राष्ट्रपतिले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी भएको जनाइएको छ । आज अपराहृन तीन बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुने छ । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आहृवान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो । राष्ट्रपतिको सम्बोधनलगत्तै पाँच बजे संसद् बैठक बस्दै छ ।

यसअघि राष्ट्रपति भण्डारीले गत जेठ १४ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले शनिबार अपराहृन तीन बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?