति अनि सम्पति त प्राप्त भएको भएकै हुन्छ ।

अतः जसका मनमा जेको ध्यान र ध्याउन्न हुन्छ उसले आमरण त्यही नै जप्छ, त्यही नै गर्छ भन्ने कुरो केपी ओली, प्रचण्ड र देउवाका आजका ध्यान, ध्याउन्न र हिजोका बीपी, मनमोहन र पुष्पलालका ध्यान ध्याउन्नलाई तुलना गरी हेर्दा गीता सत्य साबित हुँदोरहेछ-‘प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीःसमाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टो ! भिजायते’ ।।
अर्थात् योगभ्रष्ट व्यक्तिले पनि पुण्यात्माले पाउने लोक पाउँछ र धेरै समयसम्म त्यहीँ बसेर ऐश्वर्य सम्पन्न पवित्र व्यक्तिका घरमा जन्म लिन्छ । यसरी हेर्दा अघिल्लो जन्ममा कुनै न कुनै बेला राम्रो कर्मक्षेत्रबाट च्युत भएकाहरू आजको नेपालका राजनीतिका शीर्षस्थानमा पुगेका देखिन्छन् । सिद्धान्तको आधार नभएका व्यक्ति, विद्याबुद्धि र आत्मप्रेरणा नभइकन योगमा या राजनीति जेमा लागेको भए पनि आशाराम बापु या ओली, प्रचण्ड र देउवामात्र होइन रवि लामिछाने जस्ता मुखमा रामराम बगलीमा छुरा बोकेर पनि आएका हुनसक्छन् ।

सिद्धान्तको आधार नभएका व्यक्ति, विद्या, बुद्धि र आत्मप्रेरणा नभइकन योगमा या राजनीति जेमा लागेको भए पनि आशाराम बापु या ओली, प्रचण्ड र देउवामात्र होइन रवि लामिछाने जस्ता मुखमा रामराम बगलीमा छुरा बोकेर पनि आएका हुनसक्छन् ।

‘लोभ पापस्य कारणम्’ डा.तोषिमा कार्की पढेकी सक्षम आफैं काम गरेर बाँच्न सक्ने बनेर पनि जादुगरका जादुका पछि लाग्नाले पिसाबको तातो तापेर अब ब्युँझिन् होला । शिशिर खनाल पनि यस्तै लालची व्यावसायिक हुन् । उनले पनि राजनीति गर्ने भए रविका आधारमा होइन सैद्धान्तिक आधारमा मैदानमा जानु आवश्यक छ । मरेका हात्तीको लास बोकेर लेनदेनका क्षेत्रमा आएका राजेन्द्र लिङ्देनको स्वप्न पनि केही दिनमा टुट्ला ।

ठूला पार्टीमा बसेर लाज, घिन, शर्म छाडेर मदारीगिरी चलाउने र सडक किनाराबाट डिलमा आएर डमरु बजाएर दर्शक जम्मा गर्ने रवि प्रवृत्ति पनि काम्य छैन । रवि, ओली, देउवा र प्रचण्डका बीचमा भएका भिन्नता नेपाली मतदाताले छुट्याउन नसक्दाको भद्रगोल एकाध अरू निर्वाचनमा देखिन सक्छ किनभने राजनीतिक नेतृत्वको जीवन चरित्र अनुकरणीय भएन । अहिले पुरुषार्थ गरेर आएको भनिएको राजेन्द्र लिङ्देन पनि ओली, देउवा र प्रचण्डसँग घाँटी जोडेर तिनकै घाँटीबाट घुसको रस पेटमा पुर्‍याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. पठनीय लेखका लागि विद्वान् लेखक धन्यवादका पात्र छन्।नेपाली राजनेताको चरित्रको चिरफारको नमूना आलेख।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?