मौसमी फ्लुका बिरामी बढेपछि बुंगल नगरपालिकाका विद्यालय बन्द

हिमालय टाइम्स
Read Time = 3 mins

सुरेश धामी/हिटा
बझाङ । बझाङको बुंगल नगरपालिकामा मौसमी फ्लुका बिरामी बढ्न थालेपछि अधिकांश विद्यालय बन्द हुन थालेका छन् । नगरपालिकाभित्रका विद्यालयहरूमा मौसमी फ्लुको संक्रमण फैलिन थालेपछि प्रभावित क्षेत्रका विद्यालय वडा कार्यालयको निर्देशनमा बन्द गरिन थालिएको बुंगल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख गोपाल कुँवरले बताउनुभयो ।

बुंगल नगरपालिका-१० स्थित सिताराम माध्यमिक विद्यालय डौडका विद्यार्थी, शिक्षकहरूमा मौसमी फ्लु देखिएपछि वडा कार्यालयले नगरपालिका शिक्षा शाखासँग समन्वय गरी आइतबारबाट एक हप्ताका लागि विद्यालय बन्द गरिएको वडा नं. १० का वडाध्यक्ष प्रेम ओखेडाले जानकारी दिनुभयो । विद्यालयमा एकपछि अर्को गर्दै विद्यार्थीहरू धमाधम बिरामी हुन थालेपछि वडा नम्बर १० का वडाध्यक्ष ओखेडाको नेतृत्वमा जनप्रतिनिधिसहितको टोली विद्यालयमा पुगेर चेक जाँच र उपचार गरिएको स्वास्थ्य शाखा संयोजक नरेश कँुवरले बताउनुभयो ।

सोमबार नगरपालिकाबाट स्वास्थ्यकर्मीहरूको टोली खटिएर २६३ जना बिरामी विद्यार्थीहरूको कोरोना परीक्षण, टाइफाइड, मलेरियालगायत अन्य रोगको परीक्षण गरिएको भए पनि पुष्टि नभएको र मौसम परिवर्तनका कारण मौसमी फ्लु देखिएको उहाँले बताउनुभयो । विद्यार्थी शिक्षकहरूमात्र नभएर गाउँहरूमा पनि संक्रमण फैलिएको स्थानीय शान्ति ओखेडाले बताउनुभयो । संक्रमितहरूमा रुघाखोकी, जिउ दुख्ने र घाँटी दुख्ने समस्या देखिएको थियो । बिरामी भएकाहरूलाई चेकजाँच गरी औषधिसमेत उपलब्ध गराइएको छ ।

मौसम परिवर्तन हुन थालेपछि नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरूमा मौसमी फ्लुका बिरामी बढ्न थालेको खिरातडी स्वास्थ्यचौकीका डाक्टर भूमिराज जोशीले बताउनुभयो । पालिकाका अन्य ठाउँहरूमा पनि संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेका छन् । समयमै सावधानी अपनाउन नसके मौसमी फ्लुका कारण नगरपालिकाका अन्य विद्यालय पनि बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?