एपिएफका सोनिम र पुलिसकी चञ्चलालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एपिएफका सोनिम मानन्धरले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जित्नुभएको छ । ललितपुर सातदोबाटोस्थित कराँते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन बिहीबार सोनिमले फाइनलमा २४.८० अंकका साथ पहिलो स्थान हासिल गर्नुभएको हो । नेपाल पुलिस क्लबका महसुस मुक्तानले रजत पदक जित्नुभयो । उहाँले २४.४२ अंक प्राप्त गर्नुभयो ।

बागमती प्रदेशका रेहान जाभेद र त्रिभुवन आर्मी क्लबका विनय लिम्बूले कांस्य पदक जित्नुभयो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा रेहान ९२३.४०० ले मधेश प्रदेशका बब्लु रायन (९१८) लाई र विनय ९२३.५२० ले प्रदेश १ का आशिष मगर ९२३.२०० लाई पराजित गर्नुभएको थियो । एकल कातामा आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै, नेपाल पुलिस क्लबकी चञ्चला दनुवारले एकल कातामा स्वर्ण पदक जित्नुभएको छ । चञ्चलाले फाइनलमा कर्णाली प्रदेशकी एलिशा रासकोटी मगरलाई पराजित गर्दै पहिलो हुनुभएको हो । फाइनलमा चञ्चलाले २४.५० अंक र रजत पदक प्राप्त गर्नुभएकी एलिशाले २३.६८ अंक जोड्नुभएको थियो ।

बागमती प्रदेशकी मिरा खाती र प्रदेश १ की रोश्माले कांस्य पदक जित्नुभयो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मिरा (२३.२० अंक) ले गण्डकी प्रदेशकी विमला नेपाली (२२.८६ अंक) र रोश्मा (२३.२० अंक) ले त्रिभुवन आर्मी क्लबकी रिना श्रेष्ठ (२३.१४ अंक) लाई पराजित गर्नुभएको थियो । यो इभेन्टमा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव-२०७९ अन्तर्गत नेपाल कराँते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने राष्ट्रिय कराँते प्रतियोगितामा १० टोलीको सहभागिता छ । माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन महिला र पुरुष एकल र टिम काता तथा कुमुतेका दुई प्रतिस्पर्धा हुनेछन् ।

पहिलो हुने प्रत्येक खेलाडीले स्वर्ण पदकसहित स्पोर्ट्स ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् र दोस्रो र तेस्रो हुनेले पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट एक महिला र एक पुरुष खेलाडीले नगद पुरस्कारसहित केल्मीको गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफीसहित एक लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली गरी १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?