खोटाङ । ठेकेदारले खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार ढलानको काम अलपत्र पारेको छ । बजार ढलानको ठेक्का लिएको धुलिखेल निर्माण सेवा काठमाण्डौले आरसीसी ढलान तथा डिबिएसटी(पिच) नगर्दा काम अलपत्र परेको हो ।
करिब सात सय मिटर आरसीसी ढलान र करिब छ सय मिटर डिबिएसटीको काम २०७९ माघ २९ गते सम्पन्न गर्नेगरी २०७७ असार ३० गते शहरी विकास तथा भवन कार्यालय ओखलढुंगासँग सम्झौता गरेको निर्माण कम्पनीले बजार ढलानको काम अहिलें अलपत्र पारेका हुन् । ढलानका लागि साइडमा ल्याईएको सिमेण्ट, बालुवा, गिट्टी, रड जथाभावि राख्दा बजारमा दुर्घट्नाको संम्भावना उत्तिकै बढेको छ ।
सम्झौता म्याद सकिन केही दिन मात्रै बाँकी हुँदा ढलानको काम सक्नुको सट्टा ठेकेदारले काम अलपत्र पार्दा खोटाङबजारबासी तथा सेवाग्राहीलाई सबैभन्दा धेरै शास्ती भईरहेको छ । यता, कामको प्रगति ७० प्रतिशत भएको शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका इन्जिनियर सागर कट्वाल दावी गर्छन् ।
३ करोड ५३ लाख बजेटमा ठेक्का पारेको निर्माण कम्पनीले हालसम्म २ करोड ३६ लाख बजेट लगिसकेको कार्यालयले जनाएको छ । म्याद थपका लागि शहरी विकास मन्त्रालयमा निर्माण कम्पनीले कागजात पनि पेश गरिसकेका छन् । तर, निर्माणस्थलमा काम नै नदेखिएको खोटेहाङ गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक रुपेश राईले बताउनुभयो । राईका अनुसार ठेकेदारले हालसम्म करीब ५० लाखको काम गरेको देखिन्छ ।
ठेकेदारले खाद्यान्न र टुडिखेल जाने सडकमा करीव ५०/६० मिटर, बजारको बिच २ नम्बर धारामा करीव ३०० मिटर ढलान गरी अन्य भाग छोडेर १ नम्बर धारामा २० मिटर जति ढलान गरेका छन् । ति गरिएका ढलानहरु पनि गुणस्तरीय छैन । प्रयोग गर्न ल्याईएका गिट्टी कि बालुवा छुटिन्दैन, ड्रेन, मेशिनरी वाल भत्किन थालेको छ । उपाध्यक्ष राईले भन्नुभयो, ‘ठेकेदार र कार्यालयको मिलेमत्तोका कारण काम लथालिङ्ग बनेको हो । अब सम्बन्धित निकायमा गएर छानबिन गर्न लगाउँछु ।’
बजारको साँघुरो सडक र त्यसमाथि ठेकेदारले काम अलपत्र पार्दा बजारभित्र गाडी कुदाउन तथा बिरामी, अशक्तलाई स्वास्थ्य चौकीसम्म लैजान समस्या भईरहेको छ । निर्माणस्थलमा स्टक्चर कटिङ, ग्याभिङ, ड्रेन तथा केही ढलान र डिबिएसटी भईसकेको शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका प्रमुख अनुज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अब ढलान गर्न मात्रै बाँकी छ ।
मन्त्रालयबाटै कम बजेट बिनियोजित भएर आएको र जति पैसा आएको त्यतिको काम ठेकेदारले गरिसकेको कार्यालयको दावी छ । बजेट अभावले काम रोकिएको छ । मन्त्रालयमा थप बजेट मागेको छु । बजेटको शुनिश्चितता भएपछि बाँकी काम हुन्छ । श्रेष्ठले भन्नुभयो 'दुई पटक प्राविधिक पठाएर नापजाँच गर्दा काम ठिकै भएको भन्ने छ । तर, कामका विषयमा धेरै गुनासोहरु आईरहेको छ । त्यस विषयमा फागुन दोश्रो साता आफै गएर हेर्छु, बुझ्छु ।' कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयोे ।
सुरुमा सडक फराकिलो बनाउने क्रममा नाली, पेटी भत्काउने विषयमा केही समस्या भएको थियो । पछि सबैजना नाली, पेटी भत्काउनमा सकारात्मक हुँदा ठेकेदारले ढलानको काम अलपत्र पारेर हिडेको हो । कामका बारेमा धुलिखेल निर्माण सेवा काठमाण्डौलाई सम्पर्क गर्न उनका प्रतिनिधि राजन ढकाललाई फोन नम्बर माग्दा दिन चाहानु भएन । पैसा नआएर काम रोकिएको भन्दै पन्छिन खोज्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका