नगर प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान गरी काममा खटाइयो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले भर्ना गरेको आफ्नै नगर प्रहरीलाई आज (बिहीवार) दर्ज्यानी चिह्न प्रदान गरी कार्यक्षेत्रमा खटाएको छ ।
नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ अनुसार नगर प्रहरी भर्ना गरेर नगरपालिकाले दर्ज्यानी चिह्न प्रदान गरी कार्य क्षेत्रमा खटाएको हो ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल, सिपाहीद्वय रेजिना विक र अभिषेक मिजारलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । गएको शुक्रवार नियुक्त गरिएका तीन जना नगर प्रहरीलाई आज एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरी काममा परिचालन गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

प्रहरी हवल्दारमा तीन जना र सिपाहीमा १० जनाको आवेदन परेकोमा लिखित परीक्षा तथा अन्तर्वार्ता, स्वास्थ्य परीक्षण गरी तीन जनालाई छनोट गरिएको थियो । छ वटा पालिका रहेको म्याग्दीमा बेनी नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरेको हो ।

आधारभूत तालिम पाएपछि नगर प्रहरीहरू नगरपालिकाको औपचारिक काममा खटिएका छन् । उनीहरूले कार्यविधिअनुसार सेवा सुविधा पाउने छन् । नगर कार्यपालिकाको निर्णय तथा आदेश र कार्यविधिमा उल्लेख भए बमोजिम नगर प्रहरीलाई विभिन्न ३४ प्रकारका काम गर्ने अधिकारहरू दिइएको छ ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा पालिकालाई आफ्नै प्रहरी भर्ना गर्न पाउने अधिकार उल्लेख छ । नगर प्रहरीलाई सार्वजनिक सम्पत्तिको संरक्षण, न्यायिक समितिको काम कारबाहीमा सघाउने, राजस्व सङ्कलन एवम् विपद् व्यवस्थापनमा परिचालन गरिने बेनी नगरपालिकाका मेयर केसीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?