दोसल्लेमा बोटबाटै रु २ करोडको सुन्तला बिक्री

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष बोटबाट नै रु २ करोडको सुन्तला विक्री भएको छ ।

यस वर्ष सुन्तला राम्रो फलेको र रोग किराको प्रकोप पनि नदेखिएकोले विगतका वर्षहरुमा भन्दा सुन्तला विक्री गरेर दोब्बर बढी आम्दानी भएको कृषकहरुले बताएका छन् । दोसल्लेकी अगुवा कृषक मायादेवी पुनका अनुसार गत वर्ष सुन्तला विक्री गरेर गाउँमा रु ७५ लाख भित्रिएको थियो ।

यस वर्ष पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक पुनले बताउनु भयो ।
व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ मा किनेका हुन् ।

दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको जानकारी दिनुभयो । यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिव रु दुई करोडको हाराहारीमा सुन्तला विक्री भएको उहाँले बताउनु भयो ।

पाइजाले भन्नुभयोे ‘यस वर्ष नयाँ विरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमले उत्पादन बढेकोले गतवर्षको भन्दा बढी आम्दानी भएको हो ।’ एक किसानले रु ५० हजारदेखि रु दुई लाख ३० हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तलाबजार पठाउन समूहले समन्वय गरेको थियो । कूल ५७ घरधुरीको यहाँ १५ हजार मध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ ।

परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान मिलन गर्बुजाले बताउनु भयो । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको उहाँले बताउनु भयो । सडक यातायातको सुविधा भएपछि बाँझो पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइको छ ।

दश वर्षअघि मिलन गर्बुजाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

बेमौसममा सुन्तला बिक्री गर्न दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवन बनाइएको थियो । वैदेशिक रोजगार र खेती किसानीबाट धानिएको यहाँका बासिन्दाको जीवनस्तर पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट सुध्रदै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताउनु भयो ।

म्याग्दीका ६ वटा स्थानीय तहका १४ वटा गाउँमा व्यवसायिक सुन्तला खेती गरिएको छ । म्याग्दीमा यस वर्ष सुन्तला विक्री गरेर रु २० करोड भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?