भोगाइ : टम्म खुशी जो थियो

हिमालय टाइम्स
Read Time = 12 mins

✍️ अनिल नेपाली

(१६ वर्षको छोराको क्यान्सरबाट र श्रीमतीको विष सेवनबाट मृत्यु भएपछि वियोगले थलिएको रामकृष्ण बर्देवाको जीवनकथा )

रामकृष्णको लागि काठमाडौं मानौं अर्कै लोकजस्तो थियो । कहिल्यै नदेखेको सहर उनलाई विरानो लाग्यो । रहरले होइन बाध्यताले उनी शहर छिरेका थिए । रामकृष्ण काठमाडौं आउनसाथ ठूलोबुबा र माइलोबुबाको छोराहरू भएको ठाउँमा गए । काठमाडौंमा पाइने कामहरू उनलाई केही गर्न आउँदैनथ्यो । तर, काठमाडौंमा काम नगरी खान नपाइने । उनको मनमा चिन्ताको हुरी चल्यो । ठूलोबुबा र माइलोबुबाको छोराहरू गार्मेन्टमा सिलाइब काम गर्नुहुन्थ्यो । रामकृष्णलाई सिलाई काम आउँदैनन्थ्यो । केही दिनसम्म दाजुहरूले उनलाई राम्रो व्यवहार गरे । हेरचाह गरे ।

त्यसपछि उनको वास्तै गर्न छाडे । माछा र पाहुना तीन दिनपछि गन्हाउन थाल्छन् भन्ने उखान उनमा लागू भयो । भोको पेटमा उनले गाली खानु पथ्र्यो । जाउ कहाँ जाऊ... काठमाडौंमा चिनेको कोही छैन । जाने ठाउँ थिएन, गर्ने काम थिएन । केवल आफ्नो कुरूप भाग्यलाई धिकारेर विरानो शहरमा लछारिनबाहेक उनको विकल्प थिएन ।

त्यतिबेला तीन दिनसम्म उनको पेटमा पानीबाहेक केही परेन । काठमाडौंमा किनेर खान पैसा थिएन । मागेर खान चिनेका कोही थिएनन् । पाहुना लाग्न आफन्त थिएनन् । अत त्यसैबेला ठूलो सिरुवारीको उनको साथी कुमारसँग भेट भयो । कुमारलाई उनले सबै कुरा भने । कुमार मिल्दो र सहयोगी थिए । उनको कारुणिक अवस्था देखेर कुमारले उनीमाथि निक्कै दया देखाए । खाना खुवाए । रामकृष्णले कुमारसँगै खाना खान थाले । रामकृष्णले आफूलाई काम मिलाइदिन कुमारसँग आग्रह गरे । कुमार ज्यामी काम गर्थे । कुमारसँग मेरो उनको मिल्यो । त्यसपछि रामकृष्णले दाजुहरूलाई छाडेर कुमारसँगै वनस्थलीमा ज्यामी काम गर्न थाले ।

ज्यामी काम अर्थात् इँटा, सिमेन्ट, बालुवा बोक्नुपर्ने । उनले धेरै बोके । एक रातमा एक टिफर बालुवा तीन तलामाथि पनि बोक्न भ्याए । दिनमा पनि उति नै बोक्थे । त्यो बेला ज्यामी काम गर्दा रामकृष्णले दिनको एक सय पाउथे । त्यसैले उनी रातमा पनि उत्तिनै खट्थे । यसरी कमाएको पैसा अनावश्यक खर्च नगरी खाएर, बसेर बचाएको बाँकी घर पठाइदिन्थे । रामकृष्ण-लक्ष्मी भिन्नै बसेको ५-६ महिनापछि लक्ष्मीले माइतबाट बाख्रा ल्याएर पालेकी थिइन् । दुहुनो भैंसी र दुहुनो गाई पनि पालेकी थिइन् काठमाडौंमा रामकृष्णलाई काममा दुःख भए पनि आफ्नै कमाइले पेटभरी खान पाउँदा र थकाइलाग्दा आनन्दले सुत्न पाएकोमा खुशी थिए ।

भगवानले लेखिदिएको भाग्यलाई हामी सुनौला सपनाहरूले सिँगार्न खोज्छौँ र पनि हामीसँग आफ्नै सपनाहरूसँग रमाउने अधिकार हुँदैन । अस्थायी रूपमा पाएको भौतिक र आध्यात्मिक सुखहरू आनन्दका पर्याय नभएर केवल दुःखका दूतहरूमात्र हुन् ।

उनी १६ वर्षको ठिटो काठमाडौंमा आफ्नै परिश्रममा रमाइरहेको थिए । यसै क्रममा एक दिन घरबाट लक्ष्मीले फोन गरेर भनिन् ‘अब हामी ममी र बुबा हुँदैछौँ । श्रीमतीको यो बोली सुन्नसाथ उनी यतिधेरै खुशी भए कि त्यसभन्दा अघि उनी त्यतिधेरै खुशी कहिल्यै भएका थिएनन् । उनको निम्ति जीवनमा सबैभन्दा खुशीको क्षण त्यही थियो । दिनहरू बित्दै गए । उनको सन्तान जन्मने बेला भयो । उनी घर जान पर्ने भयो । सुत्केरी उतार्नुपर्ने । उनीसँग पैसा थिएन । रामकृष्णले आफ्नो दुई पाउण्ड रगत १४ सयमा बेचेर घर फर्किए । नभन्दै विस २०५६ साल कात्तिक ७ गते उनको जेठो छोरो जन्मियो । छोराको नाम रोशन राखियो ।

जीवनका घुम्तीहरू यतिधेरै अपरिभाषित र अनुमानभन्दा टाढाटाढा हुन्छन् कि कोही कसैले त्यसको अटुट आनन्दबाट जीवनभर मुस्कुराउन सकुन । ती सबै मोड नयाँ जीवनको सुरुवातभन्दा अरू केही रहेनछ । उनले पनि आफ्ना जीवनका हरेक मोडहरूमा नयाँ जीवन खोज्ने प्रयास गरे तर जन्मदै लेखिएको भाग्यको भुँमरीमा केवल पुतलीजस्तो हुनबाहेक ती सबै पाएका खुशीहरू पुर्‍याइ-पुर्‍याइ जीवनभर मुस्कुराउन सकेनन् ।

रामकृष्ण एक महिना गाउँ बसेर काठमाडौं फर्किए । त्यसपछि गर्दै गरेको ज्यामी काम छोडेर एक वर्षसम्म गाडीमा सह–चालकको काम गरे । गाडीमा पनि दुःख गरेअनुसार राम्रो कमाइ नभएपछि उनले सिलाइ काम सिक्न थाले ।

उनलाई सिलाइ काम सिक्न जानुका भाउजूले ठूलो सहयोग गर्नुभयो । जानुकाको सहयोग र उनको दृढ आत्माविश्वासका कारण रामकृष्णले तीन/चार महिनामै सिलाइ काम सिक्न सफल भए । जे काम गर्दा पनि दत्तचित्त भएर गर्ने उनको बानी थियो । सिलाइ गरेर उनी महिनाको दश/पन्ध्र हजार कमाउन सक्ने भए । कमाइ राम्रो थियो । उनको परिवार खुशीसँग चलेको थियो । रामकृष्णले एक वर्षसम्म सिलाइ काम गरे । त्यसपछि उनलाई विदेश जाने रहर लाग्यो । उनले श्रीमतीसँग सल्लाह गरे । श्रीमतीले पनि हुन्छ भनिन् । त्यसपछि उनी विदेश जाने तयारीमा जुटे । समय भयो, ऋण खोजे अनि आफ्नो मनजति सबै परिवारलाई सुम्पेर केवल शरीरलाई घिसार्दै रामकृष्ण साउदी उडे ।

साउदीमा उनी रोड क्लिनरको काम गर्थे । अत्यन्त गर्मी त्यसमा पनि सडकमा काम गर्नुपर्ने । बाध्यता थियो । उनी चर्को गर्मीको रापतापको प्रवाह नगरी अत्यन्त मिहिनेत गर्थे । साउदीमा सकिनसकी दिनहरू काट्दै थिए । गाउँबाट श्रीमतीले फोन गरेर आफू फेरि गर्भवती भएको सुनाइन् । उनलाई धेरै खुशी लाग्यो । एक दिन उनका बुबाले बुहारीलाई सुत्केरी व्यथा लागेर अस्पताल लगेको कुरा बताउनुभयो । उनलाई निक्कै तनाव भयो ।

अन्ततः २०६४ साल जेठ १८ गते अस्पतालमा लक्ष्मीले दोस्रो सन्तानको रूपमा छोरी जन्माइन् । रामकृष्णलाई धेरै खुशी लाग्यो तर श्रीमती प्रशव वेदनासँग लडिरहँदा उनको साथमा हुन नपाउँदा अत्यन्त दुःख पनि । तर, म साउदीको चर्को घाममा जे जति दुःख गर्दैछु यो सबै उनकै खुशीका लागि त हो नि भन्दै आफ्नो मन बुझाएर बसे ।

रामकृष्ण साउदीमा पाँच वर्ष बसे । अनि विसं २०६५ सालमा म नेपाल आए । दुई वर्ष उनी परिवारसँगै खुशी बाँडेर घरमै बसे । यसबीचमा अर्थात् २०६६ वैशाख २४ गते उनको कान्छो छोरो रोहितको पनि जन्म भयो । भगवानले लेखिदिएको भाग्यलाई हामी सुनौला सपनाहरूले सिंगार्न खोज्छौँ र पनि हामीसँग आफ्नै सपनासँग रमाउने अधिकार हुँदैन । अस्थायी रूपमा पाएको भौतिक र आध्यात्मिक सुखहरू आनन्दका पर्याय नभएर केवल दुःखका दूतहरूमात्र हुन् । रामकृष्णको परिवार दुईजनाबाट पाँचजना भयो । उनको परिवारमा टम्म खुशी भरिएको थियो । रामकृष्ण-लक्ष्मी असाध्यै खुशी थिए ।

त्यसपछि रामकृष्ण काठमाडौं आएर सिलाइ काम गर्न थाले । एक वर्ष सिलाइ काम गरेपछि उनी भारतको नयाँदिल्ली गए । त्यहाँ पनि उनले सिलाइ काम नै गरे । त्यहाँ उनले कटिङ पनि सिके । दिल्लीमा चार वर्ष बिताएर विसं २०६७ सालमा घर फर्के । दिनमा दुई गुण, रातमा तीन गुण बढिरहेका उनका छोराछोरी रोशन, रोशनी र रोहित तामाका मुनाजस्ता थिए । जेठो छोरो रोशन स्कुल भर्ना भइसकेको थियो ।

रामकृष्णको परिवार गाउँमा अरूभन्दा राम्रो र व्यवस्थित थियो । लक्ष्मीले उनले सोचेभन्दा बढी घर व्यवहार धानेको देख्दा रामकृष्ण आफैँले आफैँलाई भाग्यमानी ठान्थे । श्रीमतीले दिएको साथ र हौंसलाले आफैँले आफैँलाई सबैभन्दा सक्षम पुरुष ठान्थे र अरूभन्दा दुई कदम अघि बढ्न सबैभन्दा खुशी मनले सुनौला सपनाहरू पछ्याइरहन्थे ।

उनलाई फेरि विदेश जान मन लाग्यो । उनले श्रीमतीसँग सल्लाह गरे । श्रीमतीले पनि उनको प्रस्ताव स्वीकारिन् । त्यसपछि रामकृष्ण मलेसिया जाने तयारीमा जुटे । अन्ततः म २०७० पुस २ गते उनी मलेसिया पुगे । त्यहाँ पनि उनी सिलाइ काम नै गर्थे । कमाइ पनि राम्रो थियो । दुई वर्षपछि अर्थात् २०७२ साल वैशाख १२ गते नेपालमा महाभूकम्प गयो । (समाप्त)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?