बेनी-गलेश्वर सडक दैनिक साढे ६ घण्टा बन्द हुने

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी–जोमसोम–कोरला सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिको बैठकले समय तालिका बनाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राती ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवत जावत बन्द गरिने जानकारी दिनुभयो ।

एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई सहज आवत जावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

सडक विस्तारको काम र यातायात सञ्चालन सँगै हुदाँ दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्य प्रभावित बनेपछि समय तालिका बनाएको प्रजिअ पौडेलले बताउनुभयो । निर्माण व्यवसायीले बेनी–जोमसोम– कोरला सडक आयोजना मार्फत प्रशासनमा समय तालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर १०२ मिटर दुरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग रु. १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता लगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले बताउनुभयो । ८५ जना मजदुरका साथै तीन वटा डोजर परिचालन गरिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाईमा कालोपत्र गरिने भएको छ ।

बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक वि.स. २०५३ मा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो ।

४ देखि ६ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवत जावत नहुने, फस्ने र जाम हुने गर्दछन् । यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?