दशौं लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

दुई करोड छब्बीस लाख प्रभावित

Read Time = 11 mins

कहरामनमारस (टर्कीए) । टर्की र सिरियाका दशौं लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको प्रवाह नगरी दशौं हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आइतबार बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो ।

भूकम्पको करिब एक सातापछि पीडितहरूलाई जीवित उद्धार गर्न सफल भएकामा उनीहरूले त्यसलाई चमत्कार भन्दै हर्ष प्रकट गरेका छन् ।
दक्षिणी टर्कीमा केही परिवार हराइरहेका आफ्ना परिवारको खोजीमा उद्धारकर्मीसँगै जुटेका छन् । शोकाकुल अर्को परिवार चिहानमा परिणत खेतमा बिलौना गरिरहेको छ । उक्त खेतमा हजारौं शव व्यवस्थापन गरिएको छ ।

सुरक्षाको कारण देखाउँदै केही सहायता निकायले राहत सामग्री वितरण रोकेपछि दर्जनौंलाई लुटपाट मच्चाएको अभियोगमा पक्राउ गरिएको सरकारी समाचार समितिले जनाएको छ । जर्मनी र अष्ट्रेलियाले शनिबार केही स्थानमा राहत सामग्री वितरण स्थगन गरेका थिए । केही ठाउँमा झडप भएको थियो ।

कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको पहिलो भूकम्प र त्यसको केही क्षणपछि त्यति नै शक्तिशाली अर्को कम्पबाट तहसनहस भएको टर्की र सिरियाका दुई करोड छब्बीस लाख मानिस प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघले टर्की र सिरियाका आठ लाख ७० हजार भूकम्पपीडितलाई तत्काल तातो खाना आवश्यक परेको बताएको छ । उक्त विश्व संस्थाले सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका अनुमान गरेको छ । भूकम्पले दर्जनौं अस्पताल ध्वस्त भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन निकायले देशका विभिन्न सामाजिक संस्थाका ३२ हजारभन्दा बढी स्वयंसेवकका साथै आठ हजार दुई सय ९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका जनाएको छ । टर्कीको गाजिन्टेपका चमेनागृहमा हजारौं स्वयंसेवक भूकम्पपीडितलाई खुवाउन हरसंभव सहयोग गरिरहेका छन् । आफ्नो गाडीलाई नै शयन कक्षमा परिणत गरेर केही स्वयंसेवक सेवामा तल्लीन छन् ।

संयुक्त राष्ट्रसंघले कुर्दिश लडाकु र सिरियाली विद्रोही सक्रिय रहेका क्षेत्रमा मानवीय सहायता परिचालनमा अवरोध नगर्न आहृवान गरेको छ । साथै उक्त संस्थाले मानवीय सहयोग परिचालनमा सघाउन आग्रह गरेको छ । राहत सामग्री ढुवानीका लागि पैँतीस वर्षपछि आर्मेनिया र टर्कीबीचको बाटो पनि खोलिएको छ । शनिबारदेखि उक्त बाटो सञ्चालनमा आएको हो ।

एलेप्पोमा चिकित्सा सहयोग
सहयोग वर्षौंको आन्तरिक द्वन्द्वका कारण कमजोर रहेको सिरियाको स्वास्थ्य सेवा प्रणाली नाजुक छ । त्यहाँ स्वास्थ्यलगायत राहत सामग्री परिचालनमा पनि विलम्ब भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख आपत्कालीन स्वास्थ्य सामग्री र उपकरण लिएर भूकम्प प्रभावित एलेप्पो पुगेका छन् । उनले भूकम्पबाट मातापिता तथा अभिभावक गुमाएका बालबालिकालाई भेटेका छन् ।

सिरिया सरकारले पनि भूकम्प प्रभावित विद्रोही नियन्त्रित क्षेत्रमा मानवीय सहायता सामग्री ढुवानीको अनुमति दिएको छ । राजधानी दमास्कसमा विभिन्न देशबाट राहत सामग्री लिएर ५७ वटा विमान अवतरण गरेका त्यहाँका यातायातमन्त्रीले बताएका छन् ।

टर्कीले पनि सिरियासँगका दुईवटा नयाँ सीमा नाका खोल्ने बताएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्लाई टर्की र सिरियाबीचका सीमा नाका खोल्ने अनुमतिका निम्ति आग्रह गर्नुभएको थियो ।

जनमानसमा आक्रोश
भूकम्पमा घर, परिवारसँगै सर्वस्व गुमाएका पीडित गुणस्तरहीन भवन निर्माता तथा सरकारीस्तरका उद्धार तथा राहतमा विलम्ब भएकामा जनसाधारण आक्रोशित भएका छन् । अधिकारीहरूका अनुसार १२ हजार एक सय ४१ भवन भत्केका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौं निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना सहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकले बताएका छन् । सिरियाका स्वास्थ्यमन्त्री हसन अल गब्बासले संयुक्त राष्ट्र संघ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थालाई सहयोगका निम्ति आहृवान गर्नुभएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सिरियन रेड क्रिसेन्टलाई आपत्कालीन मानवीय सहायतास्वरुप दुई लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ । साथै समितिले भूकम्प प्रभावित क्षेत्रमा थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिरियाका लागि युरोपेली संघका राजदूतले भूकम्पपीडितलाई संघले पर्याप्त सहयोग नगरेको आरोपको खण्डन गरेका छन् । भूकम्प प्रभावित दुवै देशका लागि पर्याप्त सहयोग उपलब्ध गराउन संघ असफल भएको आरोप लगाउनु उचित नभएको उनले बताएका छन् । एक दशकभन्दा लामो समयदेखि संघले सिरियालाई निरन्तर सहयोग गर्दै आएको तथा भूकम्पले सृजना गरेको संकटको यो घडीमा अझ बढी सहायता सिरियाका निम्ति परिचालन गरिएको दाबी उनले गरेका छन् ।

विश्व ब्यांकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आहृवान गर्नुभएको छ । साथै उहाँले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ ।

उद्धारकर्मीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सिरिया र टर्कीमा २९ हजार एक सय १७ जनाको मृत्यु भएको छ । टर्कीमा २४ हजार छ सय १७ जना तथा सिरियामा चार हजार पाँच सयजनाले ज्यान गुमाएका छन् । संयुक्त राष्ट्रसंघले महाभूकम्पबाट ५० हजारले ज्यान गुमाएका अनुमान गरेको छ । गत सोमबारदेखि आजसम्म टर्कीमा दुई हजार तीन सय ५६ परकम्प महसुस गरिएको छ ।

अठ्ठाइस हजारभन्दा बढीको मृत्यु
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार १९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

पछिल्लो समयसम्म टर्कीमा २४ हजार ६१७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताउनुभएको छ । सिरियामा तीन हजार ५७५ जनाको ज्यान गएको छ । सरकार नियन्त्रित क्षेत्रमा एक हजार चार सय आठ जना तथा विद्रोहीको पकड भएका भूभागमा दुई हजार १६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयंसेवी संस्थाका प्रतिनिधिले बताएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यससम्बन्धी वास्तविक विवरण दिएको छैन ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले सिरियाली भूकम्पपीडितलाई सहायता सामग्री बेरुतको लेबनानबाट परिचालन गरिएको बताउनुभएको छ । रेडक्रस र रेडक्रिसेन्टलगायत अन्तर्राष्ट्रिय परोपकारी संस्थामार्फत राहत सामग्री वितरण गरिने जानकारी उहाँले दिनुभएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?