पालिकामा सवारीसाधन खरिदका लागि छुट्टयाइएको बजेटबाट विद्यालयमा बस

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 10 mins

इलाम । इलामको चुलाचुली गाउँपालिकाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ । सामुदायीक विद्यालय सुधार गर्ने मुख्य लक्ष्य लिएको गाउँपालिकाले पहिलो पटक जनता माध्यमिक विद्यालयका विद्यार्थीको आवतजावतका लागि बस हस्तान्तरण गरेको हो । सामुदायीक विद्यालयको सुधारलाई प्राथमिकता दिएको चुलाचुली गाउँपालिकाले जनता माध्यमिक विद्यालयमा बस हस्तान्तरण गरेको छ । प्राविधिक धारमा समेत अध्ययन हुँदै आएको विद्यालयमा विद्यार्थी ओसार्न भाडाको गाडि प्रयोग हुँदै आएको थियो ।

प्रदेश र संघीय सरकारसँग सवारीसाधनको माग ५ वर्षदेखि गर्दै आएपनि गाउँपालिकाले विद्यालय बस हस्तान्तरण गरेपछि शिक्षक विद्यार्थी खुशी भएका छन् । भाडाको गाडि संचालन गर्दा मासिक ५० हजार खर्च गर्दै आएको विद्यालयमा आफ्नै सवारीसाधन आएपछि विद्यार्थीबाट न्युन सुल्क लिने योजना रहेको प्रधानाध्यापक लक्ष्मेस्वर वनबरिया यादवले बताउनुभयाे ।

विद्यालय बस एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु लावती र प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुवेदीले हस्तान्तरण गर्नुभयो । नमुना घोषणा भएको जनता माध्यमिक विद्यालयमा सिविल इञ्जिनियर अध्ययनरतसहित ७ सय विद्यार्थी रहेका छन् ।

सिभिल इञ्जिनियर विद्यार्थीको सुविधाका लागि बिहान र माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीका लागि दिनभर बस संचालन हुनेछ । सामुदायीक विद्यालयको खस्कदो शैक्षिक अवस्था सुधारका लागि बजेट वृद्धि गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयाे ।

स्मार्ट विद्यालय बनाउने योजनाका साथ अहिले पूर्वाधार निर्माणको काम समेत हुँदै आएको छ । विद्यालयमा अहिले संस्थागत विद्यालयहरुमा अध्यययन गर्ने विद्यार्थीको आकर्षण समेत बढेको छ ।

चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले भने पालिका लागि सवारी साधन खरिद गर्न छुट्याएको रकमले विद्यालयका लागि स्कूल बस खरिद गरिएको हो । विद्यालयका लागि स्कूल बस किनिदिएपछि अध्यक्ष केरुङको भने प्रशंसा सुरु भएको छ । अध्यक्ष राजेन्द्र केरुङले आफ्ना लागि गाडी किन्न छुट्याईएको बजेटबाट पहिलो पटक एक सामुदायिक विद्यालयलाई स्कूल बस किनिदिनु भएकाे हाे । विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन भन्दै अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको वडा नम्बर २ स्थित बाह्रगोठेमा रहेको जनता माध्यमिक विद्यालयलाई स्कूल बस किनिदिनुभएकाे हाे ।

सो स्कूलबस सोमबार एक कार्यक्रम गरी विद्यालयलाई हस्तान्तरण गरिएकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपीन योङ्या र प्रधानाध्यापक लक्ष्मेश्वर बनबरिया यादवलाई बस हस्तान्तरण गरिएकाे हाे । उपाध्यक्ष दिलकुमारी लावती (योङहाङ) र प्रमुख प्रशाकसीय अधिकृत डिल्लीराम सुवेदीसकेत उपस्थितीमा अध्यक्ष केरुङले विद्यालयलाई स्कूल बस हस्तान्तरण गर्नुभएकाे हाे ।

गाउँपालिकाले पहिलो गाउँसभाबाट सवरी साधन खरिद गर्न एक करोड रुपैयाँ विनियोजन गरेकाे थियाे । सोही रकमबाट ४१ लाख ६९ हजार रुपैयाँमा विद्यालयका लागि स्कूल बस खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयाे । पालिकाले खरिद गरेर दिएको र संचालन खर्च सबै विद्यालयले व्यहोर्ने शर्त रहेको सुवेदीले बताउनुभयाे ।

विद्यालयलाई स्कूल बस हस्तान्तरण गर्दै अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने उद्देश्यका साथ प्रोत्साहन गरिएको बताउनुभयाे । ’सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका लागि बस किनिदिएका हौं’ अध्यक्ष केरुङले भन्नुभयाे, ’प्राविधिक विषय (सिभिल इन्जिनियर) अध्ययनरत विद्यार्थी र अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने हाम्रो विश्वास छ ।’

सो विद्यालयमा सिभिल इन्जिनियरका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले विद्यालयलाई स्कूलबस दिएपनि सम्पूर्ण संचालनको जिम्मा विद्यालयलाई नै रहेको छ । ’बसले विहान पहिलो लटमा प्राविधिक शिक्षाका विद्यार्थी ल्याउने, दोस्रो लटमा माध्यमिक तहका विद्यार्थी ल्याउने, दिउँसो प्राविधि लटमा प्राविधिक शिक्षाका विद्यार्थी पुर्याउने र साँझ माध्यमिक शिक्षाका विद्यार्थी पुर्याउनेछ’ प्रधानाध्यापक यादवले भन्नुभयाे, ’गाउँपालिकाबाट बस पाएपनि संचालनको जिम्मा विद्यालयलाई नै भएकाले थोरै शुल्क तोकेर संचालन गर्ने तयारी भईरहेको छ ।’

बसबाट विद्यालयका सेवा क्षेत्रसहित छिमेकी जिल्ला झापाको दमक, केर्खलगायतका क्षेत्रबाट आउने विद्यार्थी लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ प्रदेश १ का सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाका विद्यार्थी छन् । उनीहरु झापाको दमकमा बसेर विहान कक्षा लिन चुलाचुली आउने गरेका छन् । विद्यायले यसअघि स्कूलबस मासिक ५० हजार भाडामा लिएर संचालन गर्दै आएका थिए ।

यस्तै गाउँपालिकाले सर्वसाधारण नागरिकलाई एम्बुलेन्स उपलब्ध गराउने तयारी गरेको छ ।

एम्बुलेन्स समेत खरिद गर्ने प्रक्रियामा रहेकाले तुरुन्त नागरिकलाई हस्तान्तरण गरिने अध्यक्ष केरुङले बताउनुभयाे । आफ्ना लागि नयाँ गाडी किन्नुभन्दा विद्यालयलाई बस र सर्वसाधारणलाई एम्बुलेन्स दिन नै उपयुक्त ठानेको अध्यक्ष केरुङको भनाई छ ।

अध्यक्ष केरुङले अध्यक्षमा निर्वाचित हुनसाथ टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गर्नुभएकाे थियाे । बैंकसँग समन्वय गरी अध्यक्ष केरुङले सामाजिक सुरुक्षा भत्ता सेवाग्राहीको घरघरमा पुगेर वितरण गर्दै आउनुभएकाे छ ।

केरुङ नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार प्रदिपचन्द्र राईसँग झिनो मतान्तरले पराजित हुनुभएका केरुङ २०७९ को निर्वाचनमा भने एमालेकै उम्मेद्वार ओमनारायण खनालभन्दा झण्डै तीन हजार मतान्तरका साथ निर्वाचित हुनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?