पुस्तक : ‘स्वतन्त्रता आन्दोलनमा देवी न्यौपाने’

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

शीर्षकबाटै थाहा हुन्छ यो देवी न्यौपानेका विषयमा लेखिएको पुस्तक हो भन्ने । देवी न्यौपाने प्रजातन्त्रका लागि समर्पित एवम् निष्ठावान नेता हुनुहुन्छ । निरंकुशका विरुद्ध निडरका साथ संघर्ष गरेर जेल-नेल, यातना, सर्वस्वहरण तथा निर्वासन भोगेका व्यक्तिहरू वास्तवमा स्वतन्त्रता सेनानी मानिन्छ ।

यस्तै मानिसमा पर्नहुन्छ देवी न्यौपाने । यस पुस्तकलाई स्मृति ग्रन्थ नभनिएको भए तापनि वास्तवमा यो उहाँको स्मृति ग्रन्थ हो । उहाँ कतै जाँदा रूखले च्यापेर उहाँको निधन भएको थियो । यस्ता निष्ठावान नेताको सम्झना गरेर यो पुस्तक प्रकाशित गरिएको छ र यो कामको जिम्मेवारी नेपाली कांग्रेस-दोलखा-काठमाडौं सम्पर्क समितिले पूरा गरेको छ ।

यस पुस्तकको सम्पादक मण्डलमा गोपाल घिमिरे (यज्ञराज), सरोज शिवाकोटी र भुवन थापा रहनुभएको छ । पुस्तकको पहिलो संस्करण २०७८ साल चैतमा आएको छ र यो १००१प्रति छापिएको छ । पुस्तकको सर्वाधिकार प्रकाशकमा रहेको पाइन्छ । यसको डिजाइन दिपेश घिमिरेले गर्नुभएको छ र आवृत्ति छापाखानामा यो पुस्तक छापिएको छ ।

पुस्तक डिएमआई साइजमा छ, भूमिका खण्डमा समेत गरी जम्मा १८४ पृष्ठको छ । व्यक्तिगत रूपमा ३५० र संस्थागत १००० रुपैयाँ गरी पुस्तकको दुईथरी मूल्य रहेको पाइन्छ । पुस्तकको छपाइ स्तरीय छ तर अशुद्धिहरू भने पाइन्छन् । पुस्तकको आवरण फिक्का पहेंलो पृष्ठभूमिमा छ र बीचमा देवी न्यौपानेको फोटो राखिएको छ । माथि राता ठूला अक्षरमा ‘स्वतन्त्रता आन्दोलनमा देवी न्यौपाने’ भनेर पुस्तकको शीर्षक राखिएको छ र तल साना काला अक्षरमा सम्पादक त्रयको नाम दिइएको छ । पुस्तक पहेंलो तौलयुक्त कागजमा छापिएको छ ।

स्वर्गीय देवी न्यौपानेका बारेमा यो पुस्तक प्रकाशन गरेर यस समितिले गरेको कार्य ज्यादै सराहनीय छ । पार्टीका निष्ठावान अन्य नेताको पनि यसरी नै स्मृतिग्रन्थ तयार पारी उहाँहरूका कार्यको अभिलेखीकरण गरी अमर बनाउनु उत्तराधिकारीहरूको दायित्व हो, जुन दोलखालीहरूबाट भएको छ ।

पृष्ठ आवरणमा देवी न्यौपानेको फोटोसहित उहाँको चिनारी दिइएको जसअनुसार तामाकोशी गाउँपालिका वडा-३ जफे, दोलखा स्थायी ठेगाना भएका व्यक्ति हुनुहँदोरहेछ भन्ने थाहा हुन्छ । आइएसम्मको अध्ययन गरेका नेता न्यौपानेसम्बन्धी अन्य विधिन्न जानकारी त ‘यस’ पृष्ठमा दिइएको छ । यस पृष्ठमा जानकारी दिएअनुसार देवी न्यौपानेले २०२५ सालमा गौरीशङ्कर छात्र संघबाट राजनीतिको सुरुवात गर्नु भएको र त्यसको निरन्तरता २०७८ सालमा उहाँको निधन हुनुपूर्वसम्म निरन्तर रूपमा जारी भएको देखिन्छ ।

सशस्त्र संघर्षको दौरान भारत प्रवासबाट मुलुक प्रवेश गर्न लाग्दा वीरगञ्जमा गिरफ्तार भई सुरक्षा कानुनअन्तर्गत पटकपटक गरी तीन वर्ष ६ महिनाभन्दा बढी कारावासको सजाय पाउनु भएको थियो । उहाँ नेपाली कांग्रेस-दोलखा जिल्ला कार्य समितिको सभापति र २०४८ सालदेखि निरन्तर महाधिवेशन प्रतिनिधि र समहासमिति सदस्य रहँदै आउनु भएको थियो भन्ने जानकारी पृष्ठ आवरणबाट थाहा हुन्छ । यही पृष्ठको तल बारकोडसहित प्रकाशक समितिको नाम दिइएको छ ।

पुस्तकको भूमिका खण्डमा पार्टीको केन्द्रीय समिति सभापनि शेरबहादुर देउवा, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, दोलखा जिल्ला सभापति बर्मा लामाका शुभकामना तथा भनाइ राखिएको छ । त्यसपछि प्रकाशकीय रहेको छ, नेपाली काङ्ग्रेस–दोलखा–काठमाडौं सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरूको नाम दिएको छ । पाँचजना पदाधिकारी र ३३ सदस्यहरूको नाम दिइएको छ । पुस्तक दुई खण्डमा विभिाजित छ । खण्ड ‘क’ मा विभिन्न ३७ जना लेखकका देवी न्यौपानेसम्बन्धी लेख रचना छन् भने खण्ड ‘ख’ मा आठजना व्यक्तिसँग गरिएको कुराकानी छन् । अन्त्यमा न्यौपानेसँग सम्बन्धी तस्वीर राखिएका छन् ।

निष्ठाको राजनीति गर्ने एकजना आफ्नो जिललावासी नेताका बारेमा नेपाली काङ्ग्रेस-दोलखा-काठमाडौं सम्पर्क समितिले यसप्रकारको जुन कार्य गरेको छ त्यो ज्यादै स्तुत्य छ । स्वर्गीय देवी न्यौपानेका बारेमा यो पुस्तक प्रकाशन गरेर यस समितिले गरेको कार्य ज्यादै सराहनीय छ । पार्टीका निष्ठावान अन्य नेताहरूको पनि यसरी नै स्मृतिग्रन्थ तयार पारी उहाँहरूका कार्यको अभिलेखीकरण गरी अमर बनाउनु उत्तराधिकारीहरूको दायित्व हो, जुन दोलखालीहरूबाट भएको छ । अन्यत्र पनि यस्ता काम गर्नु आवश्यक छ । नेपाली काङ्ग्रेस-दोलखा-काठमाडौं सम्पर्क समितिलाई यसका लागि धेरै धेरै धन्यवाद तथा शालीन नेता स्वर्गीय देवी न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जलि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?