लोटस आई र नव बालवाटिका विजयी

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय यू-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपिएलअन्तर्गत आठौँ दिन सम्पन्न दुई खेलमा लोटस आई स्कुल अत्तरिया र नव बालवाटिका विद्यामन्दिर बौनिया विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले भुवनेश्वरी विद्यामन्दिर महेन्द्रनगरलाई ६ विकेटले पराजित गर्‍यो । भुवनेश्वरीले दिएको ६४ रनको लक्ष्य लोटस आईले १०.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

लोटस आईका लागि योगेन्द्र भाटले सर्वाधिक १८, आयुब चन्दले १२ तथा प्रेम शाहले १० रन बनाउनुभयो । भुवनेश्वरीका बलर कैलाश ऐरले २ तथा विपिन धामीले १ विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको भुवनेश्वरीले १२.५ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमायो । भुवनेश्वरीका लागि खगेन्द्र ठगुन्नाले २७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लोटस आईका बलर सन्तोष एक्लैले ५ विकेट लिनुभयो । प्लेयर अफ द म्याचसमेत घोषित उहाँले ३.५ ओभरमा मात्र ८ रन खर्चिनुभयो ।
दिनको दोस्रो खेलमा नव बालवाटिका स्कुलले लिटल फ्लावर स्कुललाई ९ विकेटले पराजित गर्‍यो । लिटल फ्लावरले दिएको ९० रनको लक्ष्य नव बालवाटिकाले १४.४ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नव बालवाटिकाको ब्याटिङमा नरबहादुर सार्कीले अविजित ४० तथा विराट सिंह भण्डारीले अविजित ३२ रन बनाउनुभयो । दोस्रो विकेटका लागि नर र विराटले ८४ रनको साझेदारी गर्नुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो । उसका लागि नरेन भट्टले सर्वाधिक ३० रन तथा विपिन रावलले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नव बालवाटिकाका बलर वीरबहादुर घर्ती मगरले सर्वाधिक ४ विकेट लिनुभयो । जुन क्रममा उहाँले ४ ओभरमा १७ रन खर्चिनुभयो । नरबहादुर सार्कीले २ तथा प्रकाश जैसी र गजेन्द्र बोहराले १-१ विकेट लिनुभयो ।

लिटल फ्लावर स्पोटर््स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?